भरतपुर महानगरपालिका २७ स्थित घैलाघारीकी पुजा महतोको घर चितवन राष्ट्रिय निकुञ्ज नजिकै छ। विगतमा उनको दैनिकी निकुञ्जमा गएर निगुरो टिप्नेदेखि घाँस काट्नेसम्म हुन्थ्यो। आजभोलि भने उनको दैनिकी फेरिएको छ। खेर जाने केराको थम्बाट हस्तकलाका विभिन्न सामग्री बनाउन महतो व्यस्त हुन्छिन्।
‘घरमा बाख्रा छन्, अरू केही छैन्। दिउँसो फुर्सदको समयमा केराको रेसाबाट हस्तकलाका सामग्री बनाउन थालेकी छु,’ टोपी बुनिरहेकी महत्तोले भनिन्, ‘अहिलेसम्म सय वटाको हाराहारीमा हस्तकलाका सामग्री बनाएर बेचिसकें।’
उनले केराको रेसाबाट हस्तकलाका सामग्री बनाउन थालेको ६ महिना भइसकेको छ।
महतोले केराको थम्बाबाट डिनर म्याट, ब्याग, पेन होल्डर, डस्टबिन, पानको पात, टी म्याट, पपकर्न राख्ने भाँडो, ट्रे, फलफूल राख्ने भाँडा, फूलदानी, चप्पल लगायतका विविध सामग्री बनाउने गरेकी छन्।
यी सामग्री बेचेर उनले राम्रै आम्दानी गरिरहेकी छन्। ‘पहिलेजस्तो मेला पात जान परेन । यसबाट उपचार खर्च जुटाउन सहज भएको छ। दशैं खर्च पनि यिनै सामग्री बेचेर चलाउने योजना छ,’ खुसी हुँदै उनले भनिन्, ‘कहिले एक दिनमै तीन हजार पाँच सय जति आम्दानी हुन्छ।’
उनलाई घरमा सासुआमाले पनि थम्बाको रेसा निकालेर डोरी बाट्न सहयोग गर्छिन्। बिना लगानी आम्दानी गर्दै आएकी महतो यो पेशालाई निरन्तरता दिने योजनामा छिन्।
भरतपुर–२३ घैलाघारीकी सरिता थापा मगर पनि केराको रेसाबाट हस्तकलाका सामग्री बनाउन व्यस्त हुन्छिन्। निगुरो बेचेर जीविका चलाउँदै आएकी सरिता केराका थम्बाबाट निकालिएको रेसासँग रमाउन थालेकी छन्। ‘जंगलमा निगुरो टिप्न जाँदा गैंडा र बाघको डर, उत्ता निकुञ्ज प्रशासनको त्रास,’ आफूले बुनेका हस्तकलाका सामग्री देखाउँदै उनले भनिन्, ‘हिजो आज जंगल जानै परेको छैन्।’
महतो र थापा मात्र होइन्, भरतपुर–२३ स्थित घैलाघारीका अन्य महिलाहरू पनि केराको रेसाबाट हस्तकलाका विभिन्न सामग्री बनाउन व्यस्त हुन्छन्। फुर्सदको समयलाई सदुपयोग गर्दै समूह नै बनाएर उनीहरूले हस्तकलाका विभिन्न सामग्री बनाइरहेका छन्।
६ महिनाअघि २० जनाले हातेमालो लघु उद्यमी महिला समूह बनाएर काम थालेका हुन्। आफूले उत्पादन गरेका सामग्री उनीहरूले समूहबाट बिक्री वितरण गर्दछन्। उनीहरूले खेर जाने केराको थम्बाबाट डिनर म्याट, ब्याग, पेन होल्डर फलफूल राख्ने भाँडा, पानको पात लगायतका आकर्षक सामग्रीहरू बनाउँदै आएका छन्।
बजारको लागि समस्या नभएको हातेमालो लघु उद्यमी महिला समूहकी अध्यक्ष अप्सरा तामाङले बताइन्। ‘हामीले नेचर गाइडसँग सम्पर्क गरेका छौं। निकुञ्ज घुम्न आउने विदेशी पर्यटकले सामान खरिद गरिदिनुहुन्छ,’ उनले भनिन्, ‘यो सिपले महिलालाई ऊर्जा थपिदिएको छ।’
मंगलबारदेखि चितवन राष्ट्रिय निकुञ्जभित्र जिप सफारी खुलेको छ। अब व्यापार बढी हुनेमा उनी ढुक्क छिन्। उनीहरूले बनाएका हस्तकलाका सामग्री सय रूपैयाँदेखि हजार रूपैयाँसम्मका छन्।
समूहमा २० देखि ४० वर्ष उमेर समूहका दिदीबिहिनी छन्। केराको थम्बा पाउन उनीहरूलाई कठिन छैन्। जगतपुर केरा खेती प्रशस्त भएको क्षेत्र हो। उनीहरूले थम्बाहरू निःशुल्क ल्याउने गर्दछन्। शून्य लगानीमा हातेमालो लघु उद्यमी महिला समूहले राम्रो आम्दानी गर्दै आएको छ।
केराको थम्बालाई मसिनो बनाएर रेसा बनाउने, त्यसलाई सुकाउने, अनि बाटेर मसिनो धागो बनाउने गरिन्छ। त्यसपछि आवश्यक सामग्री बनाउन सकिने संस्थाकी उपाध्यक्ष मिनाकुमारी मगर बताउँछिन्।
थम्बाबाट रेसा निकालेपछि सुकाउन एकदेखि तीन दिनसम्म लाग्छ। गर्मी याममा भने एकैदिनमा सुक्ने उनले बताइन्। अहिले कतै खेर गएको केराको बोट देख्दा अमूल्य चिज फाले जस्तो हुने उनले बताइन्।
रेसाबाट डोरी तयार भएपछि सामग्री बनाउन धेरै समय लाग्दैन। डिनर म्याट बनाउन आधा घण्टा, साइडब्याग, फूलदानी एकै दिनमा बुनेर सकिन्छ।
महानगरको सहयोग
सुकुम्बासी बस्तीमा बस्दै आएका महिला दिदीबहिनीलाई केराका थम्बाबाट रेसा निकालेर हस्तकलाका सामग्री बन्छन् भन्ने पत्तै थिएन्। भरतपुर महानगरपालिकाले केराको थम्बाबाट निकालिएका रेसाबाट विभिन्न सामग्री बनाउन सकिन्छ भनेपछि उनीहरू हस्तकलाको सामग्री बनाउन अग्रसर भएका हुन्।
‘महानगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत ब्युटी पार्लर, सिलाइकटाइ, केराको रेसाबाट हस्तकलाका सामग्री बनाउने तालिम दिएको थियो, अन्य तालिमभन्दा नयाँ लागेर हामीले केराको रेसाबाट हस्तकलाका सामग्री बनाउने तालिम रोज्यौं,’ अध्यक्ष लामाले भनिन्।
महानगरपालिकाले १० दिनको तालिम दिएको थियो। तालिममा घैलाघारीबाट ३० जना दिदीबहिनी सहभागी भएका थिए। अहिले भने २० जना हस्तकलाको सामग्री बनाउन व्यस्त छन्।
महानगरपालिकाले उनीहरूलाई रेसा बनाउन मेसिनसमेत दिएको छ। मेसिन राख्ने भवन र बिजुली नहुँदा समस्या भएको छ। यसका लागि भरतपुर–२३ सहयोग गर्न तयार रहेको वडाध्यक्ष दिपक दवाडी बताउँछन्।
प्रकाशित: ७ मंसिर २०८० ०२:४३ बिहीबार