१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
अर्थ

शुक्रबारदेखि कृषि यान्त्रीकीकरण प्रदर्शनी

पोखरामा हुने प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनीबारे जानकारी गराउँदै आयोजक। तस्बिरः सन्देश÷नागरिक

प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी शुक्रबार देखि पोखरामा हुने भएको छ। पुस २२ गतेसम्म हुने प्रदर्शनी पोखरा प्रदर्शनी केन्द्र नयाँबजारमा हुनेछ।  

नेपाल कृषि मेसिनरी व्यवसायी संघ, गण्डकी प्रदेश कृषि विकास निर्देशनालय, पोखरा महानगरपालिका, नेपाल सरकार कृषि पूर्वाधार विकास तथा कृषि यान्त्रीकीकरण प्रवद्र्धन केन्द्रको संयुक्त आयोजनामा पोखरामा पुस २० गतेदेखि प्रथम प्रादेशिक कृषि यान्त्रीकीकरण प्रदर्शनी आयोजना गरेको आयोजित पत्रकार भेटघाटमा जानकारी दिइएको हो ।

संघको आयोजनामा यसअघि पाचौं श्रृंखलासम्म राष्ट्रिय कृषि यान्त्रीकीकरण प्रदर्शनी भइसकेका छन्। संघका अनुसार २०७० सालमा चितवनको नारायणगढबाट शुरु भएको प्रदर्शनी कोहलपुर (दोश्रो), काठमाडौं (तेश्रो), धरान (चौथो) र चितवनको भरतपुरमा पाचौं सम्पन्न भइसकेको हो।

कृषि सम्बन्धी आधुनिक प्रविधि, कृषि औजार, उपकरण, यन्त्र तथा सेवाहरुको जानकारी गराउँदै बिक्री वितरण गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको आयोजक नेपाल कृषि मेसिनरी व्यवसायी संघका अध्यक्ष कृष्ण शर्माले जानकारी दिए। ‘प्रदर्शनीमा कृषि औजार, उपकर, यन्त्र र सेवाबारे जानकारी गराएर कृषकलाई यसबारे आकर्षितगर्छौ,’ उनले भने, ‘यसले कृषिमा व्यवसायीकरण गर्न मद्दत पु¥याउँछ भन्ने हामीलाई विश्वास छ।’

प्रदर्शनीमा विभिन्न कृषि औजार, उपकरण, यन्त्र र सेवाका ६० भन्दा बढी स्टल रहनेछन्। जसमा नेपालसहित १० देशका १ हजार भन्दा बढी कृषि यन्त्र, औजार, उपकरण तथा प्रविधीहरुको प्रदर्शनी हुने संघका अध्यक्ष शर्माले बताए। उनका अनुसार भारत, चीन, ईण्डोनेसिया, जापान लगायतका देशहरुको औजार तथा उपकरणहरु प्रदर्शनीमा राखिनेछन्। प्रदर्शनी स्थलमा मेड ईन नेपालको स्टल छुट्टै रहने उनले बताए।

प्रदर्शनीको अवसरमा कृषि यान्त्रीकीकरण प्रवद्र्धन सम्बन्धी गोष्ठी तथा सेमिनार, रैथाने बालीहरुको परिकार प्रदर्शन तथा कृषि जैविक विविधता संरक्षण सम्बन्धी प्रदर्शनी, रैथाने बाली एवम् कृषि जैविविधता संरक्षण सम्बन्धी छलफल तथा अन्तरक्रियासमेत हुने अध्यक्ष शर्माले जानकारी दिए।

प्रदर्शनीको ४० जिल्लाका ३० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको संघको भनाई छ। प्रदर्शनीको निःशुल्क अवलोकन गर्न पाउने उनले बताए। प्रदर्शनी कृष, कृषिकर्मी, नीति निर्माता, उद्यमी, व्यवसायी, सरकारी एवम् गैरसरकारी संस्थाहरु, कृषक समूह, कृषि सहकारी संस्था, विश्वविद्यालयका विद्यार्थी तथा प्राध्यापकहरु, सोधकर्ताहरु, कृषि वैज्ञानिक, शिक्षक, विद्यार्थीलगायतले अवलोकन गर्ने उनको भनाई छ।

गण्डकी यान्त्रिकीकरणको हिसामा अन्य प्रदेश भन्दा पछाडि रहेको अध्यक्ष शर्माले जानकारी दिए। ‘यान्त्रीकीकरणमा गण्डकी धेरै पछाडि छ,’ उनले भने, ‘तराईमा ९० प्रतिशत यान्त्रीकरण मान्ने हो भने गण्डकीमा जम्मा ५ देखि १० प्रतिशतसम्मपनि मुस्किलले छ।’ यसो हुनुको कारण गण्डकीको भुगोल भएको उनको भनाई छ। तराईमा समथर जमिन भएकाले यान्त्रिकीकरण गर्न सजिलो भएको तर गण्डकी भौगोलिक जटिलताका कारण चाहेरपनि गर्न अप्ठेरो रहेको उनले प्रष्ट्याए।

प्रदर्शनीले प्रविधी प्रयोगमा नेपालीलाई अभ्यस्त बनाउन सघाउने कृषि विकास निर्देशनालय गण्डकी प्रदेशका महानिर्देशक वासुदेव रेग्मीले बताए। ‘गण्डकीमा हामीले चक्लाबन्दी शुरु गरेका छौं,’ उनले भने, ‘यान्त्रीकीकरणका लागि तयार भएको गण्डकीका लागि यो अवसर हो। पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले वास्तविक किसानका लागि प्रदर्शनी उपयोगी हुने विश्वास व्यक्त गरे।

प्रकाशित: १८ पुस २०८० ०९:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App