२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

'ब्रेक थ्रु' भएसँगै चीनसँग जोडियो तमोर करिडोर

नेपालको तमोर करिडोर छिमेकी मुलुक चीनसँग जोडिएको छ। नेपाल–चीन र भारत जोड्ने सबैभन्दा छोटो नाका मानिएको उत्तर दक्षिण सडक अन्र्तगत पर्ने फुङलिङ–ओलाङचुङगोला सडक खण्डको ट्रयाक बुधवार ब्रेक थ्रु भएसँगै चीनसँग जोडिएको हो।

६ वर्षअघि २०७४ फागुनबाट निर्माण कार्य सुरु भएको फुङलिङ–ओलाङचुङगोला सडकको ट्रयाक ओपनको तयारी पूरा भएपछि ब्रेक थ्रु गरिएको सडक निर्माण कम्पनी एलाइट जेभीका साइट इञ्चार्ज राजीव लामिछानेले बताए।

सुभाङखोलादेखि टिपतालासम्मको १ सय २१ किमि ट्रयाक खुल्ने कार्यमा ब्रेक थ्रु भएको हो। रानीपुलदेखि ओलाङचुङगोलासम्मको ३७ किलोमिटर माथिल्लो खण्ड निर्माणको जिम्मा एलाइट जेभीले लिएको थियो। उत्तर दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजनाअन्तर्गत निर्माणाधीन सडकको ट्रयाक खोल्न ३० मिटर हाराहारी मात्र बाँकी रहेको र त्यो कार्य बुधबार पूरा भएसँगै सडकको ट्रयाक ओपनमा ब्रेक थ्रु गरिएको लामिछानेले बताए।

यो ट्रयाक ओपन भएपछि तमोर करिडोर ओलाङचुङगोला हुँदै नेपाल र चीनको सीमानाका टिपतालासम्म जोडिएको छ। टिपतालासम्म यातायात सञ्चालन गर्न दुई महिनाभन्दा बढी अवधि लाग्ने निर्माण कम्पनीले जनाएको छ।

ट्रयाक खोलिएको ठाउँको करिब ४२ किलोमिटर दुरी सफाई गर्ने काम बाँकी रहने भएकोले फुङलिङबाट सवारीमार्फत टिपताला पुगेर आउँदो वैशाख महिनाको नयाँ वर्ष टिपतालामा मनाउन सकिने अवस्था बनाउने गरी तयारी भइरहेको निर्माण कम्पनी एलाइट जेभीका पेम्बा शेर्पाले बताए।

सुरुमा यो सडक सुकेटारबाट फुरुम्बुको गढीडाँडा हुँदै ओलाङचुगोला जोड्ने गरी सडकको ट्रयाक ओपन गर्न थालिएको थियो। अहिले यो योजना तमोर करिडोरसँगै गाभिएको छ। योसँगै अहिले सुकेटारतर्फको सडकखण्ड भने वैकल्पिक भएको छ। सदरमुकाम फुङलिङबाट मित्लुङ, सिंवा हुँदै तमोर नदीको किनार भएर सडकको ट्रयाक ओपन भएको हो। फुङलिङबाट करिब ६८ किलोमिटर दुरीको सुकेपानी सम्म अहिले साना सवारी चल्छन्। सडकको नियमक निकाय उत्तर दक्षिण (सुभाङखोला–मूलघाट–दोभान–ओलाङचुङगोला) सडक योजना कार्यालय हो।

सुरुमा उत्तर–दक्षिण मूलघाट–ओलाङचुङगोला सडक योजना भनिदैं आएकोमा यो योजना तमोर करिडोरमै गाभिएपछि अहिले सडक योजना कार्यालयको नाम तमोर करिडोर सुभाङखोला–दोभान–ओलाङचुङगोला सडक योजनामा रुपान्तरण भएको छ। सडक योजना कार्यालयका इञ्निियर बसन्त गुरागाँईका अनुसार सडकको ट्रयाक ओपन भएको क्षेत्रका ठाउँठाउँमा पुल निर्माण अनिवार्य छ।

सोबुवाखोला, हाङदेवाखोला, फुरुम्बुखोला, सिस्नेखोला, तावाखोला, थाक्पाखोला, छाँगाखोला, कस्तुरी खोला, फेदीखोला र तमोरनदी सुकेपानी क्षेत्रमा पुल निर्माणका लागि प्रक्रिया आरम्भ भने भएको गुरागाँईले बताए।

सुकेपानी सम्ममा जम्मा १३ वटा मोटरेवल पुल हुने सडक योजना कार्यालयले बताएको छ। सोभन्दा उभों ओलाङचुङगोलासम्ममा थप ४ वटा मोटरेवल पुल हुनुपर्ने प्राविधिक पूर्वानुमान रहेपनि बिस्तृत अध्ययन हुन बाँकी रहेको उनले जानकारी दिए। यस बाहेक  हाङदेवाखोला र थाक्पाखोला क्षेत्रमा समेत मोटरेवल पुलको निर्माण हुनुपर्ने गरी प्राविधिक अध्ययन गरिएकोले यि दुई स्थामा समेत मोटरेवल पुल निर्माणका लागि बिस्तृत प्राविधिक अध्ययन भइरहेको छ।

प्रकाशित: १० फाल्गुन २०८० ०९:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App