१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

टिकारामको पुर्ख्यौली पेशा, जसले घरपरिवार धानिरहेको छ

दाङको राजपुर गाउँपालिका–४ निवासी टीकाराम यादवको पुर्ख्यौली पेसा भैँसीपालन हो। उनी भैँसीको दूध, दही र घिउ बिक्री गरेर जीवन निर्वाह गर्दै आइरहेका छन्। उनले यसैको आम्दानीबाट घरपरिवारको खर्च पनि चलाउँदै आएका छन्। परम्परागत पेसालाई व्यावसायिक बनाउँदै लगेका उनी भैँसीपालनबाट दूध र दही बिक्री गरेर पछिल्लो समय रु एक लाख ५० हजारसम्म मासिक आम्दानी गर्दै आएका छन्।

साना–ठूला गरेर ७२ भैँसीपालन गरेका उनले दूध र दही बिक्री गरेर २३ सदस्य परिवारको खर्च जुटाउनका साथै बचत गरेर जग्गासमेत किनेको बताए। उनले भने, ‘हाम्रो मुख्य आम्दानी नै भैँसीपालन हो, दूध, दही र घिउ बिक्री गरेर घरव्यवहार चलाउनेदेखि बचतसमेत गर्ने गरिरहेको छु।’ ती भैँसीमध्ये १७ भैँसीले दूध दिने र दैनिक करिब ६० देखि ७० लिटरसम्म दूध बिक्री गर्दै आएको उनी बताउँछन्।

उनका भाइ टेकबहादुर यादवले लमही बजारसम्म पुर्याएर दूध बिक्री गर्ने काम गर्दै आएका छन्। घरका अन्य सदस्यले पनि काममा साथ दिएको उनले बताए। विदेशमा अर्काको अधिनमा बसेर काम गर्नुभन्दा आफ्नै ठाउँमा घरपरिवारसँगै बसेर भैँसीपालन गर्दा राम्रो आम्दानीसँगै सन्तुष्ट रहेको उनको भनाइ छ। उनीसँग वैदेशिक रोजगारको समेत अनुभव छ।

उनले भने, ‘विदेशमा १२ घण्टा दैनिक काम गर्दा महिनामा रु ६०–७० हजारसम्म कमाई हुन्छ, त्यो कमाइमा विदेशमा बसिरहन मनले मानेन र एक वर्षमै फर्किएँ, भैँसी बढाएर पाल्दै आएको छु। आम्दानी पनि राम्रै भइरहेको छ।’ दूध बिक्री गरेर भएको आम्दानीको आधा रकम भैँसीका लागि दाना, घाँस र औषधिमा लाग्ने गरे पनि बाँकी रकम नाफा हुने गरेको उनी बताउँछन्।

गाउँमा सबैभन्दा धेरै भैँसीपालन गर्ने किसानका रूपमा रहेका यावदले लाखौँ खर्च गरेर विदेशमा काम गर्नुभन्दा आफ्नै ठाउँमा परिवारसँग बसेर पैसा कमाउन सकिने अरुलाई समेत सुझाव दिन्छन्। त्यसका लागि आफूमा आत्मविश्वास हुनुपर्ने उनी बताउँछन्। उनले भने, ‘विदेशमा दिनमा १२ घण्टासम्म काम गर्नेले आफ्नो ठाउँमा पनि त्यहीअनुसार मेहनत गर्न सके कमाई गर्न सकिन्छ।’

भैँसीपालनबाटै राम्रो आम्दानी गरिरहेका यादवले सरकारबाट अहिलेसम्म कुनै प्रकारको सहयोग प्राप्त नगरेको गुनासो गर्दै भने, ‘अहिलेसम्म जे–जति गरेको छु, सबै आफ्नै मेहनत र परिश्रमबाट गरेको छु। कतैबाट कुनै सहयोग लिएको छैन।’ कतैबाट सहयोग प्राप्त नभए पनि आफ्नै मेहनतले पुख्र्यौली पेसालाई व्यवस्थित गर्दै लग्ने सोचमा रहेको उनी बताउँछन्। रासस

प्रकाशित: १७ माघ २०८० ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App