३१ वैशाख २०८१ सोमबार
image/svg+xml
अर्थ

फलफूल लगायतका खाद्य सामग्रीको मूल्य महँगो भएको सर्वसाधारणको गुनासो

चाडवाडको समयमा फलफूल लगायतका खाद्य सामग्रीको मूल्य दोब्बरले महँगो भएको सर्वसाधारणले गुनासो गरेका छन्।

चाडपर्वमा समेत सरकारले मूल्यवृद्धी नियन्त्रण गर्न नसक्दा सर्वसाधारणले दुःख पाएको सर्वसाधारणको गुनासो छ। चाडपर्वमा सरकारले सहुलियत दिनुपर्ने ठाउँमा चाडपर्वका लागि चाहिने चिनी लगायतका खाद्य सामग्रीको अभावसमेत परिपूर्ति गर्न नसकेको उनीहरूको भनाइ छ।  

बजारमा चिनीको अभाव र चामल लगायका खाद्य सामग्रीको गुणस्तरियता नभएको पनि सर्वसाधारणले बताएका छन्। विगतका वर्षहरूकोभन्दा यस वर्षको दसैँको समयमा मूल्यवृद्धी दोब्बरले बढी भएको फलफलू किन्न बजार पुगेका दिनेश श्रेष्ठको भनाइ छ।

उनले भने, ‘दसैँ अघि ३०० देखि ३५० मा किलोको पाइन्थ्यो। तर, दसैँ सुरु भए लगतै ३८० देखि ४०० सम्म पुगेको छ। केरा पनि उस्तै महँगो भएको छ।’

जगतनारायण नायकले स्याउ, अनार लगायतका फलफूलमा धेरै महँगी बढेको गुनासो गरे। उनले सरकारले महँगी नियन्त्रण गर्नुपर्ने भन्दै सामग्रीहरूको आवश्यकता पूरा गर्न सक्नुपर्ने र जनतालाई दुःख दिनु नहुने बताए।

यस्तै सजना देवकोटाले पनि तरकारीको पनि मूल्य आकाशिएको बताइन्। दसैँ अघि सय रुपैयाँ किलोको पर्ने काउली अहिले २ सयसम्म पुगेको उनको गुनासो छ। अन्य तरकारीको मूल्य पनि आकाशिएको उनको भनाइ छ।

त्यस्तै फलफूल व्यापारी लक्ष्मी श्रेष्ठले सामग्रीको गुणस्तर हेरेर मूल्य बढेको बताउँछिन्। उनले विगतको भन्दा यस वर्ष अनार, नरिवल पानीको मूल्य बढेपनि अरु फलफूलमा खासै मूल्य नबढेको बताइन्। उनले आफूले पसल राखेको सात वर्षमा पहिलो पटक व्यापार घटेको बताइन्।

उनले यस वर्ष व्यापार नहुँदा व्यवसाय गर्न हरेस खानुपर्ने अवस्था सिर्जना भएको बताइन्।

प्रकाशित: ५ कार्तिक २०८० ०६:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App