राष्ट्रिय गौरवको रानी जमरा कुलरिया सिँचाइ आयोजनाले निर्माण गरेको विद्युत् गृह सञ्चालन तथा व्यवस्थापन कार्यविधि तीन महिनादेखि अध्ययनका नाममा मन्त्रालयमा थन्क्याइएको छ।
आयोजनाले पुस महिनामै कार्यविधि तयार पारेर स्वीकृतिका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बुझाएको थियो। कार्यविधिमा सो मन्त्रालयका सचिवको अध्यक्षतामा चार सदस्यीय समिति गठन गर्ने उल्लेख छ। सो समितिको सदस्यहरूमा महानिर्देशक, उपमहानिर्देशक र आयोजना प्रमुख रहने व्यवस्था गरिएको छ।
सोही समितिले उत्पादित विद्युत् खरिद बिक्रीका बारेमा नेपाल विद्युत् प्राधिकरणसँग सम्झौता गर्ने उल्लेख छ। कार्यविधिमा विद्युत् बिक्री गरे बापतको रकम समितिका खातामा जम्मा हुनुपर्ने व्यवस्था गरिएको छ।
समितिले विद्युत् गृह सञ्चालन र मर्मतबाहेकको रकम आम्दानीका रूपमा राजस्वमा दाखिला गर्ने गरी आयोजनाले कार्यविधि तयार पारेको छ। कार्यविधिबारे अध्ययन भइरहेको छ। आयोजनाले पेश गरेको कार्यविधि अनुसार नै अघि बढ्ने वा फेरबदल गर्ने बारेमा अध्ययन भैरहेको जानकारी स्रोतले दिएको छ।
मन्त्रालयले अध्ययन पश्चात् कार्यविधि स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पेश गर्नुपर्नेछ। अर्थ मन्त्रालयको स्वीकृति पश्चात् मात्रै कार्यविधि कार्यान्वयनमा आउने बताइएको छ। कार्यविधि अध्ययन र स्वीकृतिको काम अघि नबढेपछि विद्युत् गृह सञ्चालनका बारेमा अन्यौलता सिर्जना भएको छ। आयोजनाले माघ १६ गतेबाट परीक्षण उत्पादन सुरु गरिसकेको छ।
आयोजना प्रमुख रविन्द्रबहादुर थापाले ४.७ मेघावाट क्षमता रहेको विद्युत्गृहले हाल ३.१ मेघा वाट विद्युत् नियमित उत्पादन गरिरहेको जानकारी दिए। उनका अनुसार परीक्षणका क्रममा रहेकाले पूर्ण रूपमा उत्पादन हुन नसकेको हो। ‘अहिले परीक्षणकै क्रममा छौं । त्यसैले कम उत्पादन भएको हो’, उनले भने, ‘क्षमता अनुसारको उत्पादनमा समस्या छैन।’
आयोजनाले उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणको लम्कीस्थित प्रशारण केन्द्रमा पठाएको छ। प्रशारण केन्द्रले सो विद्युत् ३३ केभी मार्फत राष्ट्रिय प्रशारण लाइनमा जोडेको बताएको छ।
आयोजनाले विद्युत् बेचेर वार्षिक ३० करोड आम्दानी गर्नेछ। आयोजना प्रमुख थापाका अनुसार चार वर्षमा विद्युत् गृहको सम्पूर्ण लगानी असुल हुनेछ। विद्युत् गृह निर्माणमा एक अर्ब रूपैयाँ खर्च भएको छ। विद्युत् गृहले २५ वर्षमा सम्पूर्ण सिँचाइ आयोजनाको लगानी असुल्ने अनुमान गरिएको छ।
‘विद्युत् बेचेर मात्रै २५ वर्षमा सबै रकम असुल हुन्छ’, आयोजना प्रमुख थापाले भने, ‘आयोजनाका कारण कृषि क्षेत्रमा बढ्ने आम्दानी अझ धेरै हुनेछ।’
सिँचाइसँगै विद्युत्समेत उत्पादन थालेको यो आयोजना देशकै नमुना बहुउद्देश्यीय परियोजना हो। आयोजनाले सिँचाइ, विद्युत्, नदी नियन्त्रण, सडक र कृषि उत्पादनलाई प्राथमिकतामा राखेको छ। यसबाट अन्य आयोजनाले समेत सिक्न सक्ने सिनियर डिभिजन इञ्जिनियर वीरसिंह धामीले बताए।
उनले विद्युत् व्यापार गर्ने गरी स्थापना भएको देशकै पहिलो सिँचाइ आयोजना भएको जानकारी दिए। ‘अन्यत्र केही सिँचाइ आयोजनाले विद्युत् उत्पादन गरेका छन्’, उनले भने, ‘त्यो विद्युत् आयोजनाभित्रै मात्र खपत भएको देखिन्छ।’
प्रकाशित: १४ वैशाख २०८१ ०९:०८ शुक्रबार