२६ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

इम्बोस्ड नम्बर प्लेट जडान सुस्त: ८ वर्षमा ७८ हजार जडान

यातायात व्यवस्था विभागले सवारीसाधनमा विवाद र अन्योलकाबिच आठ वर्षमा ७८ हजार थान इम्बोस्ड नम्बर प्लेट जडान गरेको छ।

विभागले इम्बोस्ड नम्बर प्लेटको ठेक्का सम्झौता गरेको आठ वर्षको अवधिमा मुस्किलले ७८ हजार थान इम्बोस्ड नम्बर प्लेट मात्रै जडान गरेको हो।

यातायात व्यवस्था विभाग र ठेकेदार कम्पनी डेकाटुर टाईगर आइटीबिच सन् २०१६ मे ३० मा भएको ठेक्का सम्झौता अनुसार २०८० मंसिर ११ गतेभित्रै २५ लाख सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने थियो। तर, सो अवधिमा इम्बोस्ड नम्बर प्लेट जडानको कार्य प्रभावित हुँदै आइरहेको छ। 

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले हालसम्म ७८ हजार थान इम्बोस्ड नम्बर प्लेट मात्रै जडान भएको बताए। ‘सुरुवाती ठेक्का सम्झौता अनुसार ५ वर्षभित्र २५ लाख सवारीसाधनमा इम्बोस्ट नम्बर प्लेट जडान गर्नुपर्ने थियो। तर, अहिलेसम्म ४ लाख १२ हजार ३ सय १८ थान इम्बोस्ड नम्बर प्लेट उत्पादन भएपनि जडान कार्य भने अपेक्षाकृति गतिमा हुन सकिरहेको छैन।’

ठेक्का सम्झौता अनुसार सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान कार्य प्रभावकारी ढंगले अघि नबढेसँगै २०८२ मंसिर ११ गतेसम्मको लागि म्याद थप गरिएको छ।

सुरुवाती चरणमा इम्बोस्ड नम्बर प्लेट अंग्रेजीमा राख्ने कि देव नागरिकमा लेख्ने भन्ने विवाद अदालतसम्म पुग्यो। अन्ततः अदालतले अंग्रेजी भाषामै लेख्न अनुमति दिएको थियो। अर्कोतर्फ प्रदेशको नामकरण समयमै नहुँदा पनि इम्बोस्ड जडानमा विभिन्न खालका उल्झन आइरहेका छन्।

प्रकाशित: ८ माघ २०८० ०९:२८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App