काठमाडौं – बेलकोटगढी–३, नुवाकोटका सञ्जिव मुडभरीलाई स्वदेशमै मासिक २०–२५ हजार रुपैयाँ कमाउन कुनै गाह्रो थिएन।
त्यति मात्र होइन वायरिङ लगायत विद्युत्सम्बन्धी कामको सीप जानेका मुडभरीलाई कामको चाप थपिइरहन्थ्यो । तैपनि उनले स्वदेशको रोजगारीमा चित्त बुझाएनन् र, तीन महिनाअघि विदेश पस्ने सोच बनाए ।सोही सोचलाई कार्यान्वयन गर्दा यतिखेर उनी समस्यामा परेका छन् । वैदेशिक रोजगारीमा गए राम्रो कमाइ हुने भन्ने मेनपावरको प्रलोभनमा पर्दा उनले एक लाख ५० हजार रुपैयाँभन्दा बढी गुमाएका छन्।
तीन महिनादेखि उनी बेरोजगार छन् । ‘फुर्मासी खर्च गर्ने आम्दानी नभए पनि गुजारा गर्न समस्या थिएन,’ उनले भने, ‘घर व्यवहार चलाउन गाह्रो–गाह्रो परिरहेको बेला मेनपावरले विदेश गए ५०–६० हजार रुपैयाँ पारिश्रमिक पाइने प्रलोभन देखायो । सोही प्रलोभनले अहिले समस्यामा परेको छु ।’मुडभरीजस्ता तीन दर्जन युवा मेनपावरको प्रलोभनमा पर्दा उनीहरूले एकातिर लाखौं रकम गुमाएका छन् भने अर्कोतर्फ पीडा र तनाव दिने मेनपावरलाई कसरी कारबाही गर्ने भन्ने समस्यामा परेका छन्।
रोजगारी दिनै नसक्नै कम्पनीलाई कुवेतस्थित दूतावासका कर्मचारीले कसरी मागपत्रमा स्वीकृति दिए भन्नेसमेत छानबिन हुनुपर्ने पीडितको माग छ
राजधानीको एसआरके मेनपावरको आश्वासनमा परेर तीन महिनाअघि रोजगारीका लागि कुवेत पुगेका युवा त्यहाँ काम नपाएपछि स्वदेश फर्केका हुन् । कुवेत गएका युवाले त्यहाँ रोजगारी नै पाउन नसकेपछि घर फर्कनु परेको बताए ।उक्त मेनपावरसँग मासिक एक सय ३० कुवती दिनार (करिब ४४ हजार रुपैयाँ) पाउने सम्झौतामा कुवेत पुगेकामध्ये मंगलबारसम्म २० जना फर्केको पीडित हिमाली गाउँपालिका–७ का राजीबहादुर रोकायले बताए।
एसआरके मेनपावरले कुवेतको अलकुट कम्पनीका लागि क्लिनर र लेबरमा काम गर्ने भन्दै कामदार पठाए पनि कुवेतमा कम्पनी नै नदेखेर फर्केका अर्का पीडित राप्तीसोनारी–५ का चिजाइ पुनमगरले बताए । कुवेत पुगेपछि अलकुट कम्पनीका प्रतिनिधिले बस्ने ठाउँमा लगेर राखे पनि एक दिन काम नदिएको उनले बताए।
‘काम नपाएर अलपत्र परेको थाहा पाएपछि कुवेतमा रहेको सुदूर पश्चिम समाज लगायत केही संस्थाले खानेकुराको जोहो गरिदिए,’ बिजौरी–५, दाङका सुरेश चौधरीले भने, ‘काम माग्दा अलकुटका प्रतिनिधि असफल भए, उनीहरूले नै काम भेट्टाउन सकेनन् ।’ सम्झौता अनुसार कम्पनीमा काम नपाएपछि पीडितले कुवेतस्थित नेपाली दूतावास र काठमाडौंमा रहेको मेनपावरसँग सम्पर्क गर्दा कुनै वास्ता नगरेको पीडितको गुनासो छ।
‘दूतावासले पीडितलाई न्याय दिनु त कता हो कता त्यहाँ कार्यरत कर्मचारी ज्ञानबहादुर बुढामगरले उल्टै आधा तलब दिलाइन्छिौं भनेर अर्को प्रलोभन देखाए,’ मुडभरीले भने, ‘तीन महिनादेखि अलपत्र पर्दा चौतर्फी बढेको विरोधबाट मुक्ति पाउन कुवेतमा रहेका दलाल किरण लामाले जे भनेका थिए, दूतावासका कर्मचारीले त्यस्तै स्वर निकाले ।’ उनका अनुसार एसआरके मेनपावरलाई कामदारको माग ल्याउने किरण लामा हुन् । उनी गैर आवासीय नेपाली संघ कुवेतसँग सम्बन्धित पनि छन्।
पीडितले तीन महिनासम्म काम दिन नसक्ने अलकुट कम्पनीबारे सोधखोज गर्दा त्यो कम्पनी रोजगारदाता नै नभएको फेला परेको मुडभरीले बताए । ‘अलकुटले नेपालबाट मान्छे बोलाउने र कुवेतमा काम खोज्ने गर्दो रहेछ,’ उनले भने, ‘तर, हामी पुगेको तीन महिनासम्म उसले काम भेटेन, अनि हामी अलपत्र पर्यौं।’
रोजगारी दिनै नसक्ने कम्पनीलाई कुवेतस्थित दूतावासका कर्मचारीले कसरी मागपत्रमा स्वीकृति दिए भन्नेमा समेत छानबिन हुनुपर्ने पीडितको माग छ । अलकुटले तीन महिनासम्म काम दिन नसकेपछि एक सातामा २० जना घर फर्केको र अरु पनि फर्कने प्रयासमा रहेको मंगला–३, म्याग्दीका जंगबहादुर बिकले बताए।
घर फर्कन विभिन्न संस्थाको दबाबमा मेनपावरले टिकट पठाएको पीडितले बताए । वैदेशिक रोजगारीमा गई सहज गुजारा गर्ने अपेक्षा गरेका उनीहरुले तीन महिनासम्म बेरोजगार हुँदा सम्झौता अनुसारको पारिश्रमिक र क्षतिपूर्ति पाउने दाबी गर्दै वैदेशिक रोजगार विभागमा उजुरी गर्ने तयारी गरेका छन् । वैदेशिक रोजगार ऐनले मेनपावर र रोजगारदाताको कमजोरीका कारण कामदार समस्यामा परेको खण्डमा दाबी बिगोमा थप ५० प्रतिशत क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको छ।
तीन महिनासम्म कुवेतमा रहँदा एक दिन पनि काम नगरी स्वदेश फर्केका कामदारले मेनपावरलाई एक लाख १५ हजारदेखि एक लाख ४० हजार रुपैयाँसम्म बुझाउनु परेको बताए । मेनपावरले भने सबै कामदारलाई १० हजार रुपैयाँको रसिद दिएको छ । अलकुटको मागपत्रमा भने कामदारलाई निःशुल्क भिसा र निःशुल्क टिकटको साथै खाने, बस्ने सुविधा रहेको उल्लेख छ।
प्रकाशित: २३ फाल्गुन २०७४ ०२:२३ बुधबार