मुलुकको अर्थतन्त्रमा देखिएको समस्याको प्रभाव बैंकको ब्यालेन्स सिटमा पनि परेको छ। आर्थिक गतिविधि सुस्त हुँदा बैंकमा पैसा थुप्रिएको छ भने नाफा पनि घटेको छ।
निष्क्रिय कर्जाको अनुपात वृद्धि हुँदा, ब्याजको रकम नउठ्दा, नयाँ परियोजनामा लगानी वृद्धि नहुँदा र पोहोरको तुलनामा वाणिज्य बैंकहरूको नाफा करिब ६ अर्ब रूपैयाँले घटेको छ।
लगानी नभएपछि बैंकहरूमा करिब साढे ६ खर्ब रुपैयाँ थुप्रिएको छ। कर्जा मागमा कमी र लगानी गरेको कर्जाको ब्याज प्राप्त गर्न नसकेपछि वाणिज्य बैंकहरूको नाफा करिब सवा १३ प्रतिशतले घटेको हो।
चालु आव २०८०-८१ को आठ महिना साउनदेखि फागुनसम्म २० वटा वाणिज्य बैंकले ४२ अर्ब ३० करोड ६९ लाख रुपैयाँ मात्र नाफा कमाएका छन्। गत आवको सोही अवधिमा बैंकहरूले कुल ४८ अर्ब ८३ करोड ७ लाख रूपैयाँ खुद नाफा आर्जन गरेका थिए।
आर्थिक गतिविधिमा सुस्तता आएकाले त्यसको असर बैंकको ब्यालेन्स सिटमा परेको प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) अशोक शेरचन बताउँछन्। ‘नयाँ परियोजनामा लगानी भएको छैन, लगानी गरेको कर्जाबाट ब्याज पनि उठेको छैन,’ सिइओ शेरचनले भने, ‘त्यसको असर बैंकको नाफामा देखियो।’
बैंकमा निष्क्रिय कर्जा बढेको उनको आकलन छ। बैंकमा गरेको लगानीबाट प्रतिफल नआएपछि लगानीकर्तामा निराशा देखिने उनले बताए। ‘बैंकका लगानीकर्ताले रिटर्न नपाएपछि नयाँ परियोजनामा लगानी गर्दैनन्,’ उनले भने, ‘सेयर बेचेर पुँजी पलायनको जोखिम पनि बढाउँछ।’
अर्थतन्त्रका बाह्य सूचकमा उल्लेख्य सुधार भए पनि आन्तरिक अर्थतन्त्रमा देखिएको सिथिलताले व्यवसाय विस्तार नहुँदा कर्जा प्रवाह भएको छैन। ब्याजदर घट्दै गए पनि व्यवसायीले नयाँ परियोजनामा लगानी गर्ने तत्परता देखाएका छैनन्।
बैंकबाट ऋण लिएका व्यवसायीले समयमा ब्याज तिर्न नसकेपछि धमाधम कालोसूचीमा परेका छन्। यसको असर बैंकको कारोबारमा परेको हो। २० वाणिज्य बैंकहरूमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा नबिल बैंक रहे पनि पोहोरको तुलनामा नाफा करिब आधा अर्ब रूपैयाँले घटेको छ।
नबिलले चालु आवको आठ महिनामा ४ अर्ब ७२ करोड ४२ लाख रूपैयाँ नाफा कमाएको छ। बैंकले गत वर्ष सोही अवधिमा ५ अर्ब ३२ करोड रूपैयाँ नाफा कमाएको थियो। ग्लोबल आइएमई बैंकले यो वर्ष ३ अर्ब ४३ करोड ३० लाख रूपैयाँ नाफा कमाएको छ। ग्लोबलले गत आवको सोही अवधिमा ४ अर्ब ३७ करोड खुद नाफा कमाएको थियो। यसरी हेर्दा प्रायः सबै बैंकको नाफा घटेको छ।
प्राइम बैंकको नाफा २ अर्ब ८८ करोड ७८ लाख, राष्ट्रिय वाणिज्यको २ अर्ब ८७ करोड ७६ लाख, नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको २ अर्ब ८० करोड ४५ लाख, एनआइसी एसिया बैंकको २ अर्ब ५४ करोड २४ लाख रूपैयाँ, एभरेस्ट बैंकको नाफा २ अर्ब २९ करोड ३४ लाख रूपैयाँ रहेको छ।
