१८ असार २०८१ मंगलबार
image/svg+xml
अर्थ

एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले थाल्यो काम

सरकारले गठन गरेको एनसेलको शेयर खरिद बिक्री अध्ययन तथा छानबिन समितिले आज (आइतबार) देखि कार्य प्रारम्भ गरेको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मंसिर २१ गतेको बैठकले एनसेनको शेयर खरिद बिक्रीको सम्बन्धमा प्रचलित नेपाल कानुनको परिपालनाको विषय, राजश्व र नेपालमा वैदेशिक लगानीमा पर्न सक्ने असरलगायतका विषय अध्ययन तथा छानबिन गरी ३० दिनभित्र प्रतिवेदन पेश गर्न पूर्व महालेखा परीक्षक टंकमणि शर्मा दंगालको संयोजकत्वमा समिति गठन गरेको थियो।

समितिले आजदेखि कार्य आरम्भ गरेको र नेपाल सरकारबाट प्राप्त कार्यादेशिभित्र रही तोकिएको समय सीमाभित्र समितिले अध्ययन तथा छानबिन गरी सुझावसहितको प्रतिवेदन नेपाल सरकारलाई बुझाउने जनाएको छ।

समितिका संयोजक टंकमणि शर्मा दंगालले प्रेस विज्ञप्ति जारी गरी अध्ययन तथा छानबिनको क्रममा सम्बन्धित विषय क्षेत्रका नियामक निकायहरू, सरकारी अधिकारीहरू, सम्बन्धित सेवा प्रदायक कम्पनीसँग छलफल गर्ने, कागजात तथा जानकारी प्राप्त गर्ने तथा सम्बन्धित विषयका विज्ञ, विभिन्न सरोकारवाला संघ, संस्था र व्यक्तिहरूसँग समेत आवश्यकताअनुसार छलफल गरी राय सुझाव प्राप्त गर्ने जानकारी दिएका छन्।

समितिले एनसेलको शेयर खरिद बिक्रीसँग सम्बन्धित तथ्यपरक जानकारी, सूचना वा अन्य यससँग सम्बन्धित प्रमाणहरू भएमा समितिको आधिकारिक इमेल ठेगानामा वा समितिको सचिवालयमा उपलब्ध गराई अध्ययन तथा छानबिन कार्यमा सहयोग गर्नुहुन सम्बन्धित सरोकारवाला व्यक्ति, संस्था, सञ्चारकर्मी र नागरिकमा पनि आव्हान गरेको छ।

समितिको सचिवालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालय सिंहदरबारमा रहेको छ भने समितिको इमेल ठेगाना ncellchhanbin@nepal.gov.np र फोन नम्बर ०१–४२११५६२ रहेको समितिले जनाएको छ। समितिबाट जारी हुने सम्बन्धित सूचना तथा जानकारीहरू सञ्चार मन्त्रालयको वेबसाइट https://mocit.gov.np मा राखिने पनि समितिले स्पष्ट गरेको छ।

प्रकाशित: २४ मंसिर २०८० १२:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App