१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

साहारा सहकारीको बदमासीको कथा

भरतपुर महानगरपालिका–९ स्थित शरदपुरका पूर्णभद्र कँडेल हार्डवेयर व्यवसायी हुन्। उनलाई विभिन्न सहकारीले सदस्य बन्न ताकेता गरिरहन्थे। पटकपटक अनुरोध भएपछि चार वर्षघि उनी साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको सदस्य बने। उनले विदेशबाट आफन्तले पठाएको पैसा र पोखराको जग्गा बेचेर आएको साढे तीन करोड रूपैयाँ त्यही सहकारीमा राखे। अहिले उनले न पैसा झिक्न पाएका छन् न सहकारीमा सुरक्षित नै छ भनेर ढुक्क हुने अवस्था छ। मधुमेहका बिरामीसमेत रहेका उनलाई अहिले औषधि खाने पैसा जुटाउनसमेत हम्मेहम्मे छ। ‘म एउटा दीर्घ रोगी पनि हो। मासिक ४० हजार रूपैयाँको औषधि खानुपर्छ,’ उनले भने, ‘घर बनाउन लागेको पैसा हिनामिना पारिदिए।’

चितवन खैरहनीका अर्जुन पौडेलको पीडा पनि उस्तै छ। औषधि कम्पनीमा काम गर्दै आएका पौडेलले पनि साहारा चितवन बहुउद्देश्यीय सहकारीबाट पटकपटक पैसा वचन गर्न अनुरोध भएपछि सापटी मागेर आठ लाख रूपैयाँ राखे। ‘सहकारीमा काम गर्ने भाइले अप्ठेरोमा परें, पैसा राखिदिनुपर्‍यो भन्यो’, पौडेलले भने, ‘सापटी मागेर सहकारीमा राखें, अहिले फिर्ता गर्न सकेको छैन, सहकारीले पनि दिँदैन।’

पौडेल र कँडेल मात्र होइन, चितवनका करिब आठ हजारजनाको बचत रकम हिनामिना गरी साहारा चितवन बहुउद्देश्यी सहकारी संस्था लिमिटेडका सञ्चालक फरार भएका छन्। ठेलामा चटपटे, दुध बेचेर बचत गरेकादेखि विदेश गएर श्रम बेचेर कमाएको पैसा बचत गरेकासम्म अहिले बिचल्लीमा छन्। सहकारीमा राखेको पैसा डुबेपछि कतिपय पतिपत्नीबीचको सम्बन्धमा धाजा फाटेको छ। ‘श्रीमान्ले दुवई गएर कमाएको २२ लाख रूपैयाँ सहकारीमा राखेकी थिएँं। अहिले श्रीमान्ले पैसा माग्नुहुन्छ, मसँग छैन,’ भरतपुर–९ की कमलादेवी कँडेलले भनिन्, ‘अहिले छोराछोरीको पढाइ खर्च तिर्न सकिएको छैन।’ पैसा लिन सहकारीका म्यानेजर नै घरमा आएको उनले बताइन्। ‘ब्याजको प्रलोभन देखाएर बचत गर्नुहोस् भन्दै टाँडीदेखि म्यानेजर आफैं आउनुभयो,’ उनले भनिन्, ‘मेरो घडेरी बेचेर भए पनि पैसा दिन्छु भन्नुभएको थियो, अहिले फोनसमेत उठाउनु हुन्न।’  

अर्घखाँचीका विनोद आचार्यको पनि २५ लाख रूपैयाँ सोही सहकारीमा फसेको छ। भरतपुर–१०, सप्तगण्डकी चोकमा एप्रोन हाउस सञ्चालन गरेका उनले अहिले घरभाडा तिर्न ऋण लिनुपरेको छ। ‘अरूलाई दिन भनेर राखेको पैसा सहकारीका मान्छे आएर कर गरेपछि दिँए। अहिले सामान थप्न पनि पाएको छैन। सामान नभएपछि व्यापार हुने कुरा भएन,’ उनले भने ‘आफूले सटर भाडा तिर्न सकेको छैन।’

चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका सञ्चालक गितेन्द्रबहादुर राई (जिबी) बचतकर्ताको रकम हिनामिना गरी फरार भएका छन्। उनीमाथि बचतकर्ताको ८५ करोड रूपैयाँ हिनामिना गरेको आरोप छ। उक्त सहकारीबाट राईसमेत संलग्न अर्को संस्थालाई ४१ करोड रूपैयाँ बिनाधितो दिएको जिल्ला प्रहरी कार्यालय चितवनले प्राप्त गरेको विवरणमा उल्लेख छ। उनी स्वयंको नाममा समेत एक करोड ७३ लाख चार हजार ६९१ रूपैयाँ बिनाधितो झिकेको देखिन्छ। त्यस्तै राईसमेत संलग्न जिबी ग्रुप अफ कम्पनीले एक करोड ४० लाख, नेचर हर्ब इन्टरनेसनल कम्पनीले नौ करोड ३८ लाख ८३ हजार र नेचर वेस्ट कम्पनीले ५ करोड ३१ लाख रूपैयाँ सहकारीबाट लगेको देखिन्छ।  

यसअघि रवि लामिछाने आबद्ध गोरखा मिडिया नेटवर्कले पनि उक्त सहकारीबाट ११ करोड ९५ लाख ८० हजार रूपैयाँ बिनाधितो ऋण लगेको देखिन्छ। त्यस्तै रिपिङ उड रेड स्टेटले १० करोड २८ हजार रूपैयाँ ऋण लगेको छ।

चितवनमा नारायणगढ, टाँडी, पर्सामा उक्त सहकारीका कार्यालय छन्। पैसा डुबेपछि बचतकर्ताले २०७९ चैतमा संघर्ष समिति बनाएका थिए। संघर्ष समितिका संयोजक शालिकराम दुवाडी वडाध्यक्षदेखि गृहमन्त्रीलाई भेटेर अपिल गर्दासमेत बचतकर्ताले आफ्नो रकम पाउन नसकेको बताए। उनका अनुसार साहाराले दिएको ४५ करोड रूपैयाँ ऋण उठ्न बाँकी छ। त्यसमध्ये ४१ करोड रूपैयाँ जिबि राईसमेत संलग्न कम्पनीले लगेको छ। अघिल्लो साधारणसभामा ८५ करोड रूपैयाँ ऋण देखिएको संयोजक दुवाडीले जानकारी दिए।  

संघर्ष समितिले चितवन–२ का सांसद रवि लामिछानेलाई समेत पटकपटक भेटेर बचत फिर्ताका लागि पहल गरिदिन आग्रह गरेका छन्। लामिछानेले आश्वासन दिएको तर पैसा नपाएको दुवाडीले बताए। ‘सहकारीकै विषयमा रास्वपा केन्द्रीय कार्यालय र लामिछाने भरतपुर विमानस्थलमा आउँदा पटकपटक भेटेर भनेका छौं,’ दुवाडीले भने, ‘उहाँले राष्ट्रियस्तरको समस्या हो, राज्य तहबाटै समाधान गर्छौं भन्नुहुन्छ।’  

बचतकर्ता संघर्ष समितिको अगुवाइमा वडा कार्यालय, भरतपुर महानगरपालिका, जिल्ला प्रशासन कार्यालय चितवन, सहकारी विभाग, गृहमन्त्रालयमा पटकपटक पुगेका छन्। अनुसन्धानका लागि सहकारी विभागले २०८० साउन २४ गते राष्ट्रिय अनुसन्धान कार्यालयलाई अनुसन्धान गर्न पत्र काटेको छ। साहारा सहकारीको पुँजी रोक्का राखेर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले काम गरिरहेको दुवाडीले जानकारी दिए। सिआइबीले अनुसन्धानका लागि चितवन प्रहरीलाई समेत पत्र पठाएको छ। चितवन प्रहरीमा अहिलेसम्म २५ करोड रूपैयाँ हाराहारीमा रकम डुबेको भन्दै बचतकर्ताको निवेदन परेको उनले बताए।  

जिल्ला अदालत चितवनले गत असोज २९ गते जिबी राईसहित ११ जनाविरुद्ध पक्राउ गर्न आदेश दिएको छ। जसमा सहकारीका सञ्चालक सदस्य, व्यवस्थापकसमेत छन्। राईले एक वर्षअघि हेटौंडामा आफ्नो नाममा रहेको करिब डेड अर्ब रूपैयाँबराबरको जग्गा चेनी क्यापिटललाई बेचेका छन्। अहिले सो जग्गा रोक्का छ। चितवनका बचतकर्ताले पैसा फिर्ताका लागि पहल गरिदिन सरकारसँग माग गरेका छन्।

प्रकाशित: ११ पुस २०८० ०१:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App