१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

हवाई टिकटमा भ्याटः चिनियाँ उडान रोकिए पर्यटन क्षेत्र प्रभावित हुने

हवाई भाडामा एकाधिकार बढ्छः प्राधिकरण

पोखरा अन्तर्राट्रिय विमानस्थलमा अवतरण गरेको चीनको छेन्दुबाट आएको सिचुआन एयरलाइन्सको जहाज। फाइल तस्बिरः नागरिक

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत हवाइ टिकटमा भ्याट लगायो। तर, असोजपछि मात्र हवाई टिकटमा भ्याटको प्रावधान लागु भएको थियो। हवाई टिकटमा भ्याट लगाएपछि हवाई भाडा महंगो परेको गुनासो पर्यटन क्षेत्रले गर्दै आएको थियो। भ्याटले हवाई यात्रुमा अतिरिक्त भार थपिएको व्यावसायीको गुनासो पनि थियो।  

भ्याटको अतिरिक्त भारले आन्तरिक मात्र नभई अन्तर्राष्ट्रिय उडानका हवाई यात्रु पनि प्रभावित भएको व्यावसायीले बताउँदै आएका थिए। भ्याटको अतिरिक्त भारले नेपालसम्मको हवाई यात्रा महंगो परेको भन्दै तेश्रो मुलुका विदेशी पाहुना अन्यत्र मोडिएको पनि व्यावसायीको भनाई छ।  

नेपालले विदेशी पाहुनाको बढी अपेक्षा गरेको छिमेकी मुलुक चीनबाट आउने पाहुना महंगो हवाई भाडाकै कारण नेपालको साटो अन्यत्र गएको व्यावसायीले बताउँदै आएका थिए। केही समय अघि प्रर्वद्धनका क्रममा चीन पुगेका पोखराका पर्यटन व्यावसायीले हवाई भाडामा लगाएको भ्याटका कारण नेपालको हवाई यात्रा महंगो परेको भन्दै चिनियाँ व्यावसायीले गुनासो सुनाएको बताएका थिए।  

हवाइ टिकटमा भ्याट लागु भएपछि पर्यटन व्यावसायीले विरोध जनाइरहँदा पछिल्लोपटक चीनले हवाई टिकटमा लगाएको भ्याटको प्रावधान नहटाए नेपालमा उडान रोक्ने चेतावनी दिएको भन्दै पर्यटन व्यावसायी थप सशंकित भएका छन। चिनियाँ पर्यटनसँग ठूलो अपेक्षा राखेका पर्यटन व्यावसायी केहीगरि चिनियाँ उडान प्रभावित भए त्यसले पर्यटन क्षेत्रलाई ठूलो धक्का पुग्ने उनीहरुको भनाई छ।  

हवाई टिकटमा भ्याट लागु गरेपछि असन्तुष्ट बनेको चीन आगामि आर्थिक वर्षको बजेटमा पनि हवाई टिकटमा भ्याटलाई निरन्तरता दिएपछि थप असन्तुष्ट भएको पोखरा पर्यटन परिषद् (पिटिसी)का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए। ‘नेपालको पर्यटन क्षेत्रले चिनियाँ पर्यटनसँग निकै नै ठूलो अपेक्षा राखेको छ। चिनियाँ पाहुनाको आगमनले बिस्तारै गति लिँदैछ। तर, यहीबेला चीनले नेपालसम्मको हवाई उडान रोक्नेसम्मको चेतावनीले चिन्ता थपेको छ,’ श्रेष्ठले भने, ‘साच्चै नै चिनियाँ गन्तव्यदेखि नेपालसम्मको हवाई उडान रोकियो भने त्यसले नेपालको पर्यटन क्षेत्रमा ठूलो धक्का लाग्नेछ।’  

पछिल्लो समय पोखराका पर्यटन व्यावसायीले चिनियाँ पाहुनाको आगमन बढाउने पहलस्वरुप चीनका विभिन्न सहरका प्रर्वद्धनात्मक अभियान चलाएका थिए। अभियान पछि चिनियाँ पाहुनाको आगमन अझ बढ्नेमा व्यावसायी आशावादी थिए।

 ‘पोखराले भर्खरै मात्र चिनियाँ सहरमा प्रर्वद्धनात्मक अभियान चलाएको छ। अबका दिनमा चिनियाँ पाहुनाको आगमन बढ्ने हाम्रो अपेक्षा हो। तर, हवाई टिकटमा भ्याटको कारण देखाउँदै चीनसम्मको हवाई उडान प्रभावित हुने देखिएको छ,’ उनले भने, ‘यसले व्यावसायीलाई निराश बनाएको छ। सरकारले यसबारेमा तुरुन्तै कदम चाल्नुपर्छ।’  

पर्यटन बोर्डका अनुसार सन् २०२४ को पाँच महिना (जनवरी–मे) मा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या ४६ हजार ६ सय ७१ रहेको छ। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि सन् २०१९ मा नेपाल भित्रिने चिनियाँको संख्या १ लाख ६९ हजार ५ सय ४३ थियो। २०१९ को यो आगमन नै नेपाल भित्रिएका चिनियाँ पर्यटकको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या पनि हो। अघिल्लो वर्ष सन् २०२३ मा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या ६० हजार ८ सय ७८ थियो।  

