२१ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

गरिखाने र ठगिखाने वर्ग छुट्टाएर काम गर्नुस् : गभर्नर अधिकारी

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले सदुपयोग हुने ठाउँमा लगानी गर्न बैंकहरूलाई निर्देशन दिएका छन्।

पश्चिम चितवनको पटिहानीमा शनिबार आयोजित नेपाल बैंकर्स संघको ३७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै गभर्नर अधिकारीले बैंकहरूलाई यस्तो निर्देशन दिएका हुन्।

‘अहिले बजारमा गरिखाने र ठगिखाने वर्ग छ’, अधिकारीले चितवनमा एक किसानले बैंकबाट ऋण लिएर राम्रो आम्दानी गरेको उदाहरण दिँदै भने, ‘गरिखाने र ठगीखानेलाई छुट्ट्याएर काम गरिदिए पुग्छ।’

उनले नयाँ उद्यमी बनाउन बैंकहरू लाग्नुपर्ने धारणा राखेका छन्। ‘बैंकले उद्यमी बन्न अवसर दियो भन्ने गर्व गर्ने खालका काम गर्नुस्’, उनले भने, ‘अर्काले बनाएको उद्यमीलाई तानतुन गर्नभन्दा आफैं उद्यमी बनाउनतर्फ लाग्नुपर्छ।’

उनले बैंकहरूमा देखिएको समस्या समाधानका लागि राष्ट्र बैंक लागिपरेको बताए। ‘युवालाई आकर्षित गर्ने खालको नीति ल्याउँदै छौं’, उनले भने, ‘छिटै लगानी गर्ने वातावरण बन्ने छ।’

बैंकका कर्मचारी देश छाडेर पलायन हुन थालेको घटनाप्रति समेत उनले चासो व्यक्त गरे। ‘बैंकहरूले शनिबार पनि कर्मचारीलाई लदाउने (जबर्जस्ती काम गर्न बाध्य पार्ने) मा काम गरे’ उनले भने, ‘काममा बढी घोटाइयो, तर कर्मचारीलाई पढाइएन। उनीहरूलाई तालिम कम भयो।’

नेपालमा डिजिटल भुक्तानीमा ठूलो सुधार भएको भन्दै दुई करोड १० लाख बैंक खाता मोबाइल बैंकिङमा आबद्ध रहेको उनले जानकारी दिए।

उनले नेपाली अर्थतन्त्र दक्षिण एसियामै माथिल्लो स्तरमा रहेको दाबी गरेका छन्। नेपालसँग १३ महिनाको आयात धान्ने विदेशी मुद्रा रहेको भन्दै यो स्तरको विदेशी विनिमय सञ्चिती यस क्षेत्रका कुनै पनि देशसँग नभएको उनले दाबी गरे।

संघका अध्यक्ष सुनिल केसीले बैंकहरूलाई लगानी गर्न समस्या भएको बताएका छन्। उद्योग पूर्णरूपमा सञ्चालन नहुँदा बैंकमा निक्षेप बढ्दै गएको बताए। तर हाल नेपाल राष्ट्र बैंकको राम्रो रेगुलेसनका कारण नेपालको बैंक बित्तीय क्षेत्र सुधारोन्मुख रहेको बताए।

प्रकाशित: ७ पुस २०८० १२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App