९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

रत्नमन्दिरः खोल्नलाई दवाव तर, पाहुना पठाउन बेवास्ता

पोखरा लेकसाइडको सुनसान रत्नमन्दिर। तस्बिरः सन्तोष पोखरेल/नागरिक

कहिले ‘स्टेट गेष्टहाउस’ (राज्य आवासगृह) त कहिले पाँचतारे होटल। अनि जैविक विविधता पार्क पनि। पर्यटकीय क्षेत्र लेकसाइडको फेवाताल किनारमा अग्लो पर्खालभित्र २४ सै घण्टा सेनाको पहरामा रहने रत्नमन्दिरभित्र यस्तै पुर्वाधार बनाउने धेरैपटक चर्चा भयो। विभिन्न व्यावसायिक समूहलाई भाडामा दिन लागिएको भन्दै स्थानीयले ब्यापक विरोध पनि जनाए।  

कहिले के त कहिले के पूर्वाधार बनाउने भन्ने विवादबीच गत जेठ १५ मा रत्नमन्दिर सर्वसाधारण नागरिकका लागि खुलेको थियो रत्नमन्दिर। रत्नमन्दिर खुलाउनका लागि पर्यटकीय क्षेत्र लेकसाइडका व्यावसायीले बारम्बार सरकारी निकायलाई झक्कझकाएका पनि थिए। ऐतिहासिक सम्पदा रत्नमन्दिर खुलेको खण्डमा पर्यटकका लागि घुम्ने नयाँ गन्तव्य थपिने व्यावसायीको तर्क थियो। व्यावसायीको पोखरा आएका पर्यटकको बसाई अवधिलाई बढाउनका लागि पनि सघाउने व्यावसायीले बताउँदै आएका थिए।  

व्यावसायीले जुन अर्थमा रत्नमन्दिर परिसर खुलाउन सरकारलाई दवाव दिएका थिए, त्यो रुपमा रत्नमन्दिरले पाहुना भने पाउन सकेको छैन। यतिसम्मकी मन्दिर परिसर सर्वसाधारणका लागि खुलेको आठ महिना बितिसकेपनि त्यो अनुसार पाहुना भित्रिएका छैनन। पोखरामा अंग्रेजी नयाँवर्षको फेरो पारेर पाँचदिने अवधिका लागि आयोजित पोखरा सडक महोत्सवमा कम्तिमा पाँचलाख आन्तरिक पाहुना आएको दावि व्यावसायीले नै गर्दै आएका छन्। त्यत्तिमात्र नभई अरुबेला पनि पोखरामा आन्तरिक पाहुनाको आगमन बढिरहेको व्यावसायीले नै बताउने गरेका छन्। तर, ती मध्ये न्यून संख्यामा मात्र पाहुना दरवार घुम्न रत्नमन्दिर छिरेको नेपाल ट्रस्टको तथ्यांकले देखाउँछ।  

नेपाल ट्रस्टका अनुसार जेठ १५ देखि पुस मसान्तसम्म रत्नमन्दिर प्रवेश गर्ने आन्तरिक पाहुनामा १८ हजार ४४ जना रहेका छन्। विदेशीको संख्या भने यो अवधिमा जम्मा ३ सय ४७ मात्र रहेको छ। ‘पोखरामा जुन आकारमा आन्तरिक र बाह्य पाहुना भित्रिन्छन, त्यसको अनुपातमा रत्नमन्दिर प्रवेश गर्ने पाहुनाको संख्या निकै नै कम हो,’ नेपाल ट्रस्ट कार्यालय पोखराका प्रमुख मीनप्रसाद लामिछाने भन्छन, ‘पोखरामा पाहुना भित्रिएको आकारको आधारमा यो संख्या कम्तिमा पनि एकलाख हुनुपर्ने हो। तर, न्यून संख्यामा मात्र पाहुना भित्रिएका छन।’  

उनका अनुसार पर्यटन व्यावसायीले जुन रुपमा पोखरामा आन्तरिक र बाह्य पाहुना भित्रिएको दावी गर्छन, त्यो आकारमा पाहुना भित्रिँदा रत्नमन्दिरले पक्कै पनि केही ठूलो संख्यामा पाहुना पाउनुपर्दथ्यो। पोखरामा भित्रिएका पाहुनाको आकार बढी हुँदा पनि रत्नमन्दिर प्रवेश गर्ने पाहुना कम हुनुमा रत्नमन्दिरबारे प्रचाप्रसार कम भएको हुनसक्ने उनले बताए। 

‘मूख्य दरवार खुलेकै छैन। खासमा सर्वसाधारणले रत्नमन्दिर परिसरको दरवार हेर्न चाहेका हुन,’ लामिछानेले भने, ‘धेरैलाई रत्नमन्दिर घुम्नलायक गन्तव्य हो भन्ने पनि थाहा छैन । हामीले पनि त्यो अनुसार प्रवद्र्धन गर्न सकेका छैनौं।’ गेटमै सेना बसेको हुनाले पनि धेरैले रत्नमन्दिरलाई आर्मी ब्यारेक ठानेकोले घुम्न जाने आँट नगरेको उनले बताए।

