७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अर्थतन्त्रका बाह्य सूचक मजबुत

अर्थतन्त्रका आन्तरिक सूचक अपेक्षित रूपमा सुधार हुन नसकिरहेको अवस्थामा बाह्य सूचकमा भने उल्लेख्य सुधार आएको छ। रेमिटेन्स आप्रवाह ह्वात्तै बढेको छ। विदेशी मुद्राको सञ्चिति आयातलाई करिब १३ महिना धान्ने अवस्थामा पुगेको छ। घाटामा गएको चालु खाता बचतमा आएको छ। शोधनान्तर करिब डेढ खर्ब बचतमा छ।

नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार अर्थतन्त्रका बाह्य सूचक मजबुत देखिएका छन्। अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेको नेपाल राष्ट्र बैंक अनुसन्धान विभागका कार्यकारी निर्देशक डा. प्रकाशकुमार श्रेष्ठले बताए। ‘बाह्य सूचक उत्साहजन छन्,’ श्रेष्ठले भने, ‘यसले आन्तरिक अर्थतन्त्र सुधारमा टेवा पुग्छ।’

अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रका आन्तरिक सूचक सुधारोन्मुख भनेको दाबी गरेको भोलिपल्ट (बिहीबार) राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकले आशा जगाएको छ।

 ‘रेमिटेन्स आप्रवाहमा ह्वात्तै बढेको छ,’ श्रेष्ठले भने, ‘विदेशी मुद्रा सञ्चितिले आयातलाई १३ महिना धान्छ।’ अर्थमन्त्री महतका अनुसार आन्तरिक अर्थतन्त्रमा पनि सुधारका संकेत देखिएका छन्।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा रेमिटेन्स आप्रवाह उत्साहजनक छ। चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिनामा विदेशबाट ४ खर्ब ७७ अर्ब ९६ करोड रूपैयाँ रेमिटेन्स आएको छ। मुलुकभित्र रोजगारी सिर्जना नभएर बिदेसिनुपर्ने अवस्था सिर्जना हुन अर्थतन्त्रका लागि सुखद नभए पनि रेमिटेन्सले अर्थतन्त्रलाई भरथेग गरेको छ।

वैदेशिक रोजगारीसहित अवसरका लािग विदेश जाने बढेसँगै विदेशबाट रेमिटेन्स आप्रवाह पनि वृद्धि भएको हो। पोहोरको तुलनामा यो वर्षको कात्तिकसम्म विप्रेषण आप्रवाह २६.४ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २०.४ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा विप्रेषण आप्रवाह २३.१ प्रतिशतले वृद्धि भई ३ अर्ब ६० करोड डलर पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १०.८ प्रतिशतले बढेको थियो।

अर्थतन्त्रका बाह्य सूचक उल्लेख्य सुधारसहित मजबुत बनेका छन्। बाह्य सूचकमा उत्साहजनक सुधारले आन्तरिक अर्थतन्त्र उकास्न टेवा पुग्छ।

डा. प्रकाशकुमार श्रेष्ठ,कार्यकारी निर्देशक, आर्थिक अनुसन्धान विभाग, नेपाल राष्ट्र बैंक

यो वर्षको चार महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १ लाख ३७ हजार ४७५ र पुनः श्रम स्वीकृति लिनेको संख्या ६८ हजार ८४१ छ।

विदेशी विमिमय सञ्चितिमा पनि उल्लेख्य सुधार आएको छ। विदेशी मुद्राको सञ्चिति करिब १७ खर्ब रूपैयाँ बराबर पुगेको छ। सञ्चिति १६ खर्ब ९६ अर्ब ७८ करोड रूपैयाँ पुगेको छ। असार मसान्तमा यस्तो सञ्चिति १५ खर्ब ३९ अर्ब ३६ करोड रूपैयाँ थियो।

यो पोहोरको भन्दा १०.२ प्रतिशतले बढी हो। अमेरिकी डलरमा यस्तो सञ्चिति १२ अर्ब ७५ करोड पुगेको छ। गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकोमा ८.९ प्रतिशतले वृद्धि भएको हो।

चालु आव २०८०/८१ को चार महिनाको आयातलाई आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १३.६ महिनाको वस्तु आयात र ११.३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ।

कात्तिक मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्रा प्रदायसँगका अनुपातहरू क्रमशः ३१.५ प्रतिशत, ९४.३ प्रतिशत र २६.७ प्रतिशत छन्। २०८० असार मसान्तमा यी अनुपातहरू क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत थिए।

समीक्षा अवधिमा चालु खाता ९६ अर्ब ३८ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ३७ अर्ब ७९ करोडले घाटामा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा २९ करोड ६१ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा ७२ करोड ५१ लाखले बचतमा छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति १ खर्ब ४७ अर्ब ११ करोड रूपैयाँले बचतमा छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति २० अर्ब ३ करोडले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा १४ करोड ९६ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा १ अर्ब ११ करोडले बचतमा रहेको छ। यसले मुलुकबाट बाहिरिनेभन्दा भित्रिने पैसाको मात्रामा उल्लेख्य वृद्धि भएको छ।

राष्ट्र बैंकका अनुसार महँगी पनि घटेको छ। वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.३८ प्रतिशत छ। अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ८.०८ प्रतिशत थियो।

समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ६.०१ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ४.८९ प्रतिशत छ। खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत मरमसला उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ३६.४६ प्रतिशत, चिनी तथा चिनीजन्य वस्तुको १४.५९ प्रतिशत, फलफूलको १४.०१ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको १२.०२ प्रतिशत र दुग्ध पदार्थ तथा अण्डाको ११ प्रतिशतले बढेको छ। समीक्षा महिनामा घ्यू तथा तेल र तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक क्रमशः १४.२३ प्रतिशत र ५.३५ प्रतिशतले घटेको हो।

प्रकाशित: २९ मंसिर २०८० ००:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App