२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

रैथाने बाली प्रवर्द्धन गर्न कृषि कचहरी

जुम्लाको सदरमुकाम खलंगामा पहिलो पटक कृषि कचहरी सञ्चालन गरिएको छ। कृषिका क्षेत्रमा देखिएका विभिन्न समस्याका विषयमा छलफल गर्न कृषि कचहरी सञ्चालन गरिएको हो।

कर्णाली एकीकृत ग्रामीण विकास अनुसन्धान केन्द्र (किर्डाक नेपाल) को आयोजना र वल्डभिजन इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा कृषि कचहरी भएको हो। कचहरीमा ११ वटा महत्वपूर्ण प्रतिवद्धता गरिएको छ।

स्थानीय सरकारले आगामी वर्षका नीति तथा कार्यक्रम र बजेटमा जलवायुमैत्री कृषि प्रविधि प्रवर्द्धन गर्ने र कम्तीमा एक जलवायुमैत्री कृषि गाउँ निर्माण गरिने छ।

यस्तै जलवायुमैत्री कृषि उत्थानशीलतामा स्थानीय समुदायको क्षमता अभिवृद्धि गर्दै जलवायुमैत्री प्रविधि अपनाउने, निजी तथा सहकारी क्षेत्रले जलवायुमैत्री खाद्य प्रणाली र मूल्य शृखंला प्रवद्र्धनमा भूमिका निर्वाह गर्ने, प्रत्येक स्थानीय तहमा जलवायुमैत्री कृषि प्रवर्द्धन केन्द्र स्थापना गर्ने, जलवायुमैत्री कृषि वातावरणका लागि आवश्यक नीति तथा संरचना व्यवस्थापन गर्ने कृषि कचहरीमा प्रतिबद्धता गरिएको छ।

कार्यक्रममा उत्पादित कृषिवस्तु बजारीकरणका लागि स्थानीय तह, निजी क्षेत्र, गैसस र कृषक समूहको संयुक्त समन्वय तथा साझेदारीमा स्थानीय हाट बजार केन्द्र, चिस्यान केन्द्र र संकलन केन्द्रमार्फत बजारीकरण सुनिश्चित गर्ने, रैथाने बाली प्रवद्र्धन तथा अर्गानिक कृषि उपजको गुणस्तर तथा प्रमाणीकरण गरी बजारको सुनिश्चितता गर्ने, मौसम पूर्वनुमान प्रणाली स्थापना गर्ने विषयमा छलफल भएको थियो।

यसैगरी स्थानीय तहले कृषि बिमा नीति निर्माण गरी कार्यान्वयन गर्ने र तीनै तहका सरकार तथा सरोकारवाला निकायले कृषि अनुसन्धान कार्यमा जोड दिँदै नीति तथा कार्यक्रममा समावेश गर्ने कृषि कचहरी कार्यक्रममा प्रतिबद्धता भएको किर्डाक नेपालका कार्यक्रम निर्देशक गौतमराज अधिकारीले बताए।

कृषि मन्त्रालयका सहसचिव डा. अरुण प्रकाश भट्ट, प्रदेश कृषि तथा सहकारी मन्त्रालयका अधिकृत पदम केसी, कृषि विज्ञ डा. ईश्वरी कडरिया, वल्र्डभिजन इन्टरनेसनल नेपालका निर्देशक प्रकाश तिवारी र कृषि अनुसन्धान केन्द्र जुम्लाका अधिकृत प्रतीक्षा श्रेष्ठसँग कृषि क्षेत्रका नीतिगत विषयमा छलफल गरिएको थियोे।

छलफलबाट जलवायु मैत्री कृषि र जलवायु परिवर्तनलाई मुख्य योजना बनाइनुपर्ने र अर्गानिक प्रदेश भएको हिसाबले पर्यटक भित्र्याउने गरी नीति बनाउनुपर्ने विषयलाई प्राथमिकतामा राखिएको छ। छलफलमा अगुवा किसान रामकृष्ण बुढथापा, युवा उद्यमी महेन्द्र कार्की, महिला उद्यमी नाराणयी चौलागाई, उद्योग वाणिज्य संघ जुम्लाका अध्यक्ष पुरीचन्द्र देवकोटाको पनि सहभागिता थियो।

प्रकाशित: २२ चैत्र २०८० १२:१८ बिहीबार

कृषि कचहरी रैथाने बाली प्रवर्द्धन कर्णाली एकीकृत ग्रामीण विकास अनुसन्धान केन्द्र वल्डभिजन इन्टरनेसनल नेपाल