१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

टाइगर प्यालेसले तिर्‍यो ५४ करोड राजस्व

प्रत्यक्ष वैदेशिक लगानी रहेको भैरहवाको पाँचतारे होटल टाइगर प्यालेस किनेका गैरआवासीय नेपालीहरूले सरकारलाई करिब ५४ करोड रूपैयाँ राजस्व बुझाएका छन्। टाइगर प्यालेस खरिदको पुँजीगत कर र होटलभित्रको क्यासिनो नवीकरण गर्नका लागि सरकारलाई कुल ५३ करोड ७९ लाख रूपैयाँ बुझाएका हुन्।

होटल खरिद गर्दाको पुँजीगत कर बापत दुई करोड २९ लाख, टाइगर प्यालेसमा रहेको क्यासिनो र सांग्रिला क्यासिनोको ५१ करोड ५० लाख रूपैयाँ बुझाएको टाइगर प्यालेसका अध्यक्ष बुद्धिसागर सुवेदीले बताए। योमध्ये केही रकम बैंक ग्यारेन्टी गरिएको सुवेदीले बताए।

प्रत्यक्ष वैदेशिक लगानी रहेको तर बन्द हुने अवस्थामा पुगेको भैरहवास्थित पाँचतारे टाइगर प्यालेस रिसोर्ट किनेका गैरआवासीय नेपालीले बक्यौता रकम तिरेका हुन्।

 कोभिड महामारी र रिसोर्ट सञ्चालनको क्रममा देखिएको विवादको कारण जीर्ण अवस्थामा रहेको रिसोर्ट र क्यासिनो, गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका पूर्व अध्यक्ष बुद्धिसागर सुवेदी, गैरआवासीय नेपाली संघका पूर्व अध्यक्ष कुल आचार्य, क्यानाडाका पूर्व अध्यक्ष दिपकदत्त गौतम लगायतको टोलीले किनेको थियो।

करिब पाँच अर्ब रूपैयाँ लगानी गरेर निर्माण गरिएको रिसोर्ट कोभिड र आन्तरिक विवादको कारण निरन्तर घाटामा गएर सञ्चालन गर्न कठिनाइ भएपछि एनआरएनएले किनेका थिए।

कर छली हुन सक्ने आशंका गरिएका लगानीकर्ताले होटल र क्यासिनोको करिब ५४ करोड रूपैयाँ बक्यौता तिरेपछि आशंका अन्त्य भएको छ।

टाइगर प्यालेस होटल र क्यासिनोमा विदेशी लगानीकर्ता रहेको अस्टे«लियन कम्पनी सिल्भर हेरिटेज ग्रुप लिमिटेडको सेयर सुवेदी, आचार्य र गौतम लगायतका एनआरएनएको लगानी रहेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंक कम्पनीले खरिद गरेको थियो।

टाइगर प्यालेस खरिद गरेको हिमालयन टाइगर इन्भेष्टमेन्ट इंकअन्तर्गत एचएसएल म्यानेजमेन्ट रहेको छ। सोही कम्पनीले टाइगर प्यालेसमा रहेको क्यासिनो र सांग्रिला क्यासिनोले तिर्नुपर्ने नवीकरण दस्तुर, रोयल्टी र थप शुल्क बापतको रकम सरकारलाई तिरेको हो।

क्यासिनोको आर्थिक वर्ष २०७७÷७८ देखि सरकारलाई तिर्नुपर्ने नवीकरण दस्तुर, रोयल्टी र थप शुल्क बापतको रकम बाँकी थियो। टाइगर प्यालेस होटलमा सञ्चालन भएको क्यासिनोको लागि २२ करोड ६० लाख रूपैयाँ बापतको रकम सरकारलाई दाखिला गरेको र बाँकी तीन करोड रूपैयाँ बैंक ग्यारेन्टी पेश गरेको पर्यटन विभागका निर्देशक कालीबहादुर भुजेलले बताए।

त्यसैगरी, कम्पनीले सांग्रिला होटलमा सञ्चालनका लागि लिएको इजाजतबापत हालसम्म तिर्नुपर्ने २५ करोड ९० लाख रूपैयाँको समेत बैंक ग्यारेन्टी पेस गरेको छ। ‘बैंक ग्यारेन्टी बस्नु भनेको रकम तिरे जस्तै हो’, अध्यक्ष सुवेदीले भने।

एचएसएल म्यानेजमेन्टले टाइगर वानको लागि २२ करोड ६० लाख नगद तिरेको छ। बाँकी तीन करोड रकम बैंक ग्यारेन्टी पेश गरेको छ।

होटल शाखाको तथ्यांक अनुसार एचएसएल म्यानेजमेन्टले सांग्रिलाको २५ करोड ९० लाख र टाइगर वानबाट २५ करोड ६० लाख रूपैयाँ गरी कुल ५१ करोड ५० लाख रूपैयाँ रकम नवीकरण दस्तुर, रोयल्टी र थप शुल्क बापतको हो।

कम्पनीले असार मसान्तभित्र सांग्रिलाको सबै रकम तिर्ने प्रतिबद्धता गरेर निश्चित रकम तिरेको र बाँकी तिर्नुपर्ने बक्यौताको बैंक ग्यारेन्टी पेश गरेको जनाउँदै निर्देशक भुजेलले आगमी असारसम्म बाँकी रकम नतिरेको खण्डमा विभागले कम्पनीको बैंक ग्यारेन्टी खिच्ने बताए।

एचएसएल म्यानेजमेन्टसँग टाइगर वान र सांग्रिला होटलको लागि दुई छुट्टाछुट्टै क्यासिनोको इजाजत छ। कम्पनीको भैरहवामा रहेको टाइगर होटल सञ्चालनमा भए पनि हाल सांग्रिला होटल भने प्रबलिकरण भइरहेको छ।

टाइगर प्यालेसमा रहेको क्यासिनो तुरुन्त सञ्चालनमा ल्याउने टाइगर प्यालेसका अध्यक्ष सुवेदीले बताए। ‘सरकारलाई तिनुपर्ने रकम तिरेका छौं,’ सुवेदीले भने, ‘अब क्यासिनो पनि सञ्चालन गर्छौं।’ होटलमा रहेको श्रमिकको विवाद पनि सुल्झाएको सुवेदीले बताए।

 गैरआवासीय नेपालीले टाइगर प्यालेस किनेपछि होटल सञ्चालनमा अबरोध गर्नका लागि केही व्यक्तिहरूले सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागमा उजुरी गरेर अनावश्यक दुःख दिन खोजेको लगानीकर्ताले गुनासो गर्दै आएका थिए।

प्रकाशित: २६ माघ २०८० ०७:३१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App