१७ असार २०८१ सोमबार
image/svg+xml
अर्थ

‘बथनाहदेखि विराटनगरसम्म कार्गो रेल ल्याउन कुनै समस्या छैन’

भारतको बथनाह देखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्डसम्म कार्गो रेल सञ्चालन गर्न कुनै समस्या नरहेको स्पष्ट पारेको छ। नेपाल इन्टरमोडल यातायात विकास समितिले व्यवसायीहरुसंग पटक पटक  छलफल गरी रेल मार्फत कार्गो ल्याउन अनुरोध गरेको छ।

समितिले व्यवसायीले कार्गो रेल ल्याउन चाहेको खण्डमा कुनै पनि समस्या नरहेको स्पष्ट पारेको छ। गत जेठ १८ गते नेपाल र भारतका सम्माननीय प्रधानमन्त्रीज्यूहरुबाट संयुक्त रूपमा उद्घाटन भई भारतको बथनाह देखि विराटनगरको बुधनगर स्थित नेपाल कष्टम यार्ड सम्म पहिलो पटक कार्गो लिएर रेल आएको हो। उक्त दिनबाट कार्गो रेल सञ्चालनको लागि नेपाल इन्टरमोडल यातायात विकास समिति, भन्सार कार्यालय तथा रेल कम्पनी तयारी अवस्थामा रहेका छन्।

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक  आशिष् गजुरेलले कार्गो रेल सञ्चालनको लागि कुनै पनि समस्या नभएको बताए। ‘हामी, भन्सार कार्यालय र रेल्वे व्यवस्थापक पूर्ण रूपमा तयार छौँ, व्यवसायीले कार्गो रेल ल्याउनु प¥यो,’ उनले भने। बिहीबार नेपाल इन्टरमोडल यातायात विकास समिति र रेल कम्पनीका प्रबन्ध निर्देशक निरञ्जन झाका बिच समितिको कार्यालय चोभारमा छलफल भएको छ। सो छलफलमा नेपाल कष्टम यार्डमा तत्काल नेपाल इन्टरमोडल यातायात विकास समिति र रेल कम्पनीको सम्पर्क व्यक्तिलाई खटाउने निर्णय भएको छ। 

दुवै पक्ष कार्गो व्यवस्थापनका लागि तयारी रहेको र व्यवसायीलाई कार्गो रेल ल्याउन अनुरोध गर्ने समेत निर्णय भयो। ‘व्यवसायीले ल्याएको कार्गो नेपाल सरकारले तोकेको न्यूनतम शुल्कमा व्यवस्थापन गर्ने सम्पूर्ण तयारी पुरा भइसकेको छ, कुनै समस्या हुँदैन,’ कार्यकारी निर्देशक गजुरेलले भने, ‘सुरक्षाको पनि राम्रो व्यवस्था भएको छ निर्धक्क भएर कार्गो रेल ल्याउन व्यवसायीहरूलाई अनुरोध गर्दछु। केही समस्या भए जानकारी भएमा सो को पनि उचित व्यवस्थापन गरिनेछ।’

नेपालमा भएका सुक्खा बन्दरागह र एकीकृत जाँच चौकीहरू आधुनिक छन्, चाहिने मेसिन, औजार, जनशक्ति सहित सुविधा सम्पन्न छन्। यसको  व्यवसायीले अधिकतम प्रयोग गरी समग्र आयात तथा निर्यात खर्च कम गर्नु पर्छ साथै समय पनि कम गर्नु पर्दछ। व्यापार सहजीकरण गर्न स्थापना भएको नेपाल इन्टरमोडल यातायात विकास समितिले आज सम्म आइपुग्दा आफ्ना पोर्टहरुलाई सुविधा सम्पन्न बनाएको छ।

प्रकाशित: १८ माघ २०८० ११:३५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App