६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अर्थ

दुई खर्ब ४२ अर्ब लगानी प्रतिबद्धता

बेलायतीलाई नेपालमा लगानी गर्न निम्तो

सरकारले नेपालमा लगानी गर्नका लागि बेलायती लगानीकर्तालाई आग्रह गरेको छ। मुलुकमा अपेक्षित रूपमा वैदेशिक लगानी नभित्रिएको अवस्थामा नेपालको विकास साझेदार बेलायतमै लगानी सम्मेलनको आयोजना गरेर लगानी गर्न निम्तो दिएको हो।

नेपालमा प्रत्यक्ष वैदेशिक लगानी घटेको बेला सरकार विदेशी लगानीकर्तालाई लगानी गर्न आग्रह गरेका छ। गत आर्थिक वर्षमा मात्रै वैदेशिक लगानीको प्रतिवद्धता २१ अर्ब रूपैयाँभन्दा धेरैले घटेको अवस्थामा सरकारले विदेशमा लगानी सम्मेलन गर्न सुरु गरेको छ।

लन्डनमा मंगलबार सम्पन्न लगानी सम्मेलनका अवसरमा नेपालमा दुई खर्ब ४२ अर्ब ७२ करोड रूपैयाँ (१.५ विलियन पाउन्ड) लगानी गर्ने प्रतिवद्धता आएको छ। युके एक्सपोर्ट फाइनान्सका प्रमुख कार्यकारी अधिकृत टिम रिडले नेपालका विभिन्न क्षेत्रमा १.५ बिलियन पाउन्डसम्म लगानी गर्न युके एक्सपोर्ट फाइनान्स तयार रहेको बताए।

कार्यक्रममा नेपालको नवीकरणीय ऊर्जा, सूचना प्रविधि एवं शिक्षा क्षेत्रमा लगानी भित्र्याउने बारेमा छलफल भएको थियो। वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता ल्याउने प्रक्रिया सरलीकरण गर्न नेपाल प्रतिवद्ध रहेको भन्दै नेपाली अधिकारीले लगानीकर्तालाई आश्वस्त पारेका थिए।

-डा. प्रकाशशरण महत,अर्थमन्त्री

नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय स्रोत आवश्यक छ। नेपालमा लगानीका लागि आमन्त्रण छ। सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानी आउने आशा गरेका छौं। बेलायतबाट लगानी वृद्धि हुने विश्वास लिएको छु।

-डा. प्रकाशशरण महत,अर्थमन्त्री

नेपाल र संयुक्त अधिराज्यबीच सन् १९२३ मा सम्पन्न मैत्री सन्धिमा हस्ताक्षर भएको एक सय वर्ष पूरा भएको अवसरमा कार्यक्रम आयोजना गरिएको हो। सम्मेलनमा बेलायती बैंकर्स, निजी लगानीकर्ता, बिमा कम्पनी, बेलायत लगायत युरोपेली मुलुकका विकास वित्तीय संस्थाका प्रतिनिधि, व्यापार मन्त्रालय एवं परराष्ट्र मन्त्रालयका अधिकारीसहित गैरआवासीय नेपाली पनि सहभागी थिए।

कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महतले बेलायती लगानीकर्तालाई नेपालमा लगानी गर्न आह्वान गर्दै निम्तो दिए। ‘नेपालको समृद्धि र आर्थिक रूपान्तरणका लागि ठूलो वित्तीय श्रोत आवश्यक छ,’ अर्थमन्त्री महतले लगानी सम्मेलनमा बेलायतका लगानीकर्तालाई भने, ‘नेपालमा लगानीका लागि आमन्त्रण छ।’ आन्तरिक श्रोत पर्याप्त नभएकाले वैदेशिक लगानी अपरिहार्य रहेको उनले बताए। लगानी मैत्री वातावरणका लागि आवश्यक ऐन, कानुन निर्माण तथा परिमार्जन गरेको बताए।

‘अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानुनी पूर्वाधार तयार गरिन्छ,’ उनले भने, ‘बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास लिएको छु।’

अर्थमन्त्री महतले नेपालमा निजी क्षेत्रको लगानी भित्र्याउन आवश्यक सहयोग र सहजीकरण गर्न बेलायत सरकारलाई पनि आग्रह गरेका छन्। महतले बेलायतका परराष्ट्र राज्यमन्त्री आन मारी ट्रेवल्यानसँग भेटेर बेलायतबाट नेपालमा वैदेशिक लगानी भित्र्याउन सहयोगको अपेक्षा गरिएको बताए।

‘नेपालको वित्तीय स्रोत साधनमा आएको कमी, सामाजिक सुरक्षामा गरिएको लगानी, आन्तरिक र बाह्य ऋण वृद्धि भएकाले लगाानी योग्य पुँजीमा कमी छ,’ अर्थमन्त्री महतले भने, ‘नेपालमा बाह्य लगानीको आवश्यकता रहेकाले सूचना प्रविधि, शिक्षा र पर्यटन क्षेत्रमा बेलायतबाट लगानी आउने आशा गरेका छौं।’

