२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

ग्वार्को फ्लाईओभरमा जेठबाट सवारीसाधन गुड्ने

ठेक्का सम्झौता अनुसार चक्रपथ सडक खण्डमा  निर्माणाधीन ग्वार्को फ्लाइओभर फागुन १२ गतेभित्रै बनेर सकिनुपर्थ्यो। निर्माण सुरु भएको १३ महिनापछि डिजाइनमा समस्या आएसँगै फ्लाइओभर निर्माणको काम झण्डै ६ महिना प्रभावित भयो । निर्माण सम्पन्न हुने मिति नजिकिँदै जाँदा फ्लाइओभर निर्माण समग्रमा ४० प्रतिशतमा सीमित छ।
 
गुणस्तर अनुसन्धान तथा विकास केन्द्रले भने अबको पाँच महिनाभित्रै अर्थात् जेठ मसान्तभित्रै ग्वार्को फ्लाइओभरको काम निर्माण सम्पन्न हुने दाबी गरेको छ।
 
केन्द्रका सिनियर डिभिजन इन्जिनियर राकेश महर्जनले विगतमा प्राविधिक समस्या देखिएर ग्वार्को फ्लाइओभरको काम प्रभावित भए पनि अहिले निर्माण कार्यले गति लिएको दाबी गर्छन्।
 
‘निर्माण व्यवसायीको आवश्यक तयारी र कामको रफ्तार देख्दा जेठ मसान्तसम्म सकिएला कि भन्ने आशा गरेका छौँ’, उनले भने, ‘अहिले दैनिक १५० भन्दा धेरै कामदार फ्लाइओभर निर्माणको काममा खटिँदै आइरहेका छन्। यो रफ्तार कायमै रहने हो भने जेठ मसान्तभित्रै फ्लाइओभर निर्माण कार्य सकिएला।’
 
विगतमा ठेक्का सम्झौता भएको १३ महिनापछि डिजाइनमा प्राविधिक समस्या आएसँगै फ्लाइओभरको काम केही समय रोकिएको थियो। निर्माणको जिम्मेवारी पाएको आशिष–समानान्तर–रेलिगेर जेभीले फ्लाइओभरको डिजाइन पुनर्विचार गर्न प्रस्ताव पेस गरेको थियो।
 
निर्माण व्यवसायीले प्रस्तुत गरेको डिजाइनलाई सडक विभागले गत भदौ १० गते स्वीकृत गरेसँगै फ्लाइओभर निर्माणको कामले गति लिन थालेको हो। ‘फ्लाइओभरको दायाँ–बायाँ दुवैतर्फ पिल्लर उठाउने काम भइसकेको छ। अब हामीले पाइलमा बिम राख्ने तयारी गरिरहेका छौँ’, उनले भने, ‘क्रेनले उचालेर बिम राख्ने काम भने बाँकी छ।’
 
सिनियर डिभिजन इन्जिनियर महर्जन निर्माण व्यवसायीले बिम राखेसँगै फ्लाइओभरको प्रगति ७० प्रतिशत पुग्ने बताउँछन् । ‘सडकमा कुनै पनि प्रकृतिको बिघ्नबाधा नआएको खण्डमा जेठसम्म  सम्पन्न हुने देखिन्छ’, उनले भने।
 
फ्लाइओभरको मुख्य बिज्रको लम्बाइ ३६ मिटर रहनेछ। त्यसैगरी कोटेश्वर–बालकुमारीतर्फ ३२० मिटर र ग्वार्कोतर्फ १८५ मिटर लम्बाइको पहुँचमार्ग बनाइने छ। तीनैतर्फ गरेर कुल पाँच सय ४१ मिटरको पहुँचमार्ग रहनेछ।
 
सिनियर डिभिजन इन्जिनियर महर्जनले भारतबाट आवश्यक प्राविधिक ल्याएर फ्लाइओभरको ¥याम्प लगायतका संरचना जडानको काम अघि बढाउने तयारी भइरहेको बताए। ‘अहिले बाँकी काम भनेको ३२० मिटर र १८५ मिटरको सडकलाई सबलीकरण गर्ने हो,’ उनले भने, ‘निर्माण कम्पनीले अहिले पहुँच मार्गतर्फको सडकलाई थप मजबुत बनाउने काम गरिरहेका छन्।’
 
ग्वार्को फ्लाइओभर निर्माण भएसँगै चक्रपथको सातदोबाटो–कोटेश्वर सडक खण्ड, मंगलबार–इमाडोल–लुभू सडकमा गुड्ने सवारी साधन सुरक्षित र व्यवस्थित तारिकाले आवागमन हुने बताइन्छ। ग्वार्को फ्लाइओभरको निर्माण २०७८ फागुन १२ गते सुरु भएको थियो। यो फ्लाइओभर इन्जिनियरिङ प्रोक्योरमेन्ट एन्ड कन्स्ट्रक्सन ९इपिसी० मोडलअन्तर्गत ठेक्का सम्झौता भएर निर्माण गरिँदैछ। ग्वार्को फ्लाइओभरको ठेक्का आशिष–समानान्तर रेलिगर जेभिले पाएको थियो। सो ठेक्का सम्झौता १७ करोड ६ लाख ८८ हजार आठ सय ८८ रुपैयाँमा भएको थियो। निर्माण कम्पनीले सम्पन्न भएको पाँच वर्षसम्म मर्मतसम्भार गर्नुपर्ने दायित्व तोकिएको छ।

प्रकाशित: १९ माघ २०८० १३:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App