४ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

पर्यटन व्यावसायी भन्छन्ः चिनियाँ पर्यटक थाइल्याण्ड, भियतनाम र कम्बोडियातिर ‘डाईभर्ट’ भए

नेपालसम्मको हवाइ भाडा महंगो हुँदा पर्यटक अन्यत्र गएः व्यावसायी

पोखरा आएका चिनियाँ पाहुना। फाइल तस्बिरः नागरिक

सन् २०२३ मा नेपाल भित्रिने चिनियाँ पर्यटकको संख्या ६० हजार ८ सय ७८ थियो। कोरोना भाइरस संक्रमण सुरु हुनुअघि सन् २०१९ मा नेपाल भित्रिने चिनियाँको संख्या १ लाख ६९ हजार ५ सय ४३ थियो। २०१९ को यो आगमन नै नेपाल भित्रिएका चिनियाँ पर्यटकको अहिलेसम्मकै सबैभन्दा ठूलो संख्या पनि हो।

नेपालको पर्यटन क्षेत्रले चिनियाँ र भारतीय पाहुनासँग बढी नै निर्भर राख्छ। त्यसमा पनि पोखराले झनै बढी चिनियाँ र भारतीय पाहुनासँग अपेक्षा राख्दै आएको छ। आन्तरिक पाहुनाको पर्याप्त साथ पाउने र त्यसैमा चिनियाँ सहित भारतीय पाहुना थपिने हो भने अरु मुलुकका पाहुना कम हुँदा पनि व्यावसाय धान्न सकिने पोखराका पर्यटन व्यावसायीको तर्क पनि छ।  

तर, पछिल्लो समय सोचे अनुरुप चिनियाँ पाहुना नपाउँदा पोखराको पर्यटन क्षेत्र केही चिन्तित छ। पर्यटन बोर्डका अनुसार सन् २०२४ को पछिलो चारमहिनामा नेपालमा ३८ हजार २ सय ९० जना चिनियाँ पर्यटक आएका छन। ती मध्ये के कति संख्यामा पोखरा भित्रिए भन्ने आधिकारिक तथ्यांक भने कसैसँग पनि छैन। तरपनि नेपाल भित्रिएका मध्ये अधिकांश चिनियाँ पाहुना पोखरा आउने व्यावसायीको भनाई छ। पोखरा भित्रिएका चिनियाँ पाहुना मध्ये अधिकांश यहाँको साहसिक पर्यटकीय गतिविधिमा रमाउने पनि व्यावसायीले बताउने गरेका छन।  

कोराना भाइरस संक्रमणपछि सोचेजति आकारमा चिनियाँ पाहुना पोखरा आउन नसकेकोमा चिन्तित पर्यटन व्यावसायीले कोरोनापछि पहिलो पटक चीनमा पर्यटन प्रवर्द्धनात्मक कार्यक्रम चलाए। अघिल्लो साता गरिएको प्रवर्द्धनात्मक कार्यक्रममा सहभागि व्यावसायीले चिनियाँ पाहुनाको नेपाल आगमन संख्या कमजोर हुनुको कारण खोतले। प्रवर्द्धनात्मक अभियानमा सहभागि व्यावसायीका अनुसार नेपालमा चिनियाँ कम हुनुमा महंगो हवाई भाडा र पहुँचमा सहजता नहुनु नै मुख्य कारण रहेको बताए।

प्रवर्द्धनात्मक अभियान चलाएको नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टस (नाट्टा) गण्डकीका अध्यक्ष हरिराम अधिकारीका अनुसार पछिल्लो समय चिनियाँ पर्यटक नेपालमा आउन नचाहनुमा महंगो हवाई भाडा नै हो। 

‘नेपालसम्मको हवाई भाडा यति धेरै महंगो पर्ने रहेछ की अन्य मुलुकमा घुमेर फर्किने पैसाले नेपालसम्मको आउजाउ मात्र सम्भव हुने रहेछ,’ अधिकारीले भने, ‘चिनियाँ पाहुना नेपाल आउन नचाहेका होइनन, हवाई भाडा मुख्य समस्या हो।’  

