२२ असार २०८१ शनिबार
image/svg+xml
अर्थ

क्यान इन्फोटेकमा दर्शक सहभागिता उत्साहजनक

काठमाडौं – भृकुटीमण्डपमा जारी ‘सुबिसु क्यान इन्फोटेक–२०१८’ मा अवलोकनकर्ताको सहभागिता उत्साहजनक देखिएको छ ।

 प्रदर्शनीको चौथो दिन आइतबार मात्र ६० हजार दुई सय ६२ जनाले अवलोकन गरेका छन् । क्यान महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको मेलामा हालसम्म दुई लाख १९ हजार पाँच सय ९१ जनाले अवलोकन गरिसकेको जनाएको छ ।

‘प्रदर्शनीमा सहभागी बालकदेखि वृद्धसम्मको भिडले नेपालमा सूचना प्रविधिप्रति आमसर्वसाधारणको चासो झनै बढेको आभास गरेका छौं,’ महासंघका महासचिव रञ्जित पोदारले भने, ‘विगतका संस्करणमा युवाको प्रभुत्व रहने क्यान इन्फोटेकमा यो वर्ष वयस्कको पनि बाहुल्यता रहेको पाइयो । विशिष्ट व्यक्तिहरुले समेत मेलाको अवलोकन गरेका छन् ।’

आइतबार आपूर्ती मन्त्री जयन्त चन्द, सूचना प्रविधि विभागका महानिर्देशक लक्ष्मी यादव, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक मिङमार लामा, प्रहरी वरिष्ठ उपरीक्षक पुर्णचन्द्र जोशी, कलाकारद्वय पल शाह र आँचल शर्मालगायतले मेला अवलोकन गरेको उनले बताए ।

‘इन्फोटेकमा आज (आइतबार) बिजनेस डेको अवसरमा बिजनेस हाउसहरुले आफ्नो व्यापार प्रवद्र्धनका लागि विभिन्न डिलर र भेन्डरसँग प्रत्यक्षरुपमा बिजनेश डिल गरेका छन्,’ उनले भने, ‘नेपालस्थित अधिकृत बिक्रेताहरुले आफूसँग व्यापारिक सहकार्य गर्न चाहने कम्पनी वा समूहसँग व्यापारिक साझेदार गरेका छन् ।’ बिजेश डेले स्थानीयस्तरमा प्रविधिको बजार अझै विस्तार हुने अपेक्षा आयोजकको छ ।

मेलामा सहभागी कम्पनी तथा वितरकले नयाँ उत्पादन विशेष स्किमसहित सार्वजनिक गरेको महासचिव पोदारले बताए । व्यवसायीले ल्याएको नगद छुट, निःशुल्क जडान, फ्रिसर्भिस, उपहारलगायतका अफरबाट अवलोकनकर्ता लाभान्वित भएको उनको भनाइ छ ।

प्रकाशित: १५ माघ २०७४ ०२:०६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App