२१ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

‘क्लिंकर’ सम्बन्धी नेपाल भारत बैठक निष्कर्ष विहिन

 वीरगन्ज-  नेपालका सिमेन्ट उद्योगहरुले भारतबाट ल्याउने कच्चा पदार्थ क्लिंकर लगायत सम्बन्धी पछिल्लो समय देखिएको समस्या अझ जटिल बन्दै गएको छ। सीमावर्ती भारतीय सहर रक्सोलको रेलवे यार्डमा रेलको रेकमा आइपुग्ने क्लिंकर ओसार पसार गर्दा प्रदुषण भयो भन्दै स्थानीयले विरोध गरेपछि भारतीय रेलवेले सिधा वीरगन्ज सिर्सियास्थित सुक्खा बन्दरगाहमा क्लिंकर पठाउन भनेको छ।

भारतको एकपक्षीय निर्णयले निम्त्याएको क्लिंकर लोड अनलोडको समस्या समाधानका मंगलवार बसेको बैठकमा दुवै देशका प्रतिनिधिहरुले समाधान निकाल्न सकेनन। विकल्प ननिस्किएपछि समस्या जटिल बन्दै गएको भन्दै उद्योगीहरुले चिन्ता जनाएका छन्।

स्थानीयको बिरोधको पृष्टभुमीमा रक्सोलबाट ‘क्लिंकर लोड–अनलोड’ विस्थापन गर्दै भारतीय रेलवे र कार्गो ढुवानी गर्ने त्यसको भगिनी संस्था भारतीय कण्टेनर निगमले तत्काल नेपालको सिर्सिया सुक्खा बन्दरगाहमा क्लिंकर लैजाने सहमति सहितको आपसी पत्राचार गरेका छन्। सुक्खा बन्दरगाहमा क्लिंकर अनलोड गर्ने नेपाल भारत रेल सम्झौतामा उल्लेख नभएको र नेपाल सरकारलाई कुनै औपचारिक जानकारी नै नभएको नेपालतर्फका सरोकारवालाले जनाएका छन् । सुक्खा बन्दरगाह संचालन र व्यवस्थापनको जिम्मा लिएको हिमालयन टर्मिनलले यसको समाधानका लागि दुवैपक्षका पदाधिकारीहरुको बैठक मंगलवार वीरगन्जमा राखेको थियो।

बैठकमा सहभागि वाणिज्य मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भारतीय रेल र कन्टेनर सेवा निगमले नेपाली पक्षलाई कुनै आधिकारिक जानकारी नगराएको बताए। ‘विभिन्न सञ्चार माध्यम र निजी क्षेत्रमार्फत जानकारी पाइएको छ। त्यसपछि लगातार छलफल गरिरहेका छौं। यसमा हामी निकै गम्भीर पनि छौं,’ सैंजुले भने, ‘दीर्घकालीन समाधानका लागि नेपाल सरकार लागेको छ। तत्कालका लागि भने पूरानै अवस्थामा क्लिंकरहरु आयात होस् ।’ सुक्खा बन्दरगाहको स्वामित्व लिएको नेपाल सरकार मातहतको नेपाल इन्टरमोडल यातायाता समितिका कार्यकारी निर्देशक लक्ष्मण बस्नेतले हिमालयन टर्मिनललाई क्लिंकर अनलोड गर्ने कुनै किसिमको अनुमति नदिएको बताए।

भारतको एकपक्षीय निर्णयको कुनै अर्थ नभएको उनले बताए । भारतीय रेलवे मध्यपुर्वी क्षेत्रका प्रमुख संचालन प्रबन्धक सलिल झाले रक्सोलमा अनलोड गर्न नसकिने भएकोले नेपालको आईसिडीमा अनलोड गर्ने व्यवस्था गर्नुपर्ने अडान राखेका थिए। नेपाली सिमेण्ट उद्योगीहरुले भने अहिले नै तत्काल ड्राईपोर्टमा अनलोड गर्ने व्यवस्था हुन नसक्ने बताउदै हाललाई केही समयका लागि साबिक किसिमले नै आयात गर्न पाउनुपर्ने आग्रह  गरेका थिए । भातीय कण्टेनर निगमका अध्यक्ष एवं प्रबन्ध निर्देशक भी कल्याण रामाले रक्सोलका स्थानीयको अवरोधका कारण उत्पन्न समस्या समाधानका लागि छलफल गर्न नेपाल आएको बताए । दुवैपक्षले मिलेर समाधान निकाल्नु पर्ने उनको भनाई छ ।

नेपाली उद्योगीहरुले सुक्खा बन्दरगाहमा अहिले फलाम उद्योगकै कच्चा पदार्थको रुपमा आउने फलाम ब्यवस्थापन मै पनि समस्या रहेकोले थप क्लिंकर पनि सोही स्थानबाट आयात गर्दा धेरै समस्या प्रतिक्रिया दिए । पूर्वाधार तयार नभए सम्मको लागि पुर्नविचार गर्न भारतीय रेलवेसँग आग्रह गरेका थिए । वीरगन्ज सुक्खा बन्दरगाह बाहेक अहिले  विकल्प नभएको भन्दै भारतीय पक्षले सुक्खा बन्दरगाहमै क्लिंकर अनलोड गर्ने व्यवस्था गर्न भनेका थिए । बैठकमा भारतर्फबाट कन्कोरका इञ्जिनियर अरुण श्रीवास्तव, मोतिहारीका एसडिएम, लगायतको पनि सहभागिता थियो । नेपालका तर्फबाट वाणिज्य मन्त्रालयका सहसचिव सैंजु, इण्टरमोडल यातायात सेवा समितिका कार्यकारी निर्देशक बस्नेत, हिमालयन टर्मिनलका प्रमुक कार्यकारी अधिकृत विष्णु चौधरी, वीरगन्ज उद्योग बाणिज्य संघका प्रतिनिधी लगायतको सहभागिता रहेको थियो । उक्त बैठकले कुनै निश्कर्ष दिन सकेन्।

प्रकाशित: ११ पुस २०७४ १३:०२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App