२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

लुम्बिनी घुम्नका लागि अब अनलाइनबाटै टिकट

बुद्ध जन्मस्थल लुम्बिनी घुन्नका लागि अब अनलाइनबाटै टिकट काट्न सकिने भएको छ। लुम्बिनी विकास कोषले लुम्बिनी भ्रमणका लागि अनलाइन टिकेटिङ प्रणालीको शुभारम्भ गरेको हो।

अनलाइन टिकेटिङ सिष्टम लागु भएपछि लामो लाइन लागेर टिकट लिने अवस्थाको अन्त्य हुने भएकाले स्वदेशी तथा विदेशी पर्यटकलाई लुम्बिनी घुम्न अझ सहज हुने अपेक्षा गरिएको छ।

शनिबार एक कार्यक्रमका बिच लुम्बिनी विकास कोषका अध्यक्ष एवं संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले अनलाइन टिकेटिङ प्रणालीको सुभारम्भ गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री तामाङले सूचना प्रविधिको विकास भइरहेको यो समयमा अनलाइन मार्फत टिकेटिङ गर्ने कार्यले पर्यटकलाई सहज हुने बताए। इटिकेटिङ सिष्टमले सम्बन्धित क्षेत्रको अनियमितता रोक्दै संस्थालाई पारदर्शी र पर्यटकलाई सहजता प्रदान गर्ने उनले बताए।

कोषका उपाध्यक्ष ल्हारक्यला लामाले अनलाइन टिकेटिङले लुम्बिनीमा आउने पर्यटकहरुको संख्या समेत वृद्धि गर्ने विश्वास गरे। लाइनमा बसेर टिकट लिनुपर्ने बाध्यताको अन्त्य गरी पर्यटकलाई सजिलो बनाउने काम गरिएको उनले बताए। 

लुम्बिनी प्रति बौद्धमार्गीहरुको मात्रै नभई विश्वका सबै धर्म सम्प्रदायले आस्था राख्ने भएकाले यसको प्रचार प्रसार गर्नुपर्नेमा उनले जोड दिए। कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराई (सिद्धिचरण) ले डिजिटल प्रणालीमा संस्थालाई लैजाँदा सुशासन र पारदर्शिता कायम गर्नमा सहयोग पुग्ने बताए। अनलाइन टिकेटिङले कोषको आम्दानीमा समेत वृद्धि हुने उनले जनाए।  

लुम्बिनी विकास कोषको वेबसाइट लगइन गरेर इटिकेट्समा गएपछि टिकट काट्न सकिन्छ। इटिकेस्मा गएपछि नेस्नालिटी, व्यक्तिको संख्या, गाडी वा ट्याक्सी, क्यामेरा र फिल्म सुटिङका लागि भए त्यो अप्सन छनौट गरेपछि तोकिएको मूल्य भिस्सा कार्ड, बैंक, इसेवा र खल्ती एपबाट तिर्न सकिने व्यवस्था मिलाइएको कोषका लेखा प्रमुख भीम बस्नेतले जानकारी दिए। 

हाल मायादेवी मन्दिर प्रवेश र तोकिएका अन्य सेवाका शुल्कहरु राखिएको उनले बताए।

प्रकाशित: १० चैत्र २०८० १९:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App