१ आश्विन २०८१ मंगलबार
image/svg+xml
अर्थ

‘मनसुन’ मा पर्यटक कसरि भित्र्याउने?

‘टुरिजम फर अल सिजन’ नारामा मात्रै

पर्यटकीय सहर पोखरा। तस्बिरः सन्तोष/नागरिक

सन् २०२४ को हालसम्म (जनवरी–जुलाई) को अवधिमा नेपालमा झन्डै साढे ६ लाख विदेशी पर्यटक भित्रिए। जनवरी देखि जुलाईसम्मको अवधिमा नेपाल भित्रिने विदेशी पर्यटकको संख्या ६ लाख ४७ हजार ६ सय १५ पुगेको पर्यटन बोर्डको तथ्यांक छ। सन् २०२४ को सातमहिना मध्ये सबैभन्दा कम पाहुना यही जुलाईमा आएका छन्। यो जुलाईमा नेपालमा जम्मा ६४ हजार ५ सय ९९ जना विदेशी पाहुना भित्रिएका छन्।

नेपालमा सन् २०२४ को जनवरीमा ७९ हजार १ सय विदेशी पाहुना भित्रिएका थिए । त्यो संख्या फेब्रुअरीमा ९७ हजार ४ सय २६ थियो। मार्चको आगमन संख्या १ लाख २८ हजार १ सय ६७ थियो। अप्रिलको आगमन भने १ लाख ११ हजार ३ सय ७६ रहेकोमा मे महिनामा ९० हजार २ सय ११ जना विदेशी पाहुना नेपाल भित्रिएका थिए। जुन महिनामा नेपाल भित्रिने विदेशी पाहुनाको संख्या ७६ हजार ७ सय ३६ थियो।

पर्यटन व्यावसायीका अनुसार पर्यटकीय हिसाबले यो बेला ‘अफसिजन’ हो। मनसुनको यो बेला विदेशी पाहुना कम हुनुलाई व्यावसायीले स्वभाविक पनि मान्छन्। तर, उनै व्यावसायीले ‘पोखरा सबै मौसमका लागि’ भन्दै पाहुनालाई घुम्न पनि बोलाउँछन्। व्यावसायीका अनुसार लामो समयसम्म वर्षा हुने हुँदा मनसुनको यो बेला पदयात्रा हुँदैन। 

त्यसबाहेक अरु साहसिक पर्यटकीय गतिविधि पनि कम हुने हुँदा पर्यटकीय क्षेत्र केही सुस्ताउँछ । केहीवर्ष अघिसम्म त व्यावसायीले योे बेला पर्यटक अभावमा व्यावसाय बन्द नै पनि गर्दथे। पूर्वाधारको मर्मतसम्भारमा व्यावसायी खटिन्थे, कार्यरत मजदुरलाई बिदा दिन्थे।  

 ‘नेपालमा मात्र मनसुनमा कुनै पनि गतिविधि नभएको हो। नत्र भारतको गोवा र बंगलादेशमा यो बेला पर्याप्त गतिविधि हुन्छन। जसले गर्दा ती सहरमा पर्यटकको भीडभाड हुन्छ,’ उनले भने, ‘पानीमा हुने गतिविधि यो बेला गर्न सकिन्छ। सुरक्षित ठाउँ छनोट गरेर पानीको भेल बढेको बेला हुने गतिविधि गर्न पनि सकिन्छ। र्याफ्टिङ लगायतका गतिविधि गर्न सकिन्छ।’

तर, पछिल्लो दशक आन्तरिक पाहुना आउन थालेपछि व्यावसायीले अफसिजनमा पनि पर्यटन क्षेत्र चलायमान हुँदै गएको बताउँदै आएका थिए। मनसुनमा पनि पाहुना पाएका व्यावसायीले भन्ने गरेका थिए, ‘यो बेला अफसिजन होईन, लो सिजन हो। आन्तरिकको चहलपहलसँगै केही विदेशी पाहुना आउँदा यो बेला पनि पर्यटन क्षेत्र चलायमान बनेको उनीहरुले बताउँदै आएका थिए। अहिले पनि व्यावसायीले ‘पोखरा सबै मौसमका लागि’ भन्दै पनि आएका छन्। 

