महेश्वर आचार्य
ललितपुर (ठूलादुर्लुङ) –ललितपुरको ठूला दुर्लुङ राजधानी काठमाडौंको केन्द्रबाट करिब ७० किलोमिटरको दूरीमा छ । किलोमिटरको मापनलाई मात्र आधार मान्ने हो भने दुर्लुङलाई सुगम मान्नुपर्ने हुन्छ।
तर, पाँच वर्षअघि बोटोको सञ्जाल नजोडिँदासम्म दुर्लुङ देशका अन्य दुर्गम ठाउँ सरह दुर्गम थियो । दक्षिणी भेगको प्युटारबाट आश्राङ र त्यहाँबाट ठूला दुर्लुङमा सडक सञ्जाल जोडिएको छ भने हालैमा गोटिखेलबाट चन्दनपुर र त्यहाँबाट ठूला दुर्लुङ हुँदै गिम्दीबाट आश्राङ पुग्ने बाटो जोडिएपछि सबै गाउँपालिकामा बाटो पुगेको हो।
‘अहिले बाटो बनेपछि मात्र केही सुविधा भएको हो,’ महांकाल गाउँपालिका वडा नं. ६ का अध्यक्ष रामकृष्ण आचार्यले भने, ‘नत्र त हामी दुर्गमको पनि दुर्गम सरह थियौं । बत्तीमुनिको अध्याँरोजस्तै ।’
समुद्री सतहदेखि पाँच सयदेखि झन्डै तीन हजार मिटरको उचाइमा रहेको ठूला दुर्लुङमा ठूलो समस्या भनेको खानेपानीकै हो।
पानीको अभाव त छँदै थियो भूकम्पले सबै घर ध्वस्त भएपछि बासको समस्या पनि थपियो । सबैजनाको पहिलो प्राथमिकता भनेको घर बनाउने नै भयो । ‘महांकाल गाउँपालिका वडा नम्बर ६ का सबै घर ध्वस्त भए,’ वडाध्यक्ष आचार्यले भने, ‘एउटै घर सद्धे भएनन् । सबै घर पूर्ण क्षतिको सूचीमा परे ।’ भूकम्पपछि तीन सय ४४ घरधूरी थिए भने हाल ४ सय भएको उनले बताए ।
कामदारको अभाव
अहिले ठूला दुर्लुङका सबैजना घर बनाउन व्यस्त छन् । सरकारले उपलब्ध गराउने राहत रकम लिनका लागि प्राविधकसँग सल्लाह र स्थलगत अवलोकन गराइ मापदण्डअनुसारको निर्माण गर्नका लािग दक्ष जनशक्ति आवश्यक पर्छ ।
त्यसको लागि वडाले स्थानीय ३० युवालाई वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)मार्फत डकर्मी तालिम दिइयो । अक्सफामको सहयोगमा विज्ञ इन्जिनियरद्वारा स्थानीय ३० युवालाई तालिम दिइएको एन्फोका फिल्ड कोअर्डिनेटर रक्कि तुलसीबाक्याले बताए । यसबाट स्थानीय युवा तथा युवतीले संरचना निर्माणको सीप हासिल गरेर निर्माणको काममा लागेको उनले बताए।
डकर्मी तालिम लिएका अधिकांश युवा घर बनाउने काममा खटिएका छन् । बाहिरबाट पनि कामदार आएका छन् । त्यति गर्दा पनि कामदारको अभाव देखिएको छ । ‘ठूला दुर्लुङमा मात्रै सयभन्दा बढी कामदार आइसकेका छन् तर हुँदा पनि कामदार अपुग छन्,’ ठूला दुलुङका स्वास्थ्य चौकीका अहेब विष्णुप्रसाद दुलाले भने।
चितवन, वीरगन्ज, कलैया, मकवानपुरलगायतका ठाउँबाट कामदार आएका दुलालले बताए । भूकम्पले स्वास्थ्य चौकी भत्किएपछि झन्डै तीन वर्षपछि नयाँ भवन बनेको हो । भवन बने पनि दक्षिणी पाखोमा सुरक्षा पर्खाल लगाउनु पर्ने काम बाँकी नै थियो । त्यो काम एन्फोको सहयोगमा हालै पूरा भएको उनले बताए ।
गाउँभरि दुईकोठे घर
सरकारले पुनर्निमाणको लागि भूकम्प प्रतिरोधि घर बनाउन १७ वटा नमुना स्वीकृत गरेको छ । तर गाउँभरि दुईकोठे घर मात्र बनिरहेका छन् । ‘कामदारहरूले आफ्नो सजिलोका लागि काम गर्दा यसो हुन गएको हो भने घर बनाउन चाहनेका लागि पनि यही मोडेल सहज भयो,’ एन्फोकी इन्जिनियर निशा श्रेष्ठले भनिन्, ‘एउटै मोडेलमा काम गर्दा कामदार, कर्मी सबैलाई सजिलो हुनेहुँदा जताततै दुई कोठे घर बनेका हुन्।’
‘सरकारले दिएको पैसाले भत्काउनै पुग्दैन । सबै परिवार गाउँमा बस्ने पनि होइन । सबैजना काम र लेखपढका लागि गर्न सरहतिरै छन् । यसले गर्दा सानो घर बनाउने, खर्च पनि जोगिने हुँदा जताततै दुई कोठे घर बनेका हन्,’ पर्यवेक्षक दीपक अधिकारीले बताए । उनले भने, ‘आफ्नो हिसाबले घर बनाउन दिएको भए मान्छेले आवश्यकताअनुसार घर बनाउँथे होलान् । तर किस्ता–किस्तामा पैसा लिनु पर्दा जसो गर्दा सजिलो हुन्छ त्यसै गर्ने नै भए ।’ उनले दुई प्रतिशत ब्याजमा सजिलै ऋण पाइन्छ भन्ने समाचारले पनि धेरैलाई अलमलमा पारेको बताए । ‘आखिर कतिले ऋण लिएर घर बनाए त ?’ उनले प्रश्न गरे ।
प्रकाशित: २३ फाल्गुन २०७४ ०१:४४ बुधबार