१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

पाँच अर्बका विद्युतीय सवारी आयात

चालु आर्थिक वर्षको तीन महिनामा पाँच अर्ब रूपैयाँ बराबरको २१ सय ३२ वटा चार पांग्रे विद्युतीय सवारी साधन भित्रिएका छन्। भन्सार विभागका अनुसार गत साउनदेखि असोजसम्ममा तीन मोडलका २१ सय ३२ वटा विद्युतीय सवारी साधन आयात भएका हुन्।

चालु आवको तीन महिनामा ५० किलोवाट क्षमताका नौ सय ५४ वटा विद्युतीय सवारी साधन आयात भएका छन्। ५० किलोवाट क्षमताका विद्युतीय सवारी साधन खरिद गर्दा एक अर्ब ७२ करोड २८ लाख ७२ हजार रूपैयाँ विदेशिएको छ।

त्यसैगरी ५१ किलोवाटदेखि एक सय किलोवाट क्षमतासम्मका एक हजार एक सय ६६ वटा चार पांग्रे विद्युतीय सवारी साधन आयात भएका छन्। ती सवारी साधन आयात गर्दा तीन अर्ब ३८ करोड २४ लाख २९ हजार रूपैयाँ खर्च भएको छ।

भन्सार विभागका अनुसार एक सय एकदेखि दुई सय किलोवाट क्षमताका १२ वटा विद्युतीय सवारी साधन आयात भएका छन्। ती सवारी साधन आयात गर्दा चार करोड ९० लाख १३ हजार रूपैयाँ बराबरको विद्युतीय सवारी साधन भित्रिएका छन्।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष ध्रुव थापाले विद्युतीय सवारी साधनप्रति नेपाली उपभोक्ताको आकर्षण बढ्दै गइरहेको बताए। ‘पहिला विद्युतीय सवारी साधनप्रति नाक खुम्च्याउनेहरू पनि अहिले खरिद गर्न इच्छुक रहेका छन्,’ उनले भने, ‘गत आर्थिक वर्षमा वर्षभरिमा करिब चार हजार विद्युतीय सवारी साधन आयात भएका थिए। गत आवमा आयात भएका सवारी साधनमध्ये कुल संख्याको ५० प्रतिशतभन्दा धेरै विद्युतीय सवारी साधन चालु आवको तीन महिनामा आयात भएका छन्।’

अध्यक्ष थापाले विगत दुई वर्ष यता नेपालमा विद्युतीय सवारी साधन आयात गर्ने क्रम ह्वात्तै बढिरहेको बताए। ‘नेपालमा विद्युतीय सवारी साधनको माग अत्यधिक मात्रामा बढिरहेको देखिएको छ,’ उनले भने, ‘पछिल्ला वर्षमा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात घटिरहेको छ भने विद्युतीय सवारी साधनको आयात उच्च मात्रामा  बढिरहेको छ।’

भन्सार विभागका अनुसार चालु आवको दुई महिनामा आठ सय ९८ वटा चार पांग्रे विद्युतीय सवारी साधन आयात भएका थिए। भन्सार विभागका अनुसार सो अवधिमा चार वटा फरक क्षमताका चार पांग्र्रे विद्युतीय सवारी साधन आयात भएका थिए।

विभागका अनुसार चालु आवको दुई महिनामा ५० किलोवाट क्षमताका इलेक्ट्रिक कार, जीप र भ्यान दुई सय ५५ वटा आयात हुँदा ४९ करोड ६५ लाख ७९ हजार रूपैयाँको आयात भएको थियो।

त्यसैगरी चालु आवकै दुई महिनामा ५१ किलोवाट क्षमतादेखि एक सय किलोवाट क्षमताका इलेक्ट्रिक कार, जिप र भ्यान ६ सय ५१ वटा विद्युतीय सवारी साधन आयात भएका थिए। ती सवारी साधन आयात गर्दा एक अर्ब ८७ करोड ६४ लाख २६ हजार रूपैयाँ बराबरको आयात भएको छ।

चालु आवकै दुई महिनामा १०१ किलोवाट क्षमतादेखि २०१ किलोवाट क्षमताका इलेक्ट्रिक कार, जिप र भ्यान तीन वटा सवारी साधन आयात भएको थियो। ती सवारी साधनलाई आयात गर्दा दुई करोड २८ लाख १२ हजार रूपयाँ भित्रिएको छ।

विभागका अनुसार अघिल्लो आवमा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय सात वटा आयात भएका थिए। अघिल्लो आवको तुलनामा गत आवमा २२ सय ४३ वटा बढी चार पांग्रे विद्युतीय सवारी साधन आयात भएका थिए। विभागको विगत दुई वर्षको तथ्यांकले पनि नेपालमा विद्युतीय सवारी साधनतर्फ सर्वसाधारणको आकर्षण ह्वात्तै बढेको देखाउँछ।

भन्सार विभागका अनुसार आव २०७८/७९ मा चार पांग्रे विद्युतीय सवारी साधन १८ सय सात वटा आयात भएको थियो तर आर्थिक वर्ष २०७९/८० मा त्यो संख्या दोब्बरभन्दा धेरैले बढेको छ।

विभागकै तथ्यांकअनुसार आव २०७९/८० मा विभिन्न मोडेलका चार हजार ५० वटा चार पांग्रे विद्युतीय सवारी साधन नेपालमा आयात भएका छन्। अघिल्लो आवकै तुलनामा पनि गत आवमा करिब ६० प्रतिशतभन्दा धेरै विद्युतीय सवारी साधनप्रति क्रेज बढेको देखिन्छ। भन्सार विभागका अनुसार आव २०७९/८० मा १२ अर्ब रूपैयाँका विद्युतीय सवारी साधन आयात हुँदा चार हजार ५० वटा विद्युतीय सवारीसाधन भित्रिएका थिए।

त्यसैगरी चालु आवको तीन महिनामा दुई हजार पाँच सय २८ वटा तीन पांग्रे विद्युतीय सवारी साधन आयात भएको छ। ती सवारी साधन आयात गर्दा २४ करोड ४७ लाख रूपैयाँ बराबरको आयात भएको हो।

चालु आवको दुई महिनाको अवधिमा भने १४ सय ९४ वटा तीन पांग्रे सवारी साधन आयात भएको थियो। ती सवारी साधन आयात गर्दा १४ करोड ५४ लाख रूपैयाँ बराबरको आयात भएको छ ।

प्रकाशित: ३ मंसिर २०८० ०२:३० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App