२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अपी हिमाल बेसक्याम्पसम्म पुग्ने व्यवस्थित ट्रेकिङ रूट खुल्यो (तस्बिरसहित)

सुदूरपश्चिममा पर्यटन विस्तारमा सहयोग पुग्‍ने विश्वास

तस्बिर: एनिका राई/ नागरिक

सुदूरपश्चिम प्रदेशको दार्चुलामा रहेको अपी हिमाल बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रूट सञ्चालनमा आएको छ । आवश्यक पूर्वाधारसहितको बेसक्याम्पसम्म पुग्ने ट्रेकिङ रुट पर्यटकहरुका लागि औपचारिक रुपमा खुलेको हो ।  

अपी हिमाल बेसक्याम्पसम्म जाने ट्रेक रुटको व्यवस्थित निमार्णले समग्र सुदूरपश्चिम प्रदेशको पर्यटनले महत्त्वपूर्ण फड्को मार्ने अपी हिमाल गाउँपालिका अध्यक्ष भगत सिंह ठेकरे बोहोराले बताए । ‘यो ट्रेकिङ रूट सुदूरपश्चिमको उच्च पहाडी तथा हिमाली भेगमा भएको सबैभन्दा व्यवस्थित ट्रेकिङ रूट हो,’ उनले भने, ‘संरचनात्मकरुपमा यती व्यवस्थित र सहज ट्रेकिङ रुट सुदूरपश्चिम भरी कहीँ पनि छैन ।’  

तस्बिर: एनिका राई/ नागरिक

पर्यटन बोर्ड अन्तर्गतको सस्टेनेबल टुरिजम फर लाइभलीहुड रिकभरी परियोजना (एसटिएलआरपी) अन्तर्गत यूएनडिपी नेपालको सहयोग तथा पर्यटन विभागको सहकार्यमा अपी हिमाल बेसक्याम्प ट्रेकिङ रुट तयार भएको अपी गाउँपालिकाका अध्यक्ष बोहोराले बताए । ‘गाउँपालिकाको सहकार्यमा एसटिएलआरपीद्वारा आवासगृह, पुल तथा साइनबोर्डहरु निर्माण भएका हुन्,’ उनले भने, ‘पर्यटन विभागले थाइकोटदेखि बेसक्याम्पसम्मको बाटो निमार्णका लागि सहयोग गर्‍यो ।’  

अपी हिमाल गाउँपालिकासम्म पनि अझै सडक यातायात नपुगेको अवस्थामा सुदूरपश्चिमको पर्यटनलाई विस्तार गर्न नवनिर्मित ट्रेकिङ रूटले महत्त्वपूर्ण भूमिका खेल्ने अध्यक्ष बोहोराको विश्वास छ । ‘हामीले अपी हिमाल बेसक्याम्पसम्म पुग्न पर्यटकलाई आवश्यक पर्ने आधारभूत संरचना तयार गरिसक्यौ,’ उनले भने, ‘फराकिला र व्यवस्थित पदमार्ग छन्, पर्यटकका लागि आवसगृह तथा खानाका लागि सञ्चालन भइसकेका छन् । संरचनागत रुपमा हामी पूर्णरुपमा पर्यटकलाई सेवा सुविका दिन तयार भइसकेका छौ ।’  

तस्बिर: एनिका राई/ नागरिक

करिब ७ हजार जनसंख्या रहेको यस गाउँपालिकाको पर्यटनलाई व्यवस्थित गर्न तथा पर्यटकका लागि गुणस्तरीय र उत्कृष्ट सेवा दिन गाउँपालिकाले पर्यटन बोर्डको सहकार्यमा गाउँपालिकाका महिलाहरुलाई होमस्टे तालिम, युवाहरुलाई ट्रेकिङ गाइड तालिम पनि दिएको छ ।  

