६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

गति लिन नसकेको नारायणघाट-बुटबल सडक

सरकारले पाँच वर्षअघि दातृनिकाय एसियाली विकास बैंक (एडिबी) सँग सहुलियत ऋण लिएर अघि बढाएको नारायणघाट-बुटबल सडक खण्ड स्तरोन्नतिको कामले अपेक्षाकृत गति लिन सकेको छैन।

आयोजना निर्माण सुरु भएको पाँच वर्ष बितिसक्दा पनि आयोजनाको भौतिक प्रगति ४३ प्रतिशतमा मात्रै सीमित छ। ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्ने गरी अघि बढाइएको सडकको समष्टिगत भौतिक प्रगति ४३ प्रतिशतमा मात्रै सीमित छ।

एडिबीसँग ऋण लिएर बुटबल–नारायणगढ ११३ किलोमिटर सडक स्तरोन्नतिको कार्य अघि बढाइएको भए पनि उत्साहजनक प्रगति भएको भने देखिन्न।

२०७५(७६ सालमा ठेक्का सम्झौता भएको यो आयोजना ४२ महिनाभित्रै निर्माण सम्पन्न गर्नुपर्ने थियो। आयोजनाको म्याद दुई पटक थप गर्दा पनि प्रगति भने उत्साहजनक देखिएको छैन।

भौतिक पूर्वाधार तथा यातायात सचिव केशवकुमार शर्माले चिनियाँ ठेकेदार कम्पनीसँग पर्याप्त मात्रामा क्यासफ्लो नभएकाले पनि आयोजना निर्माणले गति लिन नसकेको बताए।

‘निर्माण कम्पनीसँग पर्याप्त मात्रामा पैसा नभएकाले पनि आयोजना निर्माण कार्यले गति लिन सकेको छैन,’ उनले भने, ‘पाँच वर्षअघि चिनियाँ कम्पनीले अनुमानित लागतभन्दा १७ प्रतिशत कम रकममा कबोल गरे पनि मूल्यवृद्धि बढेसँगै अहिले आयोजनाको खर्च बढ्दै आइरहेको छ।’ सचिव शर्माले स्थानीय स्तरमा निर्माण सामग्री प्राप्त गर्न नसक्दा पनि आयोजना निर्माणको काम प्रभावित हुँदै आइरहेको बताए।

आयोजना निर्देशनालय (एडिबी)ले पछिल्लो समय सडक स्तरोन्नतिको कामले गति लिन थालेको जनाएको छ। सुरुवाती ठेक्का सम्झौताअनुसार यो सडक खण्ड २०७९ साउन २२ गतेभित्र सम्पन्न हुनुपर्ने थियो।

आयोजनाको पहिलो चरणको म्याद २०८० साउन २२ गतेसम्म थप गरिएको थियो। सो समयमा पनि आयोजना निर्माणको काम सम्पन्न नभएपछि दोस्रो पटक आयोजनाको म्याद २०२४ को जुलाई २३ तारिखसम्म थप गरिएको छ।

आयोजना निर्देशनालय (एडीबी) का निर्देशक चुडाराज ढकालले नारायणघाट(बुटबल सडक खण्डको ४३ प्रतिशत काम सकिएको बताए। ‘नारायणघाट(बुटबल सडकखण्डमध्ये दुई लेनको सडक ४० किलोमिटर कालोपत्रे भइसकेको छ,’ उनले भने, ‘६४ वटा पुलमध्ये ३८ वटा पुल निर्माण भइसकेको छ।’

निर्देशनालयका अनुसार २९५ वटा कल्भर्ट र ४८ किलोमिटर सडकको बेस तयार भइसकेको छ। त्यसैगरी २०.४१ किलोमिटर सडकको थप सबबेस पनि तयार भइसकेको जनाएको छ। निर्देशनालयका अनुसार ६० किलोमिटर ड्रेनसमेत गरी ४३ प्रतिशत भएको छ।

