१२ असार २०८१ बुधबार
image/svg+xml
अर्थ

उद्घाटन भएको अढाई वर्षमा पनि बनेन धरहरा!

फाइल तस्वीर

उद्घाटन गरेको साढे दुई वर्ष बितिसक्दा पनि धरहरा परिसरका संरचना तयार भएका छैनन्। धरहराको अत्यावश्यक पूर्वाधार तयार नहुँदै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७८ वैशाख ११ गते हतारहतार धरहराको उद्घाटन गरेका थिए। ओलीले उद्घाटन गरेको पनि ३१ महिना बितिसकेको छ तर सर्वसाधारणका लागि धरहरा कहिलेदेखि खोल्ने भन्ने विषय अझै टुंगो लागेको छैन।

निर्माणाधीन धरहरा परिसरका संरचना सरकारी निकाय र ठेकेदार कम्पनीको आलटालको कारणले पाँचौ पटक म्याद थप गर्दा निर्माण सम्पन्न हुन सकेको छैन। दुई वर्षभित्रै निर्माण सम्पन्न गर्ने भन्दै निर्माण सुरु गरिएको धरहराको म्याद पाँचौ पटक थप गर्दा पनि निर्माण सम्पन्न हुने सुरसार देखिएको छैन।

सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइले निर्माणाधीन धरहरा परिसरका संरचना निर्माणका लागि फेरि छैटौं पटक चार महिना म्याद थप गर्ने प्रक्रिया अघि बढाएको छ।

सहरी विकास तथा भवन विभाग अन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक कोषराज अधिकारीले अहिले धरहरा परिसरमा निर्माणाधीन संरचनाको काम अझै अधुरै भएकाले छैटौं पटक चार महिना म्याद थपको प्रक्रिया अघि बढाइएको बताए।

‘धरहराको डिजाइन तथा आवश्यक डकुमेन्ट तयार गर्दादेखि नै सरोकारवाला स्थानीय निकायसँग समन्वय गरेर तयार पार्नुपर्ने थियो तर पर्याप्त मात्रामा समन्वय भएको देखिएन्,’ आयोजना निर्देशक अधिकारीले भने, ‘डिजाइन गर्नु अगावै धरहराको व्यवस्थापन गर्ने विषयमा टुंगो नलगाउँदा पनि अहिले केही हदसम्म जटिलता थपिएको हो।’

आयोजना निर्देशक अधिकारीले निर्माण व्यवसायीको मात्रै नभएर सबै निकायले जिम्मेवार भएर कार्य सम्पादन नगर्दा अहिले समस्या देखिएको बताए।

‘धरहरा समयमै निर्माण नहुनुमा निर्माण व्यवसायी पनि निर्दोष छैनन्। आयोजनाको व्यवस्थापन गर्ने पक्ष पनि दोषबाट मुक्त छैनन्,’ उनले भने, ‘पाँच रोपनीको क्षेत्रफलको जग्गालाई ४२ रोपनी क्षेत्रफलमा बिस्तार गर्न पनि विभिन्न बिघ्नबाधा आइरहे। जग्गा सट्टाभर्ना लगायतका विवाद कायमै रहेकाले पनि समस्या भएको छ।’

आयोजना निर्देशक अधिकारीले अहिले निर्माणाधीन धरहरा परिसरमा मुख्य तीन/चार वटा जटिल समस्या रहेको बताए। अहिले स्थानीयले पुरानो डिजाइन नमान्ने भन्दै विरोध गर्दै आइरहेका छन्।

‘अहिलेको सुन्धाराबाट खसेको पानीलाई प्राकृतिक रूपमा नै फर्काउने हो भने १४–१८ फिट गहिरो भागमा पाइप राखेर पानीको निकासको व्यवस्था गर्नुपर्ने हुन्छ। त्यसो गर्नका लागि अतिरिक्त खर्च लाग्ने भएकाले पनि सो गर्न समस्या भइरहेको छ,’ उनले भने, ‘प्राकृतिक निकासको लागि टिबिएम मेसिनको प्रयोग गर्ने कि के गर्ने भन्ने अझै टुंगो लागेको छैन।’