तर, नारा अनुसार मनसुनको यो अवधिमा पर्यटक तान्ने कुनै गतिविधि भने व्यावसायीले गर्दैनन्। पोखरा सबै मौसमका लागि भन्ने व्यावसायीले मनसुनको यो समयमा आन्तरिक वा बाह्य पर्यटकलाई पोखरामा आकर्षित गर्ने खालका कार्यक्रम गर्दैनन। मनसुनमा कुनैपनि गतिविधि नहुँदा यतिबेला पोखराको पर्यटन क्षेत्र सुनसान बनेको उनीहरु नै बताउँछन्।  

होटल संघका केन्द्रीय सदस्य भरतराज पराजुली भन्छन, ‘कोरोना भाइरस संक्रमणपछि यो बेलाको पाहुना आगमनमा असर बढी परेको हो। त्यसबाहेक अन्तर्राष्ट्रियस्तरमा भएका द्वन्द्वले पनि केही असर परेको छ। कोभिड पछि आर्थिक अवस्था कमजोर भएकोले पाहुना आउन सकेनन । आन्तरिक पाहुनासँग पनि खर्च गर्न सक्ने क्षमता कम भएकोले घुमघाममा असर पर्यो । आर्थिक अवस्थाले सधैका लागि पर्यटनमा असर पारेको छ। मनसुनमा पनि त्यसकै असर छ।’

पराजुलीको विश्लेषणमा आर्थिक संकटले गर्दा आन्तरिक पाहुना घटेका हुन। ‘यो बेला निकै नै कम पाहुना छन। अहिले त छिमेकी मुलुकका पाहुना पनि आउन सकेनन। भारतीय पाहुना मनसुनअघि आएका थिए। तर, मनसुन सुरु भएपछि सबैखाले पाहुना रोकिए,’ उनले भने, ‘मनसुनमै भएका केही घटनाक्रमले पनि पाहुनालाई घुमघाममा ढुक्क बनाउन नसकेको हो। त्यसको असर अहिले लेकसाइड सुनसान बन्न पुगेको छ।’  

पर्यटकीय गन्तव्यसम्मको पहुँचमा सुरक्षाको सुनिश्चितता गर्न नसक्दा मनसुनमा पर्यटक भित्र्याउन नसकेको उनले बताए। ‘न हवाई, न स्थलमार्ग, कतैपनि यात्रालाई सुनिश्चि गर्न सकिने अवस्था रहेन। किनकी राजमार्गमा कहाँ कतिखेर पहिरो झर्छ भनेर डराउनुपर्ने अवस्था छ,’ उनले भने, ‘हवाई यात्रामा बेलाबेलाका घटनाक्रमले त्रसित बनाएको छ। पाहुनालाई ढुक्कको यात्रा गराउन नसक्दा पनि मनसुनमा घुम्न आउ भनेर भन्न सकिएको अवस्था छैन।’

त्यसबाहेक मनसुनको समयमा कुनैपनि गतिविधि गर्न नसकेको उनले बताए। यो बेला के कस्ता गतिविधि गर्ने भनेर पहिचान पनि नभएको पराजुलीको भनाई छ। ‘मनसुनका बेला पर्यटक आकर्षित गर्ने खालका गतिविधि के हुन भनेर पहिचान पनि भएनन, ती कार्यक्रम पनि गर्न सकिएन,’ उनले भने, ‘यो बेलाको सस्तो प्याकेज दिएर पाहुना तान्ने प्रयास पनि कम भएकै हो। सस्तोमा सेवा दिँदादिँदै पनि बजारीकरण गर्न नसकिएकै हो।’

पोखरा पर्यटन परिषद् (पिटिसी)का निवर्तमान अध्यक्ष गोपि भट्टराई पदयात्रा नहुने भएकोले विदेशी पाहुना कम भएपनि कुनैपनि आकर्षक कार्यक्रम गर्न नसक्दा आन्तरिक पाहुना पनि भित्र्याउन नसकेको बताउँछन। ‘खासमा पर्यटन क्षेत्रले यो बेलालाई अफसिजनको सट्टा ‘लो सिजन’ भनेर भनेका थियौ। तर, अहिले त पुरै अफसिजनको झल्को आएको छ,’ उनले भने, ‘पाहुना नहुँदा पर्यटन क्षेत्र पुरै सुनसान छ।’  