आयोजना निर्देशक ढकालले निर्माण व्यवसायीले आगामी १५ महिनाभित्रै काम सम्पन्न गर्ने प्रतिवद्धतासहित सडक स्तरोन्नतिको काम गर्दै आइरहेको बताए। ‘निर्देशनालयको बारम्बार तोकेतापछि ठेकेदार कम्पनीले विस्तारै कामको रफ्तार बढाउँदै आइरहेको छ,’ उनले भने, ‘पछिल्लो समय आयोजना निर्माणका अधिकांश समस्या समाधान भएकाले पनि सडक स्तरोन्नतिको कामले गति लिएको हो।’

सरकारले एडिबीसँग ३२ वर्षका लागि १.५ प्रतिशत ब्याजदरमा ऋण लिएर यो सडक निर्माण अघि बढाएको हो। सडक निर्माण पनि अस्तव्यस्त छ। यो आयोजनाले चिनियाँ ठेकेदार कम्पनी चाइना स्टेट इन्जिनियरिङ कर्पोरेसन र नेपाली आयोजना व्यवस्थापकको कमजोरीकै कारण गति लिन नसकेको हो।

गत वर्ष बुटबल-नारायगढ सडक योजना कार्यालयले ठेकेदार कम्पनीसँग ठेक्का किन नतोड्ने भन्दै दुई पटक स्पष्टीकरण सोधे पनि ठेक्का रद्द गर्न सकेन। यो ११३ किलोमिटर सडक स्तरोन्नति गर्ने आयोजना हो।

नारायणगढ–बुटवल सडकको पूर्वीखण्डमा ६४.४२५ किलोमिटर पश्चिमखण्डमा ४८.५३५ किलोमिटर सडक पर्छ। यसलाई दुई खण्डमा विभाजन गरी स्तरोन्नति कार्य अघि बढाइएको छ ।

आयोजनाको लागत १६ अर्ब ९९ करोड रूपैयाँ हो। निर्देशनालयका अनुसार पूर्वीखण्डको भौतिक प्रगति ४४.६२ प्रतिशत र वित्तीय प्रगति ३४.३९ प्रतिशत रहेको छ। त्यसैगरी पश्चिम खण्डको भौतिक प्रगति ४०.२८ प्रतिशत र वित्तीय प्रगति २८.२० प्रतिशत रहेको छ।

पूर्व सचिव शर्माले ठेक्का व्यवस्थापनमा आइपर्ने विभिन्न खालका समस्याले पनि आयोजना तोकिएको समयभित्रै नबन्ने बताए। ‘नेपालका विभिन्न खालका पूर्वाधार परियोजना व्यवस्थापनमा विभिन्न खालका जटिलता कायमै छन्,’ उनले भने, ‘ठेकेदार कम्पनी र अन्य निकायबीचको समन्वयको अभावका कारणले पनि आयोजना निर्माणमा समस्या देखिरहेको छ।’

भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले सडक निर्माणमा देखिएका विभिन्न खालका जटिलतालाई समन्वय गर्दै अघि बढाउँदै आइरहेको बताए। ‘सडक निर्माणमा अन्तर सरकारी निकायबीच समन्वयको चर्काे अभाव देखिएको छ,’ उनले भने, ‘पछिल्लो समय सरकारले अन्तरसरकारी निकायबीचको समन्वयलाई निकै ध्यान दिँदै आइरहेको छ।’

मन्त्री ज्वालाले गत चैत यता नारायणघाट–बुटबल सडक खण्डको प्रगति उत्साहजनक नभए पनि सुधारोन्मुख भएको बताए। ‘नारायणघाट–बुटबल सडक खण्डको प्रगति उत्साहजनक छैन,’ उनले भने, ‘प्रगति नै नभएको भन्ने पनि होइन।’

सडक विभागका महानिर्देशक सुशिलबाबु ढकालले निर्माण सामग्रीको उपलब्धता समयमै नहुँदा पनि आयोजना निर्माणको काम प्रभावित हुँदै आइरहेको बताए ।

प्रकाशित: २७ पुस २०८० ०१:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App