सरदरमुकाम खलंगादेखि २३ कोष टाढा रहेको अपी हिमाल गाउँपालिकामा अधिकांश हिमाल र पहाडी भू-भाग छ । यस गाउँपालिकामा भौगोलिक विकटतासँगै विविधता पनि छ ।  सुदूरपश्चिम प्रदेशकै सबैभन्दा अग्लो हिमाल अपी हिमाल (७१३२ मि.) यहीँ गाउँपालिकामा पर्छ । यससँगै नाम्पा, कापाचुली र जेठीबौरानी सहित करिब १६ वटा ६ हजार मिटर माथि उचाईं भएका हिमाल यहाँ छन् । साहसिक पर्यटनका लागि प्रचुर सम्भावना रहेको यस गाउँपालिकामा उत्तिकै महत्त्व रहेको धार्मिकस्थल, स्थानीय संस्कृति तथा थुप्रै रमणीय स्थान पनि छन् । यस्तै हिमाली जडिबुटीको पनि प्रचुर मात्रामा पाइने गाउँपालिकाको रुपमा पनि अपी हिमाल गाउँपालिकालाई चिनिन्छ ।  

तस्बिर: एनिका राई/ नागरिक

पर्यटन मन्त्रालयका पर्यटन प्रबद्र्धन शाखाका शाखा अधिकृत गुणराज भट्टराईका अनुसार उच्चपहाडी तथा हिमाली भेग, परम्परागत सांस्कृतिक, रमणीय पर्यटकीय स्थलहरुको संगम अपी हिमाल गाउँपालिका सुदूरपश्चिमको सबैभन्दा उत्कृष्ट पर्यटकीय गन्तव्य बनाउँन यस ट्रेकिङ रूटले महत्त्पूर्ण भूमिका खेल्ने बताए । उनले ट्रेकिङ रूट सञ्चालनमा आइरहँदा सम्पूर्ण गाउँपालिकाको रोजगारी, आर्थिक, सामाजिक, सांस्कृतिक, शैक्षिक अवस्थाको उन्नती एवम् विस्तार हुने धारणा राखे । ‘यस ट्रेकिङ रूटले सुदुरपश्चिमाञ्चलको सबैभन्दा अग्ला हिमाल अपी हिमालसम्मको बाटो खुला गरेका छ,’ अधिकृत भट्टराईले भने, ‘अब तिनै तहका सरकारले यसको प्रचार प्रसार गरेर आन्तरिक तथा बाह्य पर्यटकको आर्कषणको बिन्दु बनाउनुपर्छ ।’  

उनका अनुसार उक्त ट्रेकिङ रूटमा निजी क्षेत्रसँगको सहकार्यमा थप सेवा सुविधासम्पन्न होटल तथा पूर्वाधार विकास गर्दै लानुपर्ने आवश्यकता देखिएको छ । साथै सो क्षेत्रबाट अपि हिमाल आरोहणको लागि सहज छ, छैन भनी अध्ययन गरिनुपर्ने उनको धारणा छ ।

‘पदमार्ग बनेको अवस्थामा गाउँका कृषि उत्पादनहरु पर्यटकलाई बेच्न सके त्यहाँका मानिसलाई आर्थिक आम्दानी हुन्छ,’ अधिकृत भट्टराईले भने, ‘यसले समग्र जिल्लामा रोजगारीको श्रृजनासँगै आर्थिक समृद्धि पनि ल्याउँछ ।’  

तस्बिर: एनिका राई/ नागरिक

पर्यटन परियोजना (एसटिएलआरपी) म्यानेजर धर्मराज दवाडीले सुदूरपश्चिम प्रदेश पर्यटनका लागि नयाँ र प्रचुर सम्भावना भएको हुनाले अपी गाउँपालिकासँग सहकार्य गरेको बताए । ‘हामिले यसपटक भौगोलिक विविधता भएको प्रदेश छान्ने क्रममा सुदुपश्चिमको अपी गाउँपालिकासँग सहकार्य गरेका हौं,’ दवाडीले भने, ‘सुदूरपश्चिमको साहसिक पर्यटनलाई प्रबर्द्धन गर्ने उद्देश्यले पनि हामीले अपी गाउँपालिकासँग सहकार्य गरेर यस ट्रेकिङ् रूट निमार्णको लागि आवश्यक ट्रेकिङ पूर्वाधारहरुमा सहयोग गरेका हौ‌ ।’  

