३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

मकैका पोस्करबाट बन्न थाले टोपी र झोला

पोस्कर नै १५० रुपैयाँ प्रतिकिलोमा बिक्री

मकैका पोस्करबाट बन्न थाले टोपी र झोला

भूमिकास्थान नगरपालिकाले कर्मशील जनशक्ति परिचालन गरेर मकैका पोस्करले झोला र टोपी उत्पादन सुरु गरेको छ। अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने उद्देश्यसहित नगरले पोस्करबाट बनाइने झोला र टोपी उत्पादन थालेको हो।

गाउँघरमा गाईवस्तुलाई खानाका रूपमा दिइने मकैका पोस्करबाट उपयोगी सामान बन्ने भएपछि महिला झोला र टोपी बुनाइमा सक्रिय देखिएका छन्। भूमिकास्थान ४ की रचना नेपाली एक महिनादेखि दिनरात नभनी पोस्करबाट झोला र टोपी बुनिरहेकी छन्।

खेर गइरहेका पोस्करबाट आम्दानी हुने देखिएपछि उनी धमाधम झोला र टोली बुनाईमा निखार ल्याउन लागिपरेकी छन्। ‘हामीलाई त थाहा नै थिएन यति राम्रा सामान बन्छन् भन्ने’, उनले भनिन्, ‘सीप सिक्यौं। आम्दानी पनि हुने भयो।’

यो सीपले गाउँघरमा यताउता फालेर खेर गएका कच्चा पदार्थबाट टोपी र झोला बनाउन सकिने भएपछि राम्रो आम्दानी हुने भूमिकास्थान ९ की वसन्ता सारूले बताइन्। कहाँ फालौं भन्ने पोस्करको समेत राम्रो मूल्य पार्न सकेको उनले बताइन्। ‘पोस्कर यसै खेर गएको थियो, उनले भनिन्, ‘१५० रुपैयाँ किलोमा बिक्रीसमेत भयो। यसबाट उत्पादन गरिएका सामानको पनि पारिश्रमिक पाइयो।’

मकैभन्दा पोस्करले अधिक मूल्य पाउन थालेपछि यहाँका महिला उद्यममा जोडिन आकर्षित भएका हुन्। आफ्नै बारीमा फलेका मकैका पोस्करबाट मूल्यवान् हस्तकला बन्ने तथा सीप सिक्न पाएपछि उनीहरूलाई अतिरिक्त आम्दानी गर्ने बाटो भएको छ।

गाईभैंसीलाई घाँस हाल्ने, गाईवस्तुले नखाए खेर फाल्ने, मल बनाउन प्रयोग गरिने मकैका पोस्करबाट टोपी, झोला र ढक्कीजस्ता सामान उत्पादन गर्न सीप सिकाउने र आवश्यक सामग्री नगरपालिकाले खरिद गरिदिने भएपछि भूमिकास्थानका विशेषगरी किसान र महिलामा खुसी थपिएको छ।  

भूमिकास्थान नगरपालिकाले चालु आर्थिक वर्ष २०८०-८१ देखि सञ्चालनमा ल्याएको कर्मशील जनशक्ति परिचालन कार्यक्रमअन्तर्गत पहिलो चरणमा बाँझो जग्गामा व्यावसायिक खेती कार्यक्रम सञ्चालन गरेको छ भने दोस्रो चरणमा पोस्कर र थाकलका पातबाट हस्तकलाका सामान तयार गर्ने जनशक्ति उत्पादन गरेको छ। मकैका पोस्कर र थाकलका पातबाट झोला, टोपी र ढक्की बनाउने तीसदिने तालिमबाट भूमिकास्थानमा एक सयजना कर्मशील जनशक्ति तयार भएका छन्।

प्रत्येक वडाबाट १० जनाका दरले एक सयजनाले तालिम लिएर कर्मशील जनशक्तिका रूपमा काम गर्न योग्य भएको भूमिकास्थान नगरपालिकाका  प्रमुख झविलाल थापाले बताए। ‘खेर जाने पोस्करबाट आम्दानी दिने सामग्री बनाउन हामीले अभियान चलाएका छौं’, मेयर थापाले भने, ‘यहाँका नागरिक पनि हाम्रो अभियानलाई साथ दिँदै व्यावसायिक रूपमै काममा लाग्ने योजना बनाएको पाएका छौं।’

तीसदिने तालिमकै समयमा प्रयोग भएको पोस्कर र तयार भएका हस्तकलाका सामग्रीसमेत नगरपालिकाले खरिद गरी पैसा दिन थालेपछि व्यावसायिक रूपमै पोस्करका सामग्री बनाउन भूमिकास्थानका किसानको रहर जागेको भूमिकास्थान नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यको भनाइ छ।

सुकेको पोस्करकै प्रतिकिलो एक सय ५० रुपैयाँ, पोस्करबाट बनेको टोपी प्रति थान तीन सय रुपैयाँ र झोला प्रति थान दुई सय ५० सय रुपैयाँमा बिक्री गरिएको आचार्यले बताए।  

नगरपालिकाको आयोजनामा तालिमप्राप्त कर्मशील जनशक्तिले तयार पारेका पोस्कर र थाकलका पातबाट बन्ने सामग्री ओम राजश्री मल्टिएग्रो प्रालि काठमाडौंले बजारीकरण गर्ने गरी सम्झौता भएको योजनाशाखा अधिकृत हरिश्चन्द्र भुसालले जानकारी दिए। भूमिकास्थानका १० वटै वडामा तयार भएका सामग्री संकलन गर्न नगरपालिकामा कोसेली घर स्थापना गरी बजारीकरण गरिने  नगरपालिकाले जनाएको छ।

प्रकाशित: २७ मंसिर २०८० ०४:११ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App