१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरिने

सडक विभागले पुल निर्माणमा नयाँ प्रविधि प्रयोग गरेर पुललाई अझै आकर्षक र टिकाउ बनाउने तयारी गरेको छ। यसका लागि विभागले डिजाइन एन्ड एड्भान्स टेक्नोलोजी सेल ( डिएटिसी) बनाएको छ।

अबदेखि पुलमा नयाँ प्रविधि प्रयोग गर्न आन्तरिक रूपमा गृहकार्य भइरहेको विभागका कर्मचारीले बताएका छन्। केही दिनअघि विभागले सडक विभागका इञ्जिनियर, पुल्चोक क्याम्पस, पोखरा विश्वविद्यालय तथा नेपाली सेनाका इञ्जिनियरहरूलाई एकै ठाउँमा बोलाइ पुलसँग सम्बन्धित विषयमा अन्तरक्रिया गरेको थियो। कार्यक्रममा पुलसँग सम्बन्धित डिजाइनर इन्जनियरहरूले आआफ्ना धारणा राखेका थिए।

कार्यक्रममा ३५ जना इञ्जिनियरहरू सहभागी भएका थिए। पुल महाशाखाले फेरि अर्को यस्तै कार्यक्रम गर्ने तयारी गरेको छ जसमा विश्वका अन्य पुल विज्ञहरूलाई बोलाइने बताइएको छ।

पुल महाशाखाका सिनियर डिभिजनल इन्जिनियर कृष्णराज अधिकारीका अनुसार पुल महाशाखाले पहिलो चरणमा पोखराको विजयपुरमा र चितवनको नारायणी पुलमा नयाँ प्रविधिमा आधारित पुल बनाउने तयारी गरेको छ। ‘सिग्नेचर शैलीबाट बन्न लागेका ती दुई पुलमा पूर्णतः नयाँ प्रविधि प्रयोग हुने छ। साथै डिजाइन पनि नयाँ हुने छ। यसबाट हामीलाई थप अनुभव हुने छ’, अधिकारीले भने।

अधिकारीका अनुसार पोखरा र नारायणी नदीबाहेक अन्य ठाउँमा पनि नयाँ प्रविधिको पुल बनाउने तयारी भएको छ।

विभागका अनुसार अब निर्माण हुने नयाँ पुल चार लेन अथवा ६ लेनका हुनेछन्। यसअघि दुई लेनका पुल निर्माण हुँदै आएका छन्। नयाँ प्रविधिमा आधारित एउटा पुलको डिजाइन गर्न मात्र एक करोड खर्च हुने पुल महाशाखाले जनाएको छ। महाशाखाका अनुसार एक करोड खर्च गरेर डिजाइन गरिएको नयाँ पुल निर्माण गर्न करिब तीन अर्ब रूपैयाँ हाराहारी खर्च हुने छ।

प्रकाशित: १९ कार्तिक २०८० ०१:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App