ट्रेकिङ रूट निमार्णका लागि परियोजनाले मकरगाडमा पर्यटकीय सूचना केन्द्र ‘कोसेली घर’, पर्यटकको सहज बसाइका लागि आवसगृह, पदमार्गका लागि पुल, बाटो पहिचानको लागि साइनबोर्ड तथा उक्त क्षेत्रको पर्यटन प्रबद्र्धनका लागि भिडियो डकुमेन्ट्री तयार गरेको छ । 

तस्बिर: एनिका राई/ नागरिक

 खण्डेश्वरी, घूसा, गुल्जर र सितोला सहित जम्मा ६ वटा वडा रहेको अपिहिमाल गाउँपालिकामा हिमालहरु बाहेक प्राकृतिक, सांस्कृतिक र धार्मिकरुपमा अत्यन्तै महत्त्वपूर्ण रहेको छ । धार्मिक स्थलहरु अन्तर्गत धर्मी गुफा, मार्कण्डेय गुफा, स्याउजे मन्दिर, सुर्माभवानी मन्दिर, चमेलियाको मुहानलगायत सम्पदा छन्  । साथै बेस क्याम्पबाट करिब २ घण्टाको पैदल यात्रा गरेर ४ हजार ५०० मिटर उचाईमा कालीढुंगा तालसमेत रहेको छ । जसले पर्यटकलाई थप रमणीयता प्रदान गर्छ ।

यस्तै स्थानीय मल्देशी संस्कृतिको पहिरन र चाहार्ई नाँच हेर्न सकिन्छ । यसका साथै नेपालको दार्चुला जिल्लामा मात्र रहेको ब्यासी शैका समाजको रङ सांस्कृतिक पहिरन, कला र नाचको पनि अवलोकन गर्न सकिन्छ ।

तस्बिर: एनिका राई/ नागरिक

अपिनाम्पा संरक्षण क्षेत्रभित्र पर्ने यस ट्रेकिङ रूटमा बन्यजन्तु तथा जडिबुटीमा कस्तुरी, मृग, डाँफे, झारल, नावर, हिमचितुवा जस्ता वन्यजन्तु र पाँच औले, यार्चागुम्बा, सतुवा, बनलसुन, जटामसीलगायतका जडीबुटीहरु पाइन्छ । अपिनाम्पा संरक्षण क्षेत्रको तथ्याङ्क अनुसार वार्षिक सबैभन्दा बढी राजश्व यही क्षेत्रको जडीबुटी संकलन तथा निकासीबाट जम्मा हुने गरेको छ ।

तस्बिर: एनिका राई/ नागरिक

यसरी पुग्न सकिन्छ अपि बेस क्याम्प

अपी बेस क्याम्प जान काठमाडौंबाट धनगढीसम्म सडक वा हवाई मार्ग र अत्तरीयाबाट अपिहिमाल गाउँपालिकाको मकरीगाडसम्म मोटरबाटोको यात्रा गर्नुपर्छ । मकरीगाडदेखि बेसक्याम्पसम्म पुग्न २ दिन पैदल हिड्नुपर्छ । मकरीगाडदेखि अपिहिमाल गाउँपालिकाको वडा खण्डेश्वरीबाट थला हुँदै बेस क्याम्प जान सकिन्छ । यही बीच बाटोमा नौपाटा सिति, सिमार र धौलीओडार हुँदै २ दिनको प्रकृतिक, सांस्कृतिक तथा धार्मिक मनोरम दृश्य हुँदै अपि बेस क्याम्प पुगिन्छ ।  

प्रकाशित: २ जेष्ठ २०८१ १४:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App