अधिकारीका अनुसार चिनियाँ पर्यटक पछिल्लो समय थाइल्याण्ड, भियतनाम, कम्बोडिया र श्रीलंकातिर डाईभर्ट भएका छन। ती चारवटा मुलुकसम्मको हवाई पहुँच निकै सहज र सस्तो रहेको उनले बताए। ‘नेपालले तान्ने पाहुनाजति अहिले थाइल्याण्ड, भियतनाम, कम्बोडिया र श्रीलंकातिर गएका छन। ती मुलुकसँग नेपालले पर्यटन क्षेत्रमा प्रतिश्पर्धा गर्ने हो,’ उनले भने, ‘तर, नेपालसम्मको पहुँच महंगो परेको गुनासो चिनियाँ पर्यटकलाई घुमाउने टुर अपरेटर्सले गरेका छन।’  

उनका अनुसार चीनको बेइजिङदेखि काठमाडौंसम्म आउँजाउ एकजना गर्दा चिनियाँ पर्यटकले कम्तिमा एकलाख रुपैयाँ हवाई भाडा मात्र बेहोर्नुपर्छ। तर, थाइल्याण्ड, भीयतनाम, कम्बोडिया र श्रीलंका आउजाउ गर्दा ३० हजार रुपैयाँ हाराहारीमा खर्च हुने रहेछ। नेपालसम्मको यात्रा तीनगुणा महंगो परेको छ। नेपालसम्मको हवाई यात्रा नै महंगो भएको उनीहरुको निष्कर्ष रहेको अधिकारीले बताए। ‘चिनियाँ पर्यटन व्यावसायीले त्यहाँका पर्यटकलाई नेपाल पठाउन पनि चाहन्छन, चिनियाँ पर्यटक नेपाल घुम्न आउने भनेपछि हुरुक्कै पनि हुन्छन, तर, उनीहरुको नेपाल यात्रा कोभिडपछि निकै नै महंगो बनेको छ,’ उनले भने।  

नेपालसम्मको आउजाउको हवाई भाडा (एकलाख हाराहारी) बराबरको रकमले अरु चारवटा मुलुक (थाइल्याण्ड, भीयतनाम, कम्बोडिया र श्रीलंका) सम्मको आउजाउ, खानपिन, बसोबास र घुमघामका लागि पनि खर्च थेग्ने उनले बताए। तर, नेपाल आउँदा बसोबास, घुमघाम र खानपिनका लागि अतिरिक्त खर्च लाग्ने भएपनि चिनियाँ पाहुना अन्यत्र डाइभर्ट भएको अधिकारीले बताए।  

‘चिनियाँ पर्यटकले पनि कोभिड संक्रमणपछि बजेटलाई मुख्य प्राथमिकता राखेर घुमघाममा निस्कने गरेका छन। त्यसैले सस्तो गन्तव्य उनीहरुको प्राथमिकतामा छ,’ उनले भने, ‘नेपालसम्मको आउजाउको भाडा भाडाले नेपालका प्रतिश्पर्धी मूलूकमा घुमेरै फर्किन सकिने भएपछि त्यसको मार नेपाललाई परेको हो।’  

उनका अनुसार कोरोना अघि चिनियाँ पर्यटक स्थलमार्ग हुँदै पनि नेपाल आउजाउ गर्थे। तर, अहिले स्थलमार्ग खुलेपनि पर्यटक आउजाउ सुरु भएको छैन। त्यसैले हवाई मार्गको विकल्प छैन। तातोपानी नाका भएर आउने भएपनि अहिले पर्यटकका लागि खुला छैन। त्यसबाहेक चिनियाँ पाहुना पोखरा आउन कम हुनुमा आन्तरिक हवाई भाडा महंगो परेको पनि उनले बताए।  

‘चिनियाँ पाहुनाको मुख्य गन्तव्य पोखरा हो। तर, काठमाडौ–पोखराको आन्तरिक उडान पनि महंगो छ,’ उनले भने। उनका अनुसार अहिले विदेशीका लागि काठमाडौं–पोखरा एकतर्फी उडानमा हवाई भाडा झन्डै १४ हजार रुपैयाँ पर्छ।

