१८ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

सरकार साढे ८९ अर्ब घाटामा

अर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको अर्थतन्त्र लयमा फर्किन लागेको दाबी गरिरहँदा सरकारको आम्दानी र खर्च भने चिन्ताजनक देखिएको छ। चालु आर्थिक वर्ष २०८०-८१को पहिलो पाँच महिना मंसिरसम्ममा सरकारको आम्दानी ८९ अर्ब ५६ करोड रूपैयाँ कम भएको छ।

यसरी हेर्दा सरकार साढे ८९ अर्ब रूपैयाँ घाटामा देखिएको छ। महालेखा नियन्त्रक कार्यालयको दैनिक बजेटरी तुलनात्मक विश्लेषणअनुसार गत मंसिर मसान्तसम्ममा सरकारले गरेको आम्दानीभन्दा खर्च साढे ८९ अर्ब रूपैयाँले बढी रहेको छ।

सरकारले मंसिर मसान्तसम्ममा चार खर्ब ५२ अर्ब ९९ करोड रूपैयाँ खर्च गरेको छ भने राजस्व, वैदेशिक अनुदानसहित तीन खर्ब ६३ अर्ब ४२ करोड रूपैयाँ मात्र आम्दानी गरेको छ। यो अवधिमा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत आम्दानी भएको छ भने २५.८७ प्रतिशत खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ। सरकारले चालु आवका लागि कुल १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रूपैयाँको बजेट ल्याएको थियो।

सरकारको पुँजीगत खर्च चिन्ताजनक रहेको छ। यो अवधिमा जम्मा ११.९४ प्रतिशत मात्र खर्च भएको छ। चालु खर्च भने ३१.५३ प्रतिशत छ। सरकारले लक्ष्यभन्दा करिब एक खर्ब रूपैयाँ कम राजस्व संकलन गरेको छ।

यो वर्ष १३ खर्ब पाँच अर्ब ४७ करोड रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य लिएकोमा जम्मा तीन खर्ब ३७ अर्ब १८ करोड रूपैयाँ मात्र राजस्व संकलन भएको छ। राजस्वले सरकारी खर्च धान्न नसकेपछि सरकारले धमाधम ऋण उठाइरहेको छ।

चालुखर्च सन्तोषजनक रहे पनि पुँजीगत खर्च भने चिन्ताजनक रहेको छ। पुँजीगततर्फ ११.९४ प्रतिशत मात्र खर्च भएको छ। तीन खर्ब दुई अर्ब सात करोड ४४ लाख रूपैयाँ पुँजीगत बजेट रहेकोमा पाँच महिनाको अवधिमा ३६ अर्ब ६ करोड तीन लाख रूपैयाँ मात्र खर्च भएको छ।

यो वर्षका लागि चालु शीर्षकमा ११ खर्ब ४१ अर्ब ७८ करोड ४१ लाख रूपैयाँको बजेट ल्याएको छ। चालुतर्फ मंसिरसम्म तीन खर्ब ५९ अर्ब ९९ करोड ५७ लाख रूपैयाँ खर्च भएको छ।  

राजस्व संकलनको अवस्था पनि निकै कमजोर छ। यो वर्ष १४ खर्ब ७२ अर्ब ४८ करोड ४७ लाख रूपैयाँ बराबर राजस्व उठाउने सरकारी लक्ष्य छ। यो अवधिमा वार्षिक लक्ष्यको २६.०७ प्रतिशत रहेको छ। तीन खर्ब ८३ अर्ब ९२ करोड ४२ लाख रूपैयाँ मात्रै राजस्व संकलन भएको छ।

प्रकाशित: २ पुस २०८० ०१:५८ सोमबार

अर्थमन्त्री डा. प्रकाशशरण महत सरकारको आम्दानी र खर्च अर्थतन्त्र चिन्ताजनक