बेलायतका परराष्ट्र राज्यमन्त्री ट्रेवल्यानले बेलायत नेपालको विकास साझेदार रहेकाले आवश्यक सहयोग गर्ने बताए। ‘बेलायतबाट नेपालका प्राथमिकताका क्षेत्रमा लगानी अभिवृद्धि गर्न सकारात्मक छौं,’ उनले भने।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विदेशी लगानीकर्तासँग नेपालको निजी क्षेत्र साझेदार गर्न तयार रहेको बताए। ‘नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह छ,’ अध्यक्ष ढकालले बेलायती लगानीकर्तालाई भने, ‘ठूला पूर्वाधार विकासका लागि नेपालमा थप बाह्य पुँजी आवश्यक छ। विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा लगानी गर्न अवसर छ।’

अध्यक्ष ढकालले नेपालमा उत्पादन भएको बिजुलीका लागि भारतीय बजार रहेकाले जलविद्युत् आयोजनामा लगानीको अवसर रहेको बताए। ढकालले पर्यटन, जलविद्युत्मा लगानी गर्न आह्वान गर्दै सहकार्य गर्न तयार रहेको बताए । ढकालले नेपालको बढ्दो पर्यटन बजारका लागि केबलकार, रिसोर्ट, थिम पार्क, हिल स्टेसन र स्तरीय होटेल जस्ता पर्यटन पूर्वाधारमा लगानीको ठूलो सम्भावना रहेको बताए।

नेपालमा लगानी गरेका लगानीकर्ताले राम्रो प्रतिफल लगेको ढकालले बताए। ‘बहुर्राष्ट्रिय कम्पनीहरूले नेपालमा गरेको लगानीबाट उच्च प्रतिफल प्राप्त गरिरहेका छन्,’ ढकालले बेलायतका लगानीकर्तालाई भने, ‘उत्पादन, कृषि प्रशोधन, आइसिटीसहित अन्य क्षेत्रमा लगानी गर्ने अवसर छ।’

नेपाल–बेलायत ऐतिहासिक सम्बन्धको चर्चा गर्दै नेपालका विभिन्न क्षेत्रमा लगानीका प्रशस्त सम्भावना रहेकाले सघाउन तयार रहेको बेलायत नेपाल संसदीय समूहका अध्यक्ष वीरेन्द्र शर्माले बताए।

चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र  विकास साझेदारहरूलाई आग्रह छ। विदेशी निजी लगानीकर्ता तथा विकास साझेदारका लागि नेपालमा लगानी गर्ने अवसर छ।  विदेशी लगानीकर्तासँग नेपालको निजी क्षेत्र साझेदार गर्न तयार छ।

-चन्द्रप्रसाद ढकाल, अध्यक्ष, नेपाल उद्योग वाणिज्य महासंघ

नेपालमा नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा प्राथमिकताका साथ लगानी भित्र्याउन चाहेको बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले बताए। नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बंगलादेश समेत निर्यात गर्न तयारी गरेको बताए। सम्मेलनले नेपालमा लगानी भित्र्याउन टेवा पुग्ने बताउँदै नेपालमा लगानी गर्न राजदूत आचार्यले आग्रह गरे।

सिटी अफ लन्डनमा प्रशस्त वित्तीय श्रोत तथा जोखिम बहन गर्ने बिमा कम्पनीहरू रहेको बताउँदै नेपालको दिगो विकासका लागि सिटी अफ लन्डनको सहयोग रहने सिटी अफ लन्डनका अल्डरम्यान तथा सेरिफ ब्रोनेक मसोजादाले बताए।

ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्टमार्फत् नेपालका विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले बताए ‘गत केही वर्षमा नेपालमा वैदेशिक लगानीको वातावरण सुधारका लागि बेलायतले सहयोग गरिरहेको छ,’ उनले भने, ‘नेपाल अति कम विकसित मुलुकबाट विकासशील मुलुकमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्छौं।

वैदेशिक लगानीका लागि नेपालको विभिन्न क्षेत्रमा रहेका अवसरहरू रहेकाले विदेशी लगानीकर्तालाई सहजीकरण गर्न लगानी बोर्ड प्रतिवद्ध रहेको लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले बताए।

कार्यक्रममा नेपालमा लगानी गरिरहेका ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट, बेलायत, एफएमओ, नेदरल्यान्डस, बायो, बेल्जियम, फिनफन्ड, प्रोपार्को, फ्रान्स एवं साइफेम, स्वीजरल्यान्डबीच नेपालमा विकास वित्तीय संस्थाहरूको लगानी सहजीकरण गर्ने सम्बन्धी एक समझदारीपत्रमा हस्ताक्षर भएको नेपाली राजदूतावास, लन्डनले जनाएको छ।

प्रकाशित: १६ कार्तिक २०८० ०१:२२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App