२१ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अर्थ

गाईघाटमा ‘उदयपुर एक्स्पो ०८०’को तयारी सुरु

महोत्सवबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलन । तस्विरः महेश्वर

स्थानीय उत्पादनको बजारीकरण, अर्थतन्त्रको प्रवर्द्धन र उद्यम व्यवसाय तथा व्यापार चलायमान गराउने लक्ष्यका साथ जिल्ला उद्योग वाणिज्य संघ गाईघाटले आउँदो माघ अन्तिम साता सुरु गर्न लागेको ‘उदयपुर एक्स्पो ०८०’ (महोत्सव)को तयारी सुरु भएको छ। ‘कृषि, वन, पर्यटन, कला संस्कृति, उद्योग र व्यापार: उदयपुरको पहिचान र समृद्धिको आधार’ भन्ने नाराका साथ सदरमुकाम गाईघाटमा एक्स्पोको तयारी सुरु भएको  संघले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो।

महोत्सव त्रियुगा नगरपालिका ३ बसपार्कनजिक त्रियुगा नदी किनारमा आयोजना गरिने संघका अध्यक्ष चुडामणि कार्कीले बताए।उनका अनुसार माघ २६ गतेदेखि फागुन ६ गतेसम्म हुने २ साता लामो एक्स्पोमा स्थानीयदेखि प्रदेश र राष्ट्रिय स्तरका कृषि उपज, घरेलु तथा साना ठुला औद्योगिक यन्त्र उपकरणहरू बिक्री वितरणका लागि प्रदर्शनीमा राखिने बताए।  

उनका अनुसार पछिल्लो ४/५ वर्षयता उदयपुरको व्यापार व्यवसाय अत्यन्त सुस्ताएको, अर्थतन्त्र धिमा गतिमा चलिरहेको र व्यापार व्यवसायमा ठूलो मन्दी आएका कारण त्यसलाई चलायमान बनाउन एक्पोको आयोजना गर्न लागिएको हो। ‘मन्द स्थानीय बजारको आर्थिक कारोबार चलायमान गराउँदै गिर्दो व्यापार व्यवसायलाई प्रवर्द्धन गर्ने उदेश्यले यो एक्पोको आयोजना गर्न लागिएको हो’ अध्यक्ष कार्कीले भने ‘साथै स्थानीयदेखि राष्ट्रियस्तर सम्मका घरेलु, साना, मझौला र ठुला उद्योगका उत्पादनहरुको बजारीकरण गर्न पनि यसले मद्दत गर्ने हाम्रो लक्ष्य छ।’

अध्यक्ष कार्कीका अनुसार उदयपुरका ४ नगर र ४ गाउँपालिका गरी ८ वटै स्थानीय तहमा रहेका उत्कृष्ट पर्यटकीय स्थल, ऐतिहासिक र धार्मिक क्षेत्रहरूको पहिचान गराउन पनि एक्पोलाई उपयोग गरिनेछ।जिल्लाका पर्यटकीय, ऐतिहासिक तथा धार्मिक स्थलहरुको चिनारी गराउने, त्यहाँसम्म घुम्न जान प्रोत्साहन गर्ने र आवश्यक प्रचारप्रसार गर्दै व्यापार व्यवसायमा प्रवर्द्धन गर्न सके आर्थिक मन्दी चलायमान गराउने लक्ष्य महोत्सवको रहेको उनको भनाई छ।  

त्यसैगरी विदेशी वस्तुको आयात घटाउँदै नेपाली बस्तुको निर्यात बढाउने कुरामा पनि महोत्सवले सहयोग पुग्ने दावी संघले गरेको छ।त्यसका लागि एक्पोमा ‘मेड इन नेपाल’ र ‘मेड इन उदयपुर’को नारा अघि सारिएको छ।यसका लागि नेपालको उत्पादन र उदयपुरको उत्पादनलाई प्राथमिकतामा राखेर प्रदर्शनीमा राख्ने योजना संघले अघि बढाएको पत्रकार सम्मेलनमा जानकारी दिइयो।यसो गर्दा उदयपुरलाई पर्यटन, कृषि उद्यम र व्यापार व्यवसायलाई टेवा पुग्ने अनुमान आयोजकको छ।त्यसैगरी शिक्षा र स्वास्थ्यमा पनि उदयपुरलाई अघि बढ्न महोत्सवले मद्दत गर्ने कार्कीको बुझाइ छ।