नेपालको पर्यटन क्षेत्रले चिनियाँ र भारतीय पाहुनासँग बढी नै निर्भर राख्छ। त्यसमा पनि पोखराले झनै बढी चिनियाँ र भारतीय पाहुनासँग अपेक्षा राख्दै आएको छ। आन्तरिक पाहुनाको पर्याप्त साथ पाउने र त्यसैमा चिनियाँ सहित भारतीय पाहुना थपिने हो भने अरु मुलुकका पाहुना कम हुँदा पनि व्यावसाय धान्न सकिने पोखराका पर्यटन व्यावसायीको तर्क पनि छ।  

तर, पछिल्लो समय सोचे अनुरुप चिनियाँ पाहुना नपाउँदा पोखराको पर्यटन क्षेत्र केही चिन्तित थियो। त्यसैमा हवाई भाडामा भ्याटको प्रावधान देखाएर चीनले नेपालसम्मको हवाई उडान रोक्ने चेतावनीले थप सशंकित गराएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकी अध्यक्ष हरिराम अधिकारीले बताए।  

‘चिनियाँ हवाई कम्पनिले पोखरासम्मको उडानको चाहना पनि राखेका हुन। तर, भ्याटको कारणले पनि चिनियाँ उडान कम्पनि पोखरा आउन इच्छुक भएनन,’ अधिकारीले भने, ‘आगामि आर्थिक वर्षको बजेटमा भ्याटको प्रावधान हट्ने अपेक्षा थियो। तर, हटेन, त्यसले हवाई भाडा महंगो परेको छ।’  

चीनले हालैमात्र हवाई टिकटमा लागु गरेको भ्याटको प्रावधान हटाउन भन्दै सरकारलाई पत्राचार गरेको थियो। त्यसपछि आइतबार परराष्ट्र मन्त्रालय, अर्थ मन्त्रालय, आन्तरिक राजस्व विभाग, राष्ट्र बैंक र नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रतिनिधिबीच छलफल पनि भएको थियो। छलफलपछि हालको समस्या समाधान गर्न अर्थ मन्त्रालय र राजस्व विभागलाई थप अध्ययन गर्न भनिएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।  

भुुलका अनुसार चीन र नेपालमा समेत भ्याटमा दर्ता गर्दा दोहोरो पर्ने भन्दै चिनियाँ हवाई कम्पनि नेपालमा भ्याटमा दर्ता भएका छैनन। ‘चिनियाँ कम्पनिले पहिला पनि यसबारेमा अनुरोध गर्दै आएका थिए,’ उनले भने, ‘खासमा यो समस्या अर्थ मन्त्रालय र राजस्व विभागले समाधान गर्ने हो।’ उनका अनुसार चीनसँग नेपालले हवाई सम्झौता गर्दा दोहोरो करमुक्त (डबल ट्याक्सेसन अभोइडेन्स–डिटिए) सम्झौता गरेको छ। यो सम्झौतामा चिनियाँ कम्पनिले नेपालमा भ्याट तिर्नुनपर्ने उल्लेख छ। ‘दुई मुलुकबीचको हवाई सन्धी सम्झौताले नै यो विवादलाई किनारा लगाउने हो । त्यसैले सम्झौतालाई भुल्न मिल्दैन,’ उनले भने, ‘अहिले चीनले मात्र यो व्यवस्था हटाउन अनुरोध गरेको छ।’  

दुई देशबीच हवाइ सेवा सम्झौता हुँदा कुनै पनि विदेशी एयरलाइन्सले अर्को देशमा उडान गर्दा सम्बन्धित देशको स्थानीय नियम, कानुन पालना गर्नुपर्ने उल्लेख हुने भएकोले त्यही अनुसार हुने उनले बताए। ‘दुइदेशको सम्झौता भएपनि स्थानीय नियम मान्नैपर्छ। सम्बन्धित देशको निकायले पनि त्यो बेला विदेशीलाई भेदभाव गर्न मिल्दैन,’ उनले भने।

प्राधिकरणका अनुसार अहिले एयर चाइना, चाइना साउर्दन, चाइना इस्टर्न, सिचुआन र क्याथे प्यासिफिक एयरलाइन्सले नेपाल र चीनबीच हवाई उडान गरिरहेका छन। सातामा ४० वटा हाराहारीमा ती कम्पनिले नेपालसम्म उडान गर्छन। चिनियाँ हवाई उडानकै कारण अन्तर्राष्ट्रिय हवाई भाडा केही सस्तो पर्न गएको छ। अहिले विभिन्न मुलुक जाने नेपाली विद्यार्थी सस्तो हवाई भाडा पर्ने भएपछि चीन हुँदै जाने गरेको उनले बताए।  

‘चिनियाँ हवाई जहाज नेपाल आउँदा अरु हवाई कम्पनिको एकाधिकार तोडिएको छ। त्यसैले केही हवाई कम्पनिको एकाधिकार तोड्न पनि चिनियाँ एयरलाइन्सको उडान हुनैपर्छ,’ भुलले भने, ‘चीनले असन्तुष्टि जनाएको विषयलाई जतिसक्दो छिटो समाधान गर्नुपर्छ।’ चिनियाँ उडान रोकिने अवस्था आउनै दिन नहुने उनले बताए। ‘चीन र भारतका पर्यटक विश्वका कुनैपनि मुलुकमा नपुगेका छैनन। ती मुलुकको जनसंख्या, आर्थिक अवस्थाले पनि त्यहाँका पर्यटक नेपालका लागि अपरिहार्य छ। चिनियाँ उडान रोकिनु भनेको त्यहाँका पर्यटक बिच्चकाउनु पनि हो। त्यो अवस्था आउनै दिनु हुन्न,’ उनले भने।

प्रकाशित: ३ असार २०८१ १७:२७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App