२७ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

भारतबाट अन्तरिक्ष यात्रा गर्दै नेपाली ‘मुनाल’

सरकारी विद्यालयका विद्यार्थीले अवसर मात्र पाउनुपर्छ, गरेर देखाउन सक्ने ल्याकत राख्छन् भन्ने मुनाल स्याटेलाइटको निर्माणले प्रमाणित गरेको छ।

वास्तवमा भन्ने हो भने सार्वजनिक विद्यालयका विद्यार्थी आफैं मिहिनेत गरी अध्ययन अनुसन्धानबाट धेरै कुरा सिकेका हुन्छन्। यही कारण भारतले पनि नेपाली विद्यार्थीले निर्माण गरेको मुनाल स्याटेलाइट भारतमै प्रक्षेपण गर्न अनुमति दिएको छ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) को सहयोगमा कक्षा १२ का विज्ञान तथा प्रविधि र व्यवस्थापनका विद्यार्थीले ‘मुनाल हाइस्कुल स्याटेलाइट’ निर्माण गरेका छन्। सरकारी र गुठीमा सञ्चालित विद्यालयमा अध्ययन गरेका यी विद्यार्थीले निर्माण गरेको स्याटेलाइटको प्रक्षेपण भारतको ‘इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)’ ले भारतमै गर्ने सहमति भएको नास्टका सचिव डा. रवीन्द्र ढकालले बताए।

उनले अवसर पाए नेपालका सार्वजनिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले आफूलाई हरेक क्षेत्रमा अब्बल सावित गर्नसक्ने क्षमता राखेको अनुभव सुनाए। उनी पनि मुनाल स्याटेलाइट बनाउने टिममा रहेका छन्।

‘हालै नेपाल भ्रमणमा आएका भारतीय विदेशमन्त्री एस जयशंकरले नास्ट र इसरोबीच भएको सहमतिलाई हस्ताक्षर गरी मुनाल भारतमा प्रक्षेपण गर्ने औपचारिक सहमति दिनुभएको हो,’ सचिव ढकालले भने, ‘मुनाल स्याटेलाइट आधुनिक उपकरणहरू प्रयोग गरी कक्षा १२ का विद्यार्थीले बनाएको पहिलो स्याटेलाइट हो, जसको आगामी मार्च अन्तिममा भारतबाटै प्रक्षेपण हुने तय भएको छ।’

डा. ढकालले भने, ‘यसमा जडान गरिएका परिष्कृत उपकरण र क्यामराले पृथ्वीका विभिन्न कोणका तस्बिर संकलन गरी पठाउनेछ। पृथ्वीमा हुने प्राकृतिक प्रकोप, वातावरण परिवर्तन, सहरीकरण समस्यालगायत पृथ्वीमा हुने र भइरहने समस्याबारे पत्ता लगाउन र सूचना संकलन गर्न मुनाल स्याटेलाइट निर्माण गरिएको हो।’

मुनाल स्याटेलाइट निर्माणले नेपालमा पनि युवा वैज्ञानिक रहेको उदाहरण दिएको अन्तरिक्ष प्रतिष्ठानमा कार्यरत वैज्ञानिक डा. आभाष मास्केले बताए।

‘मुनाल स्याटेलाइट सरकारी विद्यालयका विद्यार्थीले निर्माण गरेर स्वदेशमै पनि विज्ञान तथा प्रविधि क्षेत्रमा युवाको भविष्य उज्ज्वल रहेको प्रष्ट भएको छ,’ डा. मास्केले भने, ‘हाइस्कुलका विद्यार्थी आफूले अध्ययन गरेका विषय व्यवहारमा उतार्न निकै छिटो सिक्ने रहेछन्। नेपालले पनि विद्यालय स्तरमा स्याटेलाइट बनाएर अघि बढेको प्रमाण हो यो।’ 

मुनालका प्रोजेक्ट म्यानेजर जनार्दन सिलवालले हाइस्कुल स्तरका विद्यार्थीले पढ्दापढ्दै स्याटेलाइट बनाउँदा पूर्ण रूपमा व्यावहारिक ज्ञान प्राप्त गर्नु जीवनको ठूलो उपलब्धि रहेको जनाए। ‘देशबाहिर नेपाली इन्जिनियरले त स्याटेलाइट बनाए तर स्कुल स्तरले नेपालमै बनाएको मुनाल पहिलो नेपाली स्याटेलाइट हो,’ उनले भने।

अवसर र व्यावहारिक ज्ञान विद्यार्थीले पाएको उनले जनाए। मुनाल स्याटेलाइट बनाउन सहभागी विद्यार्थी कान्छाराम स्यानछान, राजिन रञ्जित, सुभेश गुरुङ, सुशान्त ढकाल, समृद्धि शर्मा, श्रेया प्रधान श्रेष्ठ, सिद्धार्थ कर्मचार्य, संगीता मैनाली र श्रेया तामाङ रहेका छन्।

प्रकाशित: २५ पुस २०८० ०१:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App