१८ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

उखुको मूल्य घटाउने दाउमा उद्योगी, उपलब्ध नगराउने रणनीतिमा किसान

उखु राजनीतिमा सरकार सधैँ मुख दर्शक

उद्योगीहरूले समयमा उखुको मूल्य नतोकेर चिनी मिल सञ्चालन गर्ने तयारी गरेपछि उखु किसानहरूले पनि उद्योगलाई उखु उपलब्ध नगराउने रणनीति अङ्गीकार गरेका छन्।

उखुको मूल्य नतोकेर चिनी मिल सञ्चालनमा ल्याउँदा कम मूल्यमा उखु बेच्नुपर्ने बाध्यता हुने भन्दै किसानहरूले उद्योगलाई उखु उपलब्ध नगराउने अडान लिएका हुन। 

सबैभन्दा धेरै चिनी उद्योग रहेको सर्लाहीका किसानहरूले उखुको मूल्य निर्धारण नभएसम्म उद्योगलाई उखु नै उपलब्ध नगराउने अडान लिएका हुन् । किसानहरूले अधिकांश चिनी मिलमा उखु उत्पादक सङ्घ गठन गरी सकेका छन्। पहिले मूल्य तोक्नु पर्ने अनि मात्र उखु उपलब्ध गराउने निर्णय गरेका छन्।  

‘जसले उत्पादन गरेर बेचेको हो, उसलाई आफ्नो उत्पादन कति रुपैयाँमा बेचेको भन्ने थाहै नहुने’ प्रवृत्ति रोक्न पहिले मूल्य तोकिनु पर्ने अडानमा किसानहरू रहेको उखु उत्पादक महासङ्घ नेपालका अध्यक्ष कपिल मुनि मैनालीले जानकारी दिए।

मूल्य नतोकेर किसानको उत्पादन किन्न खोज्ने र किसानले उखु बेचिसकेपछि एक वर्षसम्म पनि पैसा उपलब्ध नगराउने प्रवृत्ति तोड्न कृषकहरूले अडान लिएको मैनालीको भनाइ छ।  

कृषि मन्त्रालयमा सहसचिवको अध्यक्षतामा बसेको हिमाल चिनी उद्योग सिराहा र एभरेस्ट चिनी उद्योग महोत्तरीका शशीकान्त अग्रवाल, रिलायन्स चिनी उद्योग बाराका राजकुमार अग्रवाल, इन्दु शंकर चिनी उद्योग हरिवनका राजेश केडियासहित उखु उत्पादक महासङ्घका अध्यक्ष कपिल मुनि मैनालीसहितका पदाधिकारीहरू, विभिन्न जिल्लाका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका पदाधिकारीहरूको सहभागितामा भएको बैठकमा उखु उत्पादक किसानहरूले उखुको मूल्य निर्धारणको मुद्दा उठाउँदै पहिलेकै भुक्तानी बाँकी रहेको बताएका छन्।  

उद्योगपतिसहितको बैठकमा किसानलाई राज्यले भ्याटबापत तिर्नुपर्ने ५२ करोड रुपैयाँभन्दा बढी रकम बाँकी रहेकोले सबैभन्दा पहिले भुक्तानी हुनुपर्ने माग आफूले राखेको अध्यक्ष कपिल मुनि मैनालीले जानकारी दिए। साथै उखुको मूल्य कम्तीमा ८ सय रुपैयाँ प्रति क्विन्टल हुनुपर्ने माग रहेको मैनालीको भनाइ छ।

तर चिनी उद्योगीहरूले उखुका लागि महासङ्घले राखेको माग भन्दा निकै कम मूल्य तिर्ने रणनीति अङ्गीकार गरेपछि किसानहरू फेरी पनि तर्सिएका छन् । उद्योगीले उखुको मूल्य प्रति क्विन्टल भ्याटसहित ६ सय २१ रुपैयाँसम्म मात्र तिर्न तयार रहेको अनौपचारिक रूपमा बुझिएको छ।

सर्लाहीमा इन्दु शंकर चिनी उद्योग हरिवनका सञ्चालक राजेश केडियाले उखुको मूल्य निर्धारण हुन नसकेको बताउँदै छिटोभन्दा छिटो बसेर उखुको मूल्य निर्धारण गर्नुपर्ने देखिएको बताएका छन्।  

उखु किसानहरूले समयमा भुक्तानी नपाउँदा हरेक वर्ष उखुको उत्पादन घटाउँदै लगेका छन्। सरकारले समयमा उखुको मूल्य निर्धारण नगर्ने, सरकारले किसानलाई भ्याट पनि समयमा उपलब्ध नगराउने र समयमा खेत खाली नहुने समस्याले पीडित उखु किसानहरू मूल्य निर्धारण नहुँदासम्म चिनी उद्योगहरू चल्न नदिने अडान लिएपछि उद्योगपतिहरू मर्कामा परेका छन्।  

अधिकांश चिनी उद्योगहरूले डोंगा पूजा गरेर चलान पूर्जी किसानलाई दिने बेलामा उखु किसानहरूले नै आन्दोलनको चेतावनी दिएपछि उद्योगपतिहरू हच्केका हुन।

प्रकाशित: १९ मंसिर २०८० ०७:४६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App