त्यसैगरी, स्ट्यान्डर्ड चार्टर्डले २ अर्ब ८ करोड ९६ लाख, कृषि विकासले १ अर्ब ९७ करोड ६७ लाख, हिमालयनले १ अर्ब ९४ करोड ८३ लाख, एनएमबीले १ अर्ब ९२ करोड ५२ लाख, लक्ष्मी सनराइजले १ अर्ब ८२ करोड ६ लाख, सिद्धार्थले १ अर्ब ६९ करोड ६५ लाख, सानिमाले १ अर्ब ६६ करोड ४८ लाख रूपैयाँ नाफा कमाएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ।
त्यसैगरी, प्रभु बैंकले १ अर्ब ५१ करोड ४५ लाख, कुमारीले १ अर्ब ४२ करोड ४६ लाख, नेपाल बैंकले १ अर्ब २८ करोड २९ लाख, सिटिजन्स बैंकले १ अर्ब २२ करोड ६५ लाख, माछापुच्छ्रेले १ अर्ब १६ करोड ४८ लाख र नेपाल एसबिआईले १ अर्ब ८० लाख रूपैयाँ नाफा आर्जन गरेका छन्।
नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक नरबहादुर थापाले निष्क्रिय कर्जाको अनुपात बढ्दा बैंकको नाफा घटेको बताए। उनका अनुसार बैंकहरूको लगानीको वृद्धिदर निकै कम रहेको छ विगतमा निष्क्रिय कर्जाको अनुपात १÷२ प्रतिशत रहेकामा अहिले बढेर करिब ४ प्रतिशत पुगेको थापाले बताए।
‘कर्जा नोक्सानी व्यवस्था गर्दा प्रोफिट घट्यो,’ थापाले भने, ‘बैंकको व्यवसाय बढ्न सकेको छैन।’ निजी क्षेत्रमा लगानी गर्ने कर्जा निकै घटेको उनले बताए। ‘बैंकले लगानी गर्ने कर्जाको वृद्धिदर ३०-३३ प्रतिशतसम्म पुगेको थियो,’ थापाले भने, ‘अहिले ग्रोथ रेट ५ प्रतिशतको वरिपरि छ।’
सामान्य अवस्थामा पनि कर्जा प्रवाहको वृद्धि १५ प्रतिशत हुने गरेकामा अहिले कम रहेको उनले बताए। कर्जा प्रवाह नभएपछि बैंकहरूले कर्पोरेट हाउसहरूलाई बेस रेटमै कर्जा दिएको उनले बताए। ‘बेस रेट ८ प्रतिशत छ भने ०.२५ जोडेर मात्र लगानी गरेका उदाहरण पनि छन्,’ उनले भने, ‘सबैतिर बैंकको व्यवसाय घटेको छ।’ अन्तर्राष्ट्रिय व्यापारमा आएको कमी, पुँजीगत खर्च कमजोर हुनु, निर्माण क्षेत्रको सुस्ततालगायत कारण पनि बैंकिङ क्षेत्र प्रभावित भएको उनले बताए।
न्यून ब्याजदर, न्यून मूल्यवृद्धिबीच पनि कर्जाको माग नबढ्नु चिन्ताको विषय हो। बजारमा उत्पादन र मागमा गिरावट आएर व्यावसायिक गतिविधिमा सिथिलता आउँदा कर्जाको माग बढ्न नसकेको उद्योगी, व्यवसायी बताउँछन्। अर्थतन्त्रमा देखिएको समस्याका कारण निजी क्षेत्रले लगानी विस्तार गरेका छैनन्। बैंकमा कर्जाको माग नभएपछि रकम थुप्रिएर बसेको छ।
बैंकहरूमा तत्काल कर्जाका रूपमा दिन सकिने करिब ६ खर्ब रूपैयाँ बढी रकम रहेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले बताए। ‘दुई वर्षदेखि सुस्ताएको अर्थतन्त्रको रोग पहिचान गरेर निदान नगर्दा समस्या झन् बल्झिँदै गएको छ,’ अध्यक्ष ढकालले भने, ‘उद्यमी व्यवसायीले व्यवसाय विस्तार गर्न नसक्दा कर्जाको माग न्यून छ।’ ढकालका अनुसार अर्थतन्त्र सुस्ताएकाले नयाँ परियोजना नआउँदा कर्जाको माग न्यून भएपछि बैंकको लगानी बिस्तार हुन सकेको छैन।
प्रकाशित: २९ चैत्र २०८० ०६:३३ बिहीबार