सुन्धारा क्षेत्रमा पानीको सतह बर्खायाममा पनि ४० मिटरभन्दा मुनि मात्रै भेट्टिएको छ। ‘अहिले धरहरा क्षेत्रमा देखिएको समस्या हल गर्न हाम्रो बुताले मात्र संभव छैन,’ उनले भने, ‘सुन्धाराका स्थानीयले अहिले कर्मचारी सञ्चयकोषले आफ्नो जग्गा मिचेको भन्दै उजुरी दिएकाले पनि थप समस्या सिर्जना गर्दै आइरहेको छ।

सञ्चयकोषको भवन पनि नक्सापास नभएकाले पनि धरहरादेखि खिचापोखरीसम्मको सडक कालोपत्रे गर्न समेत जटिलता थपिँदै आइरहेको बताए।

‘सञ्चयकोषले पनि अहिले नक्सा पासको प्रक्रिया अघि बढिरहेकाले पनि केही समय सडक कालोपत्रे गर्न समस्या भइरहेको छ।’

धरहरा परिसरको सुरुवाती लागत तीन अर्ब आठ करोड ११ लाख रूपैयाँमा ठेक्का सम्झौता भएको हो।

धरहराको निर्माण गर्ने जिम्मा जिआइइटिसी–रमन जेभी कम्पनीले पाएको थियो। धरहरा निर्माणमा ठेकेदार कम्पनी र आयोजना कार्यान्वयन एकाइलगायतका निकायको कमीकमजोरीको कारणले निर्माणमा समस्या भइरहेको बताए।

धरहरा निर्माणका लागि २०७५ असोज १४ गते ठेक्का सम्झौता भएको थियो। ठेक्का सम्झौता अनुसार दुई वर्षभित्र धरहराको निर्माण सम्पन्न हुनुपर्ने थियो। अहिलेसम्म धरहराको पाँच पटक म्याद थप भइसकेको छ। धरहराको फेरि छैटौं पटक म्याद थप गर्ने प्रक्रिया पनि अघि बढिरहेको छ।

यथास्थितिमै खोल्ने तयारी

केन्द्रीय आयोजना कार्यान्वयन एकाइले तीन महिनाभित्रै निर्माणाधीन धरहरातर्फको मात्र काम सकेर सर्वसाधारणको लागि खोल्ने तयारीमा जुटेको छ। अहिले निर्माणाधीन धरहरा परिसरको संरचनाको समष्टिगत भौतिक प्रगति ९० प्रतिशत नाघिसकेको छ। अझै पनि धरहरा परिसरमा निर्माण हुने सबै संरचनाको काम भने सकिइसकेको छैन।

केन्द्रीय आयोजना कार्यान्वयन एकाइका आयोजना निर्देशक अधिकारीले अहिले धरहरा परिसरमा निर्माणाधीन रहेका केही संरचनालाई यथावत नै राखेर तीन महिनाभित्रै धरहरा सर्वसाधारणको लागि खुला गर्ने तयारीमा जुटेको बताए।

‘हामीले अहिले देखिएको केही समस्यालाई यथावत राखेर दुई÷तीन महिनाभित्रै सर्वसाधारणको लागि धरहरा खुलाउन सकिन्छ कि भनेर आवश्यक गृहकार्य गरिरहेका छौं,’ उनले भने, ‘हामीले तीन महिनाभित्रै धरहराको भत्किएको अवशेषको व्यवस्थापन, पानीको निकास र स्थानीयसँगको विवादलगायतका विषयलाई थाती राखेर खुला गर्न सकिन्छ भनेर आवश्यक तयारी गरिरहेका छौं।’  

प्रकाशित: १२ मंसिर २०८० ०१:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App