‘कुनै एकजना चिनियाँ पर्यटक हवाई माध्यममार्फत पोखरा आउँदा झन्डै १ लाख २८ हजार रुपैयाँ हाराहारीमा आउजाउको हवाई भाडा पर्छ। त्यसमा खाना र बस्नको अतिरिक्त खर्च पर्छ,’ उनले भने, ‘चिनियाँ पाहुनाका लागि पोखरा झनै महंगो गन्तव्य भयो।’  

चिनियाँ पाहुनाको चाहना सिधै पोखरा ओर्लिने रहेको तर, पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा उडान नहुँदा पनि आउजाउ झन्झटपूर्ण बनेको उनले बताए। ‘चिनियाँ पाहुना सोझै पोखरा ओर्लिन चाहन्छन। तरपनि त्यो पहुँच सहज बनेको छैन,’ उनले भने, ‘त्यसबाहेक काठमाडौंदेखि बेइजिङसम्म सिधा उडान पनि छैन।’ अहिले छेन्दु, संघाई वा कुन्मिङ भएर मात्र जानुपर्छ। दुईवटा राजधानी (काठमाडौं र बेइजिङ) जोड्ने सिधा हवाई उडान नहुँदा समय अभाव र थप खर्चिलो बनेको उनले बताए।  

पोखरा भित्रिएका चिनियाँ पर्यटक प्याराग्लालाइडिङ सहितका साहसिक गतिविधिमा निकै नै रमाउँछन। व्यावसायीका अनुसार पोखरा भित्रिएका मध्ये करिब ९० प्रतिशत चिनियाँ पर्यटक यहाँका साहसिक गतिविधिमा रम्ने अनुमान छ। त्यसैले चिनियाँ पर्यटकले प्याराग्लाइडिङ उडानप्रति चाँसो पनि राखेको उनले सुनाए।  

‘पोखरा अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि प्याराग्लाइडिङ उडान रहे वा नरहेको भन्ने बारे चिनियाँ व्यावसायीको चाँसो थियो,’ उनले भने, ‘विमानस्थल संचालनमा आएपछि प्याराग्लाइडिङ उडान बन्द हुने भन्ने चिनियाँले बुझेका रहेछन।’ चिनियाँ पर्यटक अन्यत्र डाइभर्ट भएको सबैभन्दा बढी चिन्ताको विषय रहेको उनले सुनाए। ‘सरकारले यसबारेमा सोच्ने हो भने चिनियाँको आकार बढाउन सकिन्छ। सिंगो नेपाल चिनियाँ पाहुनाको स्वागतार्थ तयार रहेको भन्ने सन्देश दिन हामी गएका हौ,’ उनले भने।  

पदयात्रा व्यावसायीको छाता संस्था ट्रेकिङ एजेन्सीज एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष धर्मराज पन्थी पनि नेपालले प्रतिश्पर्धा गर्ने मुलुकले चिनियाँ पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न उपाय अवलम्बन गर्दा पर्यटक ती मुलुकतिर डाईभर्ट भएको बताए।

‘नेपालले चिनियाँ पाहुना तान्नका लागि खासै कदम नै चालेको छैन। अन्य प्रतिश्पर्धी मुलुकले चिनियाँ पर्यटकलाई तान्न निशुल्क भिसा सहित विभिन्न सहरदेखि नियमित र सस्तोमा हवाई सेवा दिएका छन,’ पन्थीले भने, ‘विभिन्न सहरलाई जोड्नेगरि सस्तोमा सिधा हवाइ सेवा दिएपछि चिनियाँहरु ती मुलुकतिर आकर्षित भएका हुन। त्यसको मार नेपालले खेप्नुपरेको छ।’ पन्थीले पनि चिनियाँ पर्यटकको ठूलो हिस्सा अहिले सस्तो गन्तव्यतिर आकर्षित भएको बताए।  

प्रकाशित: १३ जेष्ठ २०८१ १८:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App