२३ वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

नेप्सेमा ४७ अंकको उछाल: अब बढ्ला त सेयर बजार ?

मुलुकको अर्थतन्त्रमा आएको शिथिलताको कारणले प्रभावित बन्दै आएको सेयरबजार आइतबार भने उच्च अंकले बढेर सुधारको छनक देखापरेको छ। लामो समयदेखि सेयरबजारमा उच्च अंकले गिरावट आएका कारणले सेयर लगानीकर्तामा चरम निराशाबीच आइतबार ४७.७५ अंकले बढेसँगै सेयर बजारमा सुधारको संकेत देखिएको छ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासिक समीक्षा र नेपालका बैंक तथा वित्तीय संस्थाले ब्याजदर घटाएसँगै सेयर बजारमा सुधार देखिने सम्भावना बढेको हो। यद्यपि आइतबार बढेको सेयर बजार आगामी दिनमा निरन्तरता कायमै रहन्छ वा रहँदैन भन्ने आशंका भने कायमै छ।

आइतबार नेप्से परिसूचक ४७.७५ अंकले बढेर १९०७.९५ विन्दुमा आइपुगेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार विगत चार महिना यताकै उच्च अंकले बढेको हो। गत साउन ४ गते ६३.२४ अंकले बढेको थियो। त्यस दिन यता आइतबार नै उच्च अंकले बढेको हो। कारोबार रकममा पनि आइतबार उच्च रकमले वृद्धि भएको छ।

छोटेलाल रौनियार,पूर्वअध्यक्ष, नेपाल इन्भेष्टर फोरम

लामो समयदेखि नेपाली सेयर बजार चरम निराशाबाट गुज्रिएकाले अब सेयरबजार बढ्नुपर्ने अवस्थामा आइपुगेको छ।

-छोटेलाल रौनियार,पूर्वअध्यक्ष, नेपाल इन्भेष्टर फोरम

कारोबार रकमको आधारमा भने विगत दुई महिना यताकै उच्च रकमले बढेको हो। पछिल्ला दिनमा मुस्किलले एक अर्ब रूपैयाँ वा सोभन्दा कम रकमको सेयर कारोबार हुँदै आइरहेको थियो। आइतबार भने कारोबार रकममा पनि दुई अर्ब रूपैयाँ नाघेको छ।

नेपाल इन्भेष्टर फोरमका पूर्वअध्यक्ष छोटेलाल रौनियारले विगत लामो समयदेखि नेपाली सेयर बजार चरम निराशाबाट गुज्रिएकाले सेयरबजार बढ्नुपर्ने अवस्थामा आइपुगेको बताउँछन्। ‘विगत लामो समयदेखि नेपाली सेयर लगानीकर्ता चरम समस्याबाट गुज्रिरहेका छन्,’ उनले भने, ‘पछिल्ला समय एकातर्फ बैंकको ब्याजदर घटिसकेको अवस्था छ।

अर्काेतर्फ पनि सरकारले पनि सेयर बजारसम्बन्धित समस्यालाई केही हदसम्म न्यूनीकरण गर्ने प्रयास गरेकाले पनि अब सेयर बजारमा सुधार आउनुपर्ने बेला भइसकेको छ।’

फोरमका पूर्व अध्यक्ष रौनियारले नियामक निकायले सेयर किनबेचमा दीर्घकालीन लगानीकर्ताले पाँच र अल्पकालीन लगानीकर्ताले ७.५ प्रतिशत पुँजीगत लाभकरलाई हटाएर क्रमशः तीन र पाँच प्रतिशत गराउनुपर्ने बताए।

‘नेपालको सेयर बजार निकै कमजोर अवस्थाबाट गुज्रिरहेको छ,’ उनले भने, ‘राज्यले सेयरबजारलाई हेर्ने वक्रदृष्टिलाई सुधारेर अघि बढ्न जरुरी भइसकेको छ।’

 शैलेन्द्र गुरागाईं सभापति, पुँजीबजार फोरम, नेउवा महासंघ

अर्थ मन्त्रालय र राष्ट्र बैंकले सेयर बजारलाई स्थायित्व प्रदान गर्ने खालका नीतिगत निर्णय नगरेकाले अनपेक्षित तवरले घट्ने बढ्ने भइरहेको छ।

- शैलेन्द्र गुरागाईं सभापति, पुँजीबजार फोरम, नेउवा महासंघ

नेपाल उद्योग वाणिज्य महासंघको पुँजी बजार फोरमका सभापति शैलेन्द्र गुरागाईंले सेयर बजार बढ्ने घट्ने कुरा बजारको मनोविज्ञानले निर्धारण हुने बताए।

‘अहिले बढेको सेयर बजार स्थायी प्रकृतिको भएजस्तो लाग्दैन’, गुरागाईंले भने, ‘अर्थमन्त्रालय र राष्ट्र बैंकले सेयर बजारलाई स्थायित्व प्रदान गर्ने खालको नीतिगत निर्णय नगरेकाले पनि यस्तो भइरहेको छ।’

नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७९/८० को असोज मसान्तसम्ममा सेयर बजारको नेप्से परिसूचक १८५८.३३ विन्दुमा रहेको थियो। आर्थिक वर्ष २०८०/८१ को असोज मसान्तसम्मको अवधिमा भने १८६४.६२ विन्दुमा पुगेको थियो। राष्ट्र बैंकका अनुसार २०७९ असोज मसान्तसम्म पुँजीकरण २६ खर्ब ७२ अर्ब ७९ करोड रहेको थियो।

 २०८० को असोज मसान्तसम्ममा भने सेयर पुँजीकरण भने २८ खर्ब ६१ अर्ब ५२ करोड रूपैयाँ पुगेको छ। आइतबारसम्म सेयर पुँजीकरण भने २९ खर्ब ४१ अर्ब ७४ करोड रूपैयाँ पुगेको छ।

राष्ट्र बैंकका अनुसार २०८० असोज मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ६३ पुगेको छ। सूचीकृत कम्पनीहरूमध्ये एक सय ३४ बैंक तथा वित्तीय संस्था र बिमा कम्पनी रहेका छन् भने ८७ जलविद्युत् कम्पनी, २० उत्पादन तथा प्रशोधन उद्योग, सात होटल, सात लगानी कम्पनी, चार व्यापारिक संस्था र चार अन्य समूहका रहेका छन्।

२०७९ असोजमा सूचीकृत कम्पनीहरूको संख्या दुई सय ४२ रहेको थियो। सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीको धितोपत्र बजार पुँजीकरणको हिस्सा ६३.७ प्रतिशत रहेको छ।

त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १२.८ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.० प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ४.९ प्रतिशत, होटेलको हिस्सा ३.० प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरूको हिस्सा ८.१ प्रतिशत रहेको छ।

आइतबार दुई सय १४ कम्पनीको सेयर बढ्यो भने २३ कम्पनीको सेयर घट्यो। तीन कम्पनीको सेयर स्थिर रह्यो। आइतबार सेयर कारोबार कित्ता र रकममा पनि बढेको छ। आइतबार ६५ लाख ३० हजार ६ सय ४३ कित्ता सेयर किनबेच हुँदा दुई एक करोड १७ लाख ६३ हजार तीन सय ५८ रूपैयाँको सेयर कारोबार भएको छ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्सेका तीनवटै सूचक बढेर हरियाली भए। सेन्सेटिभ सूचक ७.८३ अंकले बढेको छ। त्यसैगरी फ्लोट सूचक ३.३० अंक र सेन्सेटिभ फ्लोट सूचक पनि २.३७ अंकले बढ्यो। नेप्सेका १३ उपसूचकमध्ये आइतबार सबै उपसूचक बढे। सबैभन्दा धेरै बढ्ने उपसूचकमा जीवन बिमातर्फको उपसूचक रह्यो।

सो उपसूचक ४४९.८६ अंकले बढ्यो। निर्जीवन बिमातर्फको उपसूचक ३५८.८१ अंकले बढेको छ। त्यसैगरी उत्पादन तथा प्रशोधनतर्फको उपसूचक १५३.९७ अंक र ट्रेडिङतर्फको उपसूचक पनि ९६.८१ अंकले बढेको छ।

आइतबार सबैभन्दा धेरै सेयर बढ्ने कम्पनीमा छ्याङ्दी हाइड्रोपावर कम्पनी र भागवती हाइड्रोपावर कम्पनी रह्यो। ती दुवै कम्पनीको सेयर १० प्रतिशतले बढेको छ। विजय लघुवित्त कम्पनीको सेयर ९.९९ प्रतिशत र स्वरोजगार लघुवित्त कम्पनीको सेयर पनि ९.८९ प्रतिशतले बढेको छ।

आइतबार सबैभन्दा धेरै सेयर घट्ने कम्पनीमा इन्फिनिटी लघुवित्त कम्पनी र एनएमबी सुलभ इन्भेष्टमेन्ट फन्ड रह्यो। ती दुवै कम्पनीको सेयर २.४७ प्रतिशतले घटेको छ। त्यसैगरी आशा लघुवित्त कम्पनीको सेयर पनि २.४४ प्रतिशत र आत्मनिर्भर लघुवित्त कम्पनीको सेयर पनि २.३९ प्रतिशतले घटेको छ।

गत साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक परिसूचक ९.८७ अंकले बढेर १८६०.२० विन्दुमा पुगेको छ। बिहीबार एक ६१ कम्पनीको सेयर बढ्यो भने ६७ कम्पनीको सेयर घट्यो। १० कम्पनीको सेयर स्थिर रह्यो। बिहीबार ४४ लाख २० हजार पाँच सय १८ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ३४ करोड ८३ लाख ४७ हजार चार सय ३० रूपैयाँको कारोबार भएको थियो।

प्रकाशित: ११ मंसिर २०८० ०१:०९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App