त्यसबाहेक पर्यटन व्यावसायीले रत्नमन्दिरलाई घुम्ने गन्तव्यको रुपमा समेट्न नसक्दा पनि प्रवद्र्धन अभावमा पाहुना नपाएको उनले बताए । ‘हिजोका दिनमा व्यावसायीकै दवावमा यो सम्पदा खुलेको हो। व्यावसायीले पोखरा आएका जो सुकै पाहुनालाई पनि घुम्न लायक गन्तव्यको रुपमा रत्नमन्दिरलाई समेट्ने हो भने पाहुना बढ्थे,’ उनले भने, ‘तर, व्यावसायीले पाहुनाको घुम्ने प्याकेजमा यसलाई समेट्न सकेनन्।’ घुम्नलायक गन्तव्य भनेर भनिदिने हो भने पोखरा भित्रिएका धेरै पाहुना पक्कै पनि रत्नमन्दिर प्रवेश गर्ने उनले बताए। रत्नमन्दिर परिसर यतिसम्म वेवास्ता गरिएको छ की केही महिना अघि छेकबार गरेको पर्खाल लडेको भएपनि त्यहाँ अर्काे पर्खाल बनाइएको छैन। फ्लेक्सबोर्डले छेकेर राखिएको छ।

व्यावसायीले पनि रत्नमन्दिरको प्रवद्र्धनमा पर्यटन क्षेत्रले उत्तिसारो चाँसो ननिदएको बताउँछन्। ‘कसैले सोधिहाले भने रत्नमन्दिर पनि खुला छ है भनेर भन्छन, तर, आफैले पाहुनालाई घुम्न जाउ भनेर भन्दैनन,’ एकजना व्यावसायीले भने, ‘पोखराको घुम्नलायक गन्तव्यभित्र रत्नमन्दिर समेटेर पाहुना पठाउने गरि खासै कसैले चाँसो दिएका छैनन।’ उनका अनुसार रत्नमन्दिर घुम्नलायक गन्तव्य भनेर कतै पनि पर्चा पम्प्लेटमा उल्लेख पनि गरिएको छैन। ‘हिजो रत्नमन्दिर खुलाउनुपर्छ भनेर दवाव दिने व्यावसायीले आज त्यही रुपमा उपयोग गर्न सकेको भए पक्कै पनि रत्नमन्दिर छिर्ने पाहुना बढ्थे। पर्यटकको बसाई अवधि पनि लम्बिन सक्थ्यो,’ उनले भने, ‘तर, त्यो भनिदिने कोही छैनन।’

पोखरा पर्यटन परिषद् (पिटिसी) का अध्यक्ष पोमनारायण श्रेष्ठ पनि रत्नमन्दिर बारे उचित प्रचार नपुगेको स्वीकार्छन । ‘हिजो व्यावसायीकै दवावमा रत्नमन्दिर खुलेको हो। तर, पोखरामा भित्रिएको पाहुनाको आधारमा निकै नै कम संख्यामा मात्र रत्नमन्दिर छिरेका छन। यस्तो हुनुमा प्रचारप्रसार कमी भएर हो। पोखरामा भित्रिएका पाहुनाको बसाई अवधि बढाउन सघाउने अपेक्षाले खुलेको सम्पदा अहिले सुनसान बनेको छ,’ श्रेष्ठले भने, ‘यसलाई बढी भन्दा बढी प्रचार प्रसार गरेर पाहुना जाने र टहल्ने माहोल बनाउनुपर्छ । व्यावसायीले पनि त्यसमा साथ दिनेछन। अहिले भन्दा अझै बढी प्रचार गर्न व्यावसायी तया छन।’  

लेकसाइडमा रहेको रत्नमन्दिर नेपाल ट्रस्ट अन्तर्गत पर्छ। विसं २०१५ सालमा तत्कालिन राजा महेन्द्रले रानी रत्नको नाममा यो मन्दिर निर्माण गरिदिएका थिए। राजा विरेन्द्र सहित राजपरिवारका सदस्यको निधनपछि यो मन्दिर २०६७ मंसिर २० गते नेपाल ट्रस्टको नाममा आएको थियो। १७४ रोपनी क्षेत्रफलमा अवस्थित रत्नमन्दिर परिसरभित्र ऐतिहासिक रत्नमन्दिर दरवार लगायत तालघर, बालबगैंचा गरि सानाठुला १० वटा भवन रहेका छन्। दरवारभित्र बैठक कक्ष, राजारानीको शयन कक्ष, शाही नातेदारले प्रयोग गर्ने शयनकक्ष, डाइनिङ सहित ११ वटा कोठा छन्।  

प्रकाशित: ७ माघ २०८० ०८:४३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App