काठमाडौं –नेपाल उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनी मैनालीले नेपाली चिनी मिलले भारतमा नबिकेको गुणस्तरहिन उखु सस्तो मूल्यमा किनेको आरोप लगाएका छन् । केही नेपाली मिलले विचौलिया प्रयोग गरेर भारतबाट कम गुणस्तरको उखु किनिरहेको मैनालीले आरोप लगाए । मिलले साढे ९ अर्ब रुपैयाँ स्थानीय किसानलाई भुक्तानी गर्न बाँकी छ।
‘अधिकांस चिनी मिलले भारतमा नबिकेके उखु किनिरहेका छन्,’ बुधबार प्राक्टिकल एक्सनले गरेको कार्यक्रममा बोल्दै अध्यक्ष मैनालीले भने, ‘किसानको भुक्तानी नतिरेका चिनी मिलले भारतबाट नगद तिरेर उखु किनिरहेका छन् ।’ उनका अनुसार भारतका चिनी मिलले गुणस्तरीय नभएको भन्दै खरिद नगरेको उखु नेपाली मिलले खरिद गरेका हुन्।
राम्रो रिकोभरी नदिने कम गुणस्तरको उखुलाई भारतीय चिनी मिलहरूले खरिद गर्दैनन् । भारतीय चिनी मिलले अस्विकार गरेका त्यस्ता गुणस्तरहीन उखु विचौलियाले नेपालका व्यवसायीलाई प्रति क्विन्टिल ३ सय रुपैयाँमा बेच्ने गरेको उनको दावी छ।
उनका अनुसार केही दिन अघि रिलाइन्स चिनी मिलले भारतबाट प्रति क्विन्टल ३ सयका दरले उखु किनेको भेटिएको थियो । कार्यक्रममा सहभागि एक किसानका अनुसार स्थानीय किसानले व्यापक विरोध गरेपछि रिलाइन्सले खरिद गर्न बन्द गरेको थियो।
मैनालीका अनुसार भारतमा प्रयोग नभएको कमसल उखुलाई सीमा क्षेत्रमा नेपाली चिनी मिलले काँटा राखेर विचौलिया मार्फत किन्दै आएका छन् । भारतबाट सीमा क्षेत्रसम्म आएको त्यस्तो उखुलाई चिनी मिलले प्रयोग गर्ने विचौलियामार्फत नेपाल भित्रयाउने गरेका छन् ।श्रीराम सुगर मिल, इन्दुशंकर चिनी मिल, रिलाइन्स चिनी मिल, अन्नपूर्ण चिनी मिल, एभरेष्ट चिनी मिललगायतले भारतबाट सस्तो उखु ल्याएर प्रयोग गरेको भेटिएको किसानहरूले दावी गरे।
राष्ट्रिय उखु अनुसन्धान कार्यक्रम बाराका संयोजक राजकृष्ण राजकले पनि विचौलिया मार्फत भारतबाट कम गुणस्तरको उखु आइरहेको स्विकार गरे । उनले कम गुणस्तरको उखु प्रयोग हुँदा चिनी उत्पादनमा असर गर्ने बताए।भारतबाट कमसल उखु ल्याएर क्रसिङ गर्दा प्रति क्विन्ट चिनी उत्पादन कम हुने गर्छ । चिनी मिलहरूले भने भारतबाट ल्याएको उखुबाट कम उत्पादनलाई नेपाली किसानलाई दोष दिदै मूल्यमा ‘बार्गेनिङ’ गर्ने गरेको आरोप किसानको छ।
भारतबाट ल्याउन मात्र होइन स्थानीय किसानबाट उखु किन्नमा पनि विचौलिया प्रयोग हुदै आएको छ । चिनी मिलहरूले विचौलिया प्रयोग गरेर सस्तो मूल्यमा उखु किन्न बाध्य पारिरहेको किसानको भनाइ छ ।
उखुको खरिद बिक्री तथा मूल्य निर्धारणको विषयमा विचौलियाको प्रभाव धेरै रहेको नेपाल उखु तथा चिनी विकास समितिका कार्यकारी निर्देशक कमलदेव कुसुवाले बताए । ‘किसानले एक ढेड वर्ष लगाएर उखु उत्पादन गर्छन्,’ कार्यक्रममा बोल्दै कुसुवाले भने, ‘उखुको भुक्तानी विचौलियाले प्रयोग गर्ने अवस्थासम्म सृजना भएको छ।’
प्राक्टिकल एक्सनले सन् २०१३ देखि जलवायु मैत्री खेती उत्पादन कार्यक्रम अन्र्तगत इस्टर्न सुगर मिलमा कार्यक्रम गर्दै आएको छ । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी)को सहयोगमा इस्टर्न सुगरमिल क्षेत्रका ५ हजारभन्दा धेरै किसानलाई उखु उत्पादन तालिम दिएको पिपिसिआर कार्यक्रम म्यानेजर मिलनकुमार जोशीले बताए।
प्राक्टिकल एक्सनको पाँच वर्षे कार्यक्रमबाट उखु उत्पादन प्रविधि सिकाइएको र यसले गर्दा कतिपय किसानले पहिलेभन्दा दोब्बर उत्पादन गरेको जोशीले बताए । त्यसैगरी, श्रीराम सुगरमिल क्षेत्रका १ हजार ५ सय किसानलाई पनि तालिम दिएको उनले बताए । कार्यक्रममा सहभागीहरूले उखु परीक्षण ल्याब, उखु तथा चिनी विकास बोर्ड गठन गर्न सरकार समक्ष आग्रह गरे।
मुलुकमा ८० हजार ९ सय ३१ हेक्टरमा उखु खेति भइरहेको छ । जसमा वार्षिक ३१ लाख टन उखु उत्पादन हुन्छ भने उखु उत्पादनमा झन्डै ३ खर्ब रुपैया बराबरको लगानी रहेको छ ।मुलुकमा हाल १२ वटा चिनी उत्पादन मिलहरू सञ्चालनमा रहेका छन् भने आउने क्रममा पनि जारी छ । यस क्षेत्रमा झन्डै १ लाख किसान संलग्न रहेका छन्।
मुलुकका एक प्रमुख नगदेवालीको रुपमा उखु रहेको भए पनि हरेक वर्ष भुक्तानीमा समस्या उत्पादन हुदै आएको छ । मूल्य तोक्ने विषयमा किसान र चिनी उद्योगीबीच समस्या उत्पादन हुदै आएको छ भने उद्योगीले किसानको समयमै भुक्तानीमा अटेर गर्दै आएका छन् । यस वर्षसम्म मुलुकभर संचालन रहेका १२ वटा उद्योगले किसानलाई साढे ९ अर्ब रुपैया भुक्तानी गर्न बाँकी रहेको छ।
किसानका अनुसार उद्योगीले केही वर्षदेखिको भुक्तानी समेत रोक्ने आएका छन् । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री मातृया यादवले किसानको भुक्तानी सुरु नगरे कारवाही गर्ने चेतावनी दिएपछि चैत २२ गतेदेखि भुक्तानी गर्ने प्रतिवद्धता जाएर गरेका छन् ।
प्रकाशित: १५ चैत्र २०७४ ०२:०८ बिहीबार