४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बनेन पक्की पुल, रोकियो ‘सडक समृद्धि’

निर्माण हुनुपर्ने पक्की पुलको अलपत्र अवस्था। तस्बिर: खगेन्द्र/नागरिक

ठेक्का लागेको ६ वर्ष पूरा हुँदा समेत तमोर नदीमा पक्की पुल बन्ने सुरसार नभएपछि जनदबाब बढाउन थालिएको छ। पाँचथरको हिलिहाङ र ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका जोड्ने पुल निर्माणका लागि ठेक्का लिएको कम्पनीले काम नगरेपछि स्थानीय जनप्रतिनिधि र प्रशासनले दबाब बढाएका छन्।

आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू (दीपेन)को नेतृत्वमा जनप्रतिनिधिको टोली र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलको नेतृत्वमा सुरक्षा निकायका प्रमुखहरूको टोलीले पुल निर्माणको प्रगति अवलोकन गरेको छ।

‘प्रगति ज्यादै न्यून छ, लामो समयदेखि काम नै भएको छैन’ आठराई त्रिवेणी गाउँपालिका अध्यक्ष पोमूले भने। उनले जिम्मा लिएको काम पूरा गर्न निर्माण कम्पनीलाई पटकपटक ताकेता गर्दा पनि वास्ता नगरेकाले अन्तिम प्रयास स्वरूप तीव्र जनदबाब बढाइएको बताए। यो अवस्था कायम रहँदा ताप्लेजुङ, पाँचथर र तेह्रथुम गरी तीन जिल्ला जोड्ने सडक समृद्धि नै रोकिएको उनले बताए।

पुल नबन्दा तमोर करिडोर समेत ओझेलमा परेकाले निर्माण कम्पनीलाई तत्कालै काममा फर्काउने वातावरण तयार गर्न आवश्यक रहेको उनको भनाइ छ।

निर्माण कम्पनीलाई काममा फर्काउन पाँचथरको हिलिहाङ गाउँपालिका सहित पाँचथर, ताप्लेजुङ र तेह्रथुमका जनप्रतिनिधिहरूको संयुक्त पहल सुरु हुने पोमुले बताए।

निर्माणको जिम्मेवारी लिएको कम्पनीप्रति लक्षित गर्दै पोमूले भने ‘जिम्मेवारी लिएपछि पूरा गर्नुपर्छ, कामबाट भाग्न कसैले पाउँदैन’। पालिका अध्यक्ष हुनुभन्दा अघिबाट नै उनले पुल निर्माणको काममा ध्यान दिन निर्माण कम्पनीलाई दबाब दिँदै आएका थिए।

प्रमुख जिल्ला अधिकारी पौडेलले जिम्मेवारी पन्छिने छुट कसैलाई नहुने बताइन्। ‘यहाँको भूगोल र अवस्थाको बारेमा छलफल हुन सक्छ तर लिएको जिम्मेवारीबाट पन्छिन मिल्दैन’, पौडेलले भनिन्। पुल निर्माण हुने क्षेत्रको एकातर्फको भाग पाँचथरको आङ्बुङ माथिबाट पहिरोसमेत झर्न थालेपछि त्यसको व्यवस्थापन सहितको चिन्ता पौडेलमा थियो।

वारिपट्टि पाँचथरको आङ्बुहाङ, पारिपट्टि ताप्लेजुङको निघुरादिन हुँदै तेह्रथमुको ह्वाकुतर्फ प्रवेश गर्ने स्थल यही हो। पक्की पुल नहुँदा अहिले आङ्बुङ र निघुरादिन प्रवेशमार्गमा पक्की पुल बन्ने स्थान नजिक रहेको झोलुङ्गे पुल माध्यम बनेको छ।

आङ्बुङवारि निघुरादिनतर्फबाट दोभानसम्म जाने गरी तमोर करिडोरको सडकको ट्र्याक ओपन भएको छ। आङ्बुङतर्फ समेत तमोर करिडोर आइपुगे पनि पक्की पुलको अभावका कारण वारी–पारी सडक सञ्जाल जोडिएको छैन।

तमोर करिडोर नेपाल, भारत र चीनको स्वशासित क्षेत्र तिब्बत जोड्ने नेपालकै छोटो मार्गको रूपमा परिचित छ। ‘यहीं पक्की पुल निर्माण अभावले हामी र हाम्रो भाग्यमा अवरोध सिर्जना गरेको छ’ आठराई त्रिवेणी गाउँपालिका १ निघुरादिनका वडाध्यक्ष रामप्रसाद पाठकले भने।

 २०७४ फागुन ६ गते (भ्याट र पिएससहित) २२ करोड पाँच लाख ७७ हजार आठ सय ९० रूपैयाँमा सम्झौता भएको एम/एस/सपना/याक्थुङ जेभी काठमाडौंसँग पुल निर्माणका लागि सम्झौता भएको थियो।

सम्झौतापछि निर्माण कम्पनीले निघुरादिनतर्फबाट पुलको बेस उठाउने र बीचमा एउटा पिलरको काम गरे पनि अरू काम गरेको देखिँदैन। स्थानीय विजय गौतम ठेकेदारले लापरबाही गरिरहे आफूहरूले गम्भीर कदम चाल्नेबारेमा सोच्न बाध्य हुने चेतावनी दिए।

यता निर्माण कम्पनीका एक प्रतिनिधि पाँचथर निवासी तेज कुरुम्बाङलाई सम्पर्क गर्दा उनले फोन उठाएनन्। पालिका अध्यक्ष पोमूले भने तीनैवटै जिल्लाका जनप्रतिनिधि र स्थानीय प्रशासनले निर्माण कम्पनीसँग छलफल गरी पुल निर्माणको काम तत्काल अघि बढाउन दबाब दिनेगरी संयुक्त छलफल गर्ने संकेत  गरेका छन्।  

प्रकाशित: २१ मंसिर २०८० ०२:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App