२२ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

निर्यात ६३ अर्ब रूपैयाँमा खुम्चियो

नेपालबाट विदेशी मुलुकमा हुँदै आएको निर्यात निरन्तर खुम्चिँदै आइरहेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशी मुलुकमा हुने निर्यात ६३ अर्ब २० करोड रूपैयाँमा सीमित भएको छ। जबकि गत आर्थिक वर्षको पाँच महिनामा नेपालबाट विदेशमा ६७ अर्ब ३० करोड रूपैयाँको सामान निर्यात भएको थियो।

गत आर्थिक वर्षको तुलनामा चालु आवको पाँच महिनाको निर्यात ६.०९ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा १३ अर्ब ५२ करोड रूपैयाँको वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको थियो। त्यसैगरी चालु आवको दोस्रो महिना अर्थात् भदौमा निर्यात बढेर २६ अर्ब ४४ करोड रूपैयाँ पुग्यो।

असोजमा निर्यात बढेर ४० अर्ब ८७ करोड रूपैयाँ पुग्यो। त्यसैगरी कात्तिकमा पनि निर्यात बढेर ५० अर्ब ५६ करोड रूपैयाँ पुगेको थियो। मंसिरमा भने निर्यात बढेर ६३ अर्ब २० करोड पुगेको छ।

व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका अनुसार नेपालबाट विदेशी मुलुकमा फलाम तथा फलामका उत्पादनहरू, यार्न, ऊनी गलैंचा, तयारी पोशाक, जुस, अलैंची, प्लाइउड, जुट तथा जुटका सामानहरू, उनी फेल्टका उत्पादन, पामतेल, चिया, पस्मिना सल, कुकुर बिरालाका आहारा, पिना, जडीबुटी, कपडा, चाउचाउ, सिमेन्ट क्लिंकर र तामा तथा तामाका उत्पादन प्रमुख रहेका छन्।

चालु आर्थिक वर्षको चार महिनामा फलाम त्यसबाट बनेका उत्पादनको निर्यातमा ९३.६ प्रतिशतले वृद्धि भई पाँच अर्ब ७० करोड पुग्न गएको छ।

चालु आवकै चार महिनामा यार्नको निर्यातमा ३.५ प्रतिशतले ह्रास आइ तीन अर्ब ८४ करोडमा सीमित भएको छ। ऊनी गलैंचाको निर्यातमा समीक्षा अवधिमा ५.८ प्रतिशतले ह्रास आइ तीन अर्ब ७० करोडमा झरेको छ।

तयारी पोसाकको निर्यातमा समीक्षा अवधिमा १२.० प्रतिशतले वृद्धि भई तीन अर्ब २२ करोड रूपैयाँ पुगेको छ।

चालु आवको चार महिनामा जुट तथा जुटका उत्पादनको निर्यात समीक्षा अवधिमा ४.६ प्रतिशतले ह्रास आइ दुई अर्ब ५१ करोड रूपैयाँमा सीमित भएको छ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको मंसिर मसान्तसम्ममा आयातको हिस्सा ९१.०४ प्रतिशत र निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ। चालु आवको पाँच महिनामा ६ खर्ब ४२ अर्ब रूपैयाँ बराबरको सामान आयात भएको छ।

गत आवको सोही अवधिमा भने ६ खर्ब ६४ अर्ब रूपैयाँको वस्तु तथा सामान आयात भएको थियो। गत आवको पाँच महिना र चालु आवको पाँच महिनाको तुलना गर्दा भने ३.३९ प्रतिशतले आयात घटेको छ। भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको पाँच महिनामा कुल वैदेशिक व्यापार सात खर्ब पाँच अर्ब रूपैयाँको भएको छ।

त्यसैगरी गत आवको सोही अवधिमा कुल वैदेशिक व्यापार सात खर्ब ३२ अर्ब रूपैयाँ रहेको थियो। गत आवको तुलनामा चालु आवको पाँच महिनाको अवधिमा कुल वैदेशिक व्यापार ३.६४ प्रतिशतले घटेको छ।

विभागका अनुसार चालु आवको पाँच महिनामा वैदेशिक व्यापार घाटा पाँच खर्ब ७९ अर्ब रूपैयाँमा सीमित भएको छ। गत आवको सोही अवधिमा वैदेशिक व्यापार घाटा भने पाँच खर्ब ९७ अर्ब रूपैयाँ थियो।

गत आवको पाँच महिनाको तुलनामा चालु आवको पाँच महिनामा वैदेशिक व्यापार घाटा ३.०९ प्रतिशतले घटेको छ। भन्सार विभागका अनुसार चालु आवको पाँच महिनाको अवधिमा पेट्रोलियम पदार्थको आयात एक खर्ब २८ अर्ब रूपैयाँ पुगेको छ।

नेपालले सबैभन्दा धेरै व्यापार घाटा पेट्रोलियम पदार्थको आयातमा बेहोर्दै आइरहेको छ। आव २०७९/८० मा भने अघिल्लो वर्षको तुलनामा आयात १६.८ प्रतिशतले खुम्चिएर १६ खर्ब ११ अर्बमा झरेको छ।

गत आवमा कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.८८ प्रतिशत र आयातको हिस्सा ९१.१२ प्रतिशत थियो। अघिल्लो आवमा भने निर्यातको हिस्सा ९.४३ प्रतिशत र आयातको हिस्सा ९०.५७ प्रतिशत थियो।

गत आवमा आयात मात्रै होइन, निर्यात पनि धेरै खस्किएको छ। आव २०७८÷७९ मा दुई खर्ब रूपैयाँको निर्यात भएको थियो।

सोही आवको तुलनामा गत आवमा भने निर्यातको हिस्सा २१.४४ प्रतिशतले खुम्चिएर एक खर्ब ५७ अर्ब रूपैयाँको नेपाली वस्तु तथा सामान निर्यात भएको हो। गत आवमा आयातको हिस्सा ९०.५७ प्रतिशत र निर्यातको हिस्सा ९.४७ प्रतिशत थियो।

आव २०७८/७९ मा विदेशी मुलुकहरूसँग नेपालको व्यापार घाटा १७ खर्ब २० अर्ब रूपैयाँ थियो। अघिल्लो आवको तुलनामा गत आवमा विदेशी मुलुकसँगको व्यापार घाटा पनि १५.४५ प्रतिशत अर्थात् दुई खर्ब ६६ अर्ब रूपैयाँले घटेको छ। गत आवमा विदेशी मुलुकसँगको व्यापार घाटा १४ खर्ब ५४ अर्ब रूपैयाँमा खुम्चिएको छ।

प्रकाशित: ९ पुस २०८० ०४:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App