कृषि उपज, कृषि औजार, घरेलु तथा साना उद्योगबाट उत्पादित सामान, अटोमोवाईल (गाडी), बैंक तथा वित्तीय, तयारी कपडा, घरेलु सामान लगायतका हजार बढी स्टलहरू राखिने आयोजकका संघका महासचिव सुनिल साहले बताए । एक्स्पोलाई व्यापार गर्न मात्र नभई उत्पादन तथा बजारीकरणको प्रवद्र्धन गर्न पनि टेवा पुग्ने गरी आयोजना गरिएको महासचिव साहले बताए । उनका अनुसार महोत्सव सञ्चालनका लागि ‘मेला व्यवस्थापन समिति’ गठन समेत गरिसकिएको छ । यसअघि विकट पहाडी गाउँपालिका लिमचुङबुङस्थित एभरेस्ट भ्यु टपमा बसेको संघको बैठकले गाईघाटका व्यवसायी प्रदीप देउजाको संयोजकत्वमा महोत्सव व्यवस्थापन समितिको गठन गरेको हो।

एक्स्पोमा पर्यटन र उद्योगको प्रवद्र्धन, डुंगा, र्‍याफ्टिङ, प्याराग्लाइडिङ लगायत आकर्षणहरू पनि रहने संयोजक देउजाले बताए।कृषि उपज, पशुधन प्रदर्शनी, सूचना प्रविधि, कला लगायत विविध पक्षको प्रदर्शनी गरिने पत्रकार सम्मेलनमा जानकारी दिइयो।महोत्सवमा उदयपुर कोसी प्रदेश १ का सुनसरी, धनकुटा, खोटाङ, भोजपुर, ओखलढुङ्गा तथा मधेस प्रदेशका सिराहा, सप्तरी र बाग्मती सिन्धुली सम्मका छिमेकी जिल्लाका व्यापारी, व्यवसायी र उद्यमीहरूको सहभागिता र उनीहरूको उत्पादनलाई समावेश गर्ने लक्ष्य आयोजकको छ।अर्को आकर्षण बिभिन्न जातजातिको झाँकी प्रदर्शनी तथा उनीहरूको खाना परिकारलाई प्रवद्र्धन गर्न महोत्सव स्थलमै ‘फुड फेस्टिभल’ पनि समावेश गरिनेछ।

स्थानीय उद्यमशीलता, उदयपुरको पहिचान, राष्ट्रियता र सम्बन्धको भावना, जीवजन्तु, प्रविधि, कला संस्कृति, सिप तथा विविधतामा फाइदा पुर्‍याउने गरी आयोजना गर्ने महोत्सवमा स्थानीय तथा राष्ट्रिय स्तरका ख्यातिप्राप्त कलाकारहरूको प्रस्तुति पनि रहने छ।त्यसैगरी महोत्सव अवधिभर जिल्ला स्तरीय दोहोरी गीत प्रतियोगिता, रमाइलो मेला, महिला पुरुष भलिबल प्रतियोगिता, ढिलो साइकल दौड (स्लो साइक्लिङ) प्रतियोगिता गरी पुरस्कारको व्यवस्था पनि गरिनेछ।

जिल्लामा बढ्दो लागू औषध दुर्व्यसनको न्यूनीकरण र नियन्त्रणमा सहयोग गर्न महोत्सवमा ‘हरेक नागरिकको जिम्मेवारी, दुर्व्यसनविरुद्ध खबरदारी’ भन्ने नारा अङ्कित पोस्टर, पम्प्लेट र ब्रोसरको  स्टलसमेत राखिनेछ । साथै लागूऔषधबिरुद्ध जनचेतनामूलक प्रचारप्रसार र सचेतनाका लागि मनोपरामर्श सेवा कार्यक्रम पनि सञ्चालन गरिने आयोजकले जनाएको छ।आन्तरिक तथा बाह्य गरी २ लाख बढी पर्यटक महोत्सवमा भित्र्याउने लक्ष्य लिएको आयोजकले पहिलो चरणको काम सकिसकेको जनाएको छ।  

प्रकाशित: १४ मंसिर २०८० ०९:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App