२१ असार २०८१ शुक्रबार
image/svg+xml
अर्थ

साढे २८ सय मेगावाट पुग्यो विद्युत् उत्पादन

नेपालका जलविद्युत् आयोजनाबाट करिब साढे २८ सय मेगावाट विद्युत् उत्पादन भएको छ। आयोजनाबाट उत्पादित बिजुलीको कुल जडित क्षमता साढे २८ सय मेगावाट हाराहारीमा पुगेको हो।

चालु आर्थिक वर्षमा असोज मसान्तसम्मको अवधिमा नेपालमा कुल जडित क्षमता दुई हजार आठ सय ४७.१३ मेगावाट क्षमता पुगेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। व्यावसायिक रूपमा उत्पादन गर्ने आयोजनाबाट उत्पादित क्षमता भने २८ सय ३६.९३ मेगावाट रहेको छ।

अहिले परीक्षण प्रसारण भइरहेका दुई जलविद्युत् आयोजना अपरसुरी र गेलुन हाइड्रोपावर आयोजनासहित जोड्दा कुल जडित क्षमता २८ सय ४७.१३ मेगावाट पुगेको हो।

कुल जडित क्षमता २८ सय ३६.९३ मेगावाटमध्ये निजीक्षेत्रबाट उत्पादित बिजुलीको हिस्सा १६९७.४९ मेगावाट रहेको छ। नेपाल विद्युत् प्राधिकरण मातहतका आयोजनाबाट ६६१ मेगावाट र प्राधिकरणको सहायक कम्पनीबाट ४७८.१० मेगावाट बिजुली उत्पादन भएको छ।

गत आवको २०७९/८० को असार मसान्तसम्मको अवधिमा कुल जडित क्षमता २६ सय ८४ मेगावाट पुगेको थियो। सोमध्ये प्राधिकरण मातहतको आयोजनाबाट ६६१ मेगावाट, प्राधिकरणको सहायक कम्पनीबाट चार सय ७८ मेगावाट र निजी क्षेत्रबाट १५ सय ४५ मेगावाट बिजुली उत्पादन भएको थियो।

तीन महिनामा १४३ मेगावाट बिजुली थपियो

चालु आवको तीन महिनामा १४३.२३५ मेगावाट बिजुली राष्ट्रिय ग्रिडमा थप भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार चालु आवको साउनदेखि असोजसम्मको अवधिमा सात वटा जलविद्युत् आयोजनाबाट १४३.२३५ मेगावाट बिजुली थप भएको हो।

गत साउन यता गाउँघर उज्यालो साना हाइड्रोपावर कम्पनीले ०.९७ मेगावाट क्षमताको घट्टे खोला साना जलविद्युत् आयोजनाले उत्पादन सुरु गरेको छ। यो आयोजनाले साउन १३ गतेदेखि व्यावसायिक रूपमा बिजुली उत्पादन गर्दै आइरहेको छ।

त्यसैगरी ग्लोबल हाइड्रोपावर एसोसिएसन प्रालिले पनि ५२.४६५ मेगावाट क्षमताको लिखु २ जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा जडान भएको छ।

त्यसैगरी रिभरफल्स हाइड्रोपावर डेभलपमेन्ट प्रालिले निर्माण गरेको डाउन पिलुवा १०.३ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको बिजुली राष्ट्रिय ग्रिडमा जोडिएको छ। सो जलविद्युत् आयोजनाले साउन २५ गतेदेखि व्यावसायिक रूपमा बिजुली उत्पादन गर्न थालेको हो।

अपि पावर कम्पनी लिमिटेडको अपर चमेलिया ४० मेगावाट क्षमताको बिजुली पनि साउन २८ गते राष्ट्रिय ग्रिडमा जडान भएर व्यावसायिक उत्पादन गर्दै आइरहेको छ। भूगोल हाइड्रोपावर प्रालिले निर्माण गरेको अपर सानीगाड १०.७ मेगावाट आयोजना पनि राष्ट्रिय ग्रिडमा जडान भएको छ।

सो आयोजना गत भदौ २ गते राष्ट्रिय ग्रिडमा जडान भएको हो। म्यादी हाइड्रोपावर प्रालिले निर्माण गरेको १४ मेगावाट क्षमताको घरखोल जलविद्युत् आयोजनाबाट उत्पादित बिजुली पनि राष्ट्रिय ग्रिडमा जडान भएको छ। सो आयोजनाले भदौ ८ गतेदेखि व्यावसायिक उत्पादन गर्दै आइरहेको छ।

यस्तै सान्जेन हाइड्रोपावर कम्पनी लिमिटेडद्वारा निर्माण गरिएको अपर सान्जेन परियोजनाले पनि १४.८ मेगावाट विद्युत् असोज २१ गतेदेखि व्यावसायिक तवरले उत्पादन गर्दै आइरहेको छ।

प्रकाशित: २२ मंसिर २०८० ०३:५३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App