१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पोखरामा सयपत्री फूलको थुंगाको मूल्य ५ रुपैयाँ (फोटोसहित)

पोखराको कुँडहरफाँटमा रोपेको सयपत्री फूल टिप्दै किसान। तस्बिरः उमेश पुन/नागरिक

यस वर्षको तिहारमा पोखरामा तीनकरोड रुपैयाँ मूल्य बराबरको फूल आवश्यक पर्ने भएको छ। फुलको जोहो गर्न शुरु गरेको फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्की शाखाले जनाएको छ।

 

‘तिहारका लागि सयपत्री, मखमली र गोदावरी फूलको जोहो गर्न शुरु गरेका छौं,’ एशोसिएसनका कास्की अध्यक्ष दिलबहादुर गुरुङले भने। 

पोखरामा खपत हुने फूल शतप्रतिशत स्थानिय उत्पादनले धान्ने उनले बताए। यसअघि पोखरालाई आवश्यक पर्ने फूलमध्ये ८० प्रतिशत स्थानिय उत्पादनले धान्ने गरेको थियो। तर यस वर्ष उत्पादन बढेका कारण यहाँ आवश्यक सबै फूल स्थानिय उत्पादनले नै धान्ने अध्यक्ष गुरुङले बताए। 

पोखरामा फूल उत्पादक किसान बढ्नुका साथै फूल लगाउने क्षेत्रफल पनि बढेका कारण यसपटक आवश्यक सबै फूल स्थानिय उत्पादनले नै धान्ने फ्लोरिकल्चर एशोसिएसन नेपाल कास्कीका पूर्व अध्यक्ष दयाकुमार द्वाले जानकारी दिए। उनका अनुसार पोखरा महानगरपालिकाले फूलको बेर्ना वितरण गरेका कारण पनि उत्पादन बढेको छ। 

पोखरामा यसवर्ष आयातित प्लाष्टिकको फूल र मालामा भने प्रतिबन्ध लगाइएको छ। स्थानिय उत्पादनले नै धान्ने भएकाले पोखरा महानगरपालिकाले भारतबाट आयातित प्लाष्टिकको माला र फूललाई प्रतिबन्ध लगाएको हो। भारतबाट आयातित तिहारे फूलसँगै प्लाष्टिकबाट बनेका फूलपनि बेचबिखनमा प्रतिबन्ध लगाइएको पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनहर कडरियाले जानकारी दिए।

भारतबाट आयातित फूललाई प्रतिबन्ध लगाइए पनि स्वदेशका विभिन्न जिल्लाबाट आयात हुने फूल भने निर्वाध रुपमा आयात गर्न दिइनेछ। पोखरामा खपत हुने फूल धादिङ, गोरखा, लमजुङ लगायतका छिमेकी जिल्लाबाट आयात हुने गरेको छ। 

पोखरामा उत्पादन हुने गरेको फूलमध्ये ८० प्रतिशत किसान (सिजनल व्यवसायी)ले उत्पादन गर्दछन् भने बाँकी २० प्रतिशत पुष्प ब्यवसायीले उत्पादन गर्ने गरेका छन्। एशोसिएसनका निवर्तमान अध्यक्ष द्वा का अनुसार तिहारमा पुष्प व्यवसायीले ५० लाख रुपैयाँ बराबरको फूल बेच्छन् भने सिजनल व्यापारीले २ करोड ५० लाख बढी बेच्ने गरेका छन् ।

 पोखरा महानगरपालिकाले फूलको थुंगा र मालाको पनि दररेट तोकेको छ। म्हानगरले तोकेको दररेट अनुसार तिहारे फूल अर्थात सयपत्री फूलको १५ देखी २० ग्रामको एक थुंगालाई ५ रुपैयाँ तोकिएको छ भने १० देखी १५ ग्राम तौल भएको एक थुंगाको मूल्य ४ रुपैयाँ र ५ देखी १० ग्रामको थुंगाको २ रुपैयाँ तोकिएको छ। मालाको मूल्य भने थुंगा अनुसार १ सय ५० देखि २ सय रुपैयाँसम्म तोकिएको छ । यसैगरी, सयपत्री फूलको मूल्य प्रतिकेजी ४०० रुपैयाँ तोकिएको छ।

प्रकाशित: २५ कार्तिक २०८० ०८:४५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App