यो बेला आउजाउमा केही झन्झट हुने भएकोले पनि पर्यटकीय गतिविधि कमजोर हुने उनले बताए। ‘पहुँचमा समस्या त छ, तर, व्यावसायीले पनि केही गतिविधि गरेनौ। मनसुनमा पर्यटन क्षेत्रलाई सक्रिय बनाउनका लागि कुनैपनि गतिविधि गर्न सकिएन,’ उनले भने, ‘सरकारले पनि यो बेलाको पर्यटन क्षेत्र चलायमान बनाउने गरि कुनै कार्यक्रम ल्याउन सकेन। त्यसले गर्दा पर्यटन कमजोर बनेको हो।’  

उनका अनुसार पोखरामा यो मेलामा पनि खेलकुदका गतिविधि, पानीमा हुने मनोरञ्जनात्मक गतिविधि गर्न सक्ने हो भने पाहुना आउँछन। पोखराभित्रै तालतलैया भएको, आसपासमा सानातिना नदीनाला भएको र नजिकका डाँडाकाँडामा हिडडुल गराउने हो भने पर्यटकीय गतिविधि चलायमान बनाउन सकिने उनले बताए।

‘मनसुन पार्टी भनेर विदेशमा गतिविधि गरिन्छ। पानीमा हुने गतिविधि पनि गरिन्छन। तर, नेपालमा ती गतिविधि हुन नसक्दा पहुँचलाई दोष देखाएर पर्यटन क्षेत्र पन्छिएको छ,’ उनले भने।  

पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका अनुसार मनसुनको बेलामा माटोमा हुनेखालका रमाइला खेल गतिविधि गर्न सकिन्छ। त्यस्तै विभिन्न कर्पाेरेट हाउसका उच्च तहका पदाधिकारीलाई ल्याएर कार्यक्रम गर्न सकिन्छ । ‘नेपालमा मात्र मनसुनमा कुनै पनि गतिविधि नभएको हो। नत्र भारतको गोवा र बंगलादेशमा यो बेला पर्याप्त गतिविधि हुन्छन। जसले गर्दा ती सहरमा पर्यटकको भीडभाड हुन्छ,’ उनले भने, ‘पानीमा हुने गतिविधि यो बेला गर्न सकिन्छ। सुरक्षित ठाउँ छनोट गरेर पानीको भेल बढेको बेला हुने गतिविधि गर्न पनि सकिन्छ। र्याफ्टिङ लगायतका गतिविधि गर्न सकिन्छ।’  

त्यसबाहेक यो बेला पानी नै नपर्ने हिमालपारिका जिल्लामा पनि पर्यटक लैजानेगरि गतिविधि गर्न सकिन्छ । त्यस्तै भीडभाड नहुने र सस्तोमा बसोबास र घुमफिर गर्न सकिन्छ भनेर पनि पर्यटकलाई तान्न सक्ने हो भने पर्यटन क्षेत्रले लाभ पाउने उनले बताए। ‘विभिन्न मनोरञ्जनात्मक गतिविधि सहित नेपालको हरियाली हेर्न आउ भनेर पनि पर्यटकलाई बोलाउन सकिन्छ। किनकी यो बेला नेपालको हरियाली सबैका लागि आकर्षक हुनसक्छ। हरियाली देख्न नपाउने मुलुकका पाहुनालाई यो बेला नेपालमा तान्न सकिन्छ,’ उनले भने, ‘नदीमा बाढी र सबैतिरको हरियाली कतिपय देशका लागि दुर्लभ हुन सक्छ। ती मुलुकका पाहुनालाई तान्न सकिन्छ। तर, त्यसका लागि गतिविधि गर्नुपर्छ।’  

प्रकाशित: १९ श्रावण २०८१ १७:२५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App