२८ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बेमौसमी बर्षातले सधैं मर्कामा किसान

बनबेहडाकी भगवती बडैलाको खेतमा बर्सातले भिजेको धान। तस्बिर: नागरिक

किसानले कहिले समयमै धान र गहुँको बीउ नपाउने त कहिले मल नपाउने। कहिले सिँचाइ तथा जोत्नका लागि डिजेल नपाउने त कहिले उत्पादित फसलको उचित मूल्य वा बजार नपाउने हुँदा सधैं मर्कामा पर्दै आएका छन्।

सरकारले कहिले उन्नत जातको बिउ सिफारिस गर्ने तर किसान कहाँ भने नक्कली बीउ पुग्ने गरेकाले उत्पादन नभएर ठगिँदै आएका किसान यसपालि भने प्रकृतिबाटै धोका पाएका छन्। यसपालि मौसम ठिक्क थियो, धानका बाला झुलेका थिए।

किसान हौसिएका थिए। केहीले धान काटेर खेतमा फिजाएका छन् त केहीले कुनिउँ लगाएका छन्। यही बेला बेमौसमी बर्सात आइदियो र डुबाइदियो किसानको धान।

चार वर्षअघि मसिनो तथा वासनादार र खान स्वादिलो हुने भन्दै नेपाल सरकारले पञ्जीकृत गरेको गरिमा जात (वर्णशंकर) को धान कैलाली–कञ्चनपुरका किसानले रोपेका थिए। सरकारलाई परीक्षणका लागि सक्कली बीउ दिएका भारतीय रेनोभा कम्पनीले किसानलाई नक्कली बिउ उपलब्ध गराउँदा किसान ठगिएका थिए।

कैलाली–कञ्चनपुरमा ६ सय ५३ हेक्टर जमिनमा लगाएको गरिमा जातको धानले फसल नदिँदा यहाँका १५ सय ३६ किसान ठगिएका थिए । यसपालि भने सुदूरका किसानलाई प्रकृतिले ठगिदिएको छ।

यस्तै, २०६८ सालमा डोटीमा १२ सय ७२ रोपनी जमिनमा लगाएको राधा–४ र सावित्री धान बालीले फसल दिएको थिएन। सरकारले कृषिलाई प्राथमिकता भन्दै आए पनि उन्नत बीउ, पर्याप्त सिँचाइ, मलखाद र प्रविधिको अभावमा राम्रो उत्पादन गर्न नसकेका किसानहरू सरकारले नै सिफारिस गरेको धानको बिउले फसल नदिँदा कृषिकर्म गर्नेहरूमा निराशा बढेको छ।

‘सरकारबाट उन्नत बीउ, मलखाद तथा कृषि प्रविधिमा सोचेजस्तो उत्पादन गर्न सकिरहेका थिएनौं,’ गौरीगंगाकी भगवती बडैलाले भनिन्, ‘यसपालि बीउ, मलखाद र मौसम ठिक्क थियो। धान राम्रै फलेको थियो तर काटेर भित्र्याउनै लाग्दा बेमौसमी बर्सातले धोका दियो।’

धान राम्रै फलेको भए पनि काटेर खेतमा सुकाइएको धान बेमौसमी वर्षाले डुबाएको अर्का किसान खुसीराम थारू बताउँछन्। ‘धान राम्रै थियो, पानी पर्दैन भनेर दुई दिनदेखि काट्यौं, अहिले आएर पानी पर्दा खेतमा धान भिजेको छ,’ उनले भने, ‘यसले गर्दा धान चुटाइ तथा थ्रेसिङमा समस्या पर्ने भयो।’

भिजेको धान कुटाउँदा सिंगो चामल ननिस्कने वा टुटेर कनिका बन्ने समस्या आउँछ। उनले भने, ‘भिजेको धानले न मूल्य पाउँछ, न खानकै लागि राम्रो मानिन्छ।’

धानसँगै परालमा पनि भिज्दा ढुसी लाग्ने भएकाले गाईवस्तुले पनि राम्ररी नखाने गरेको उनले बताए।

धान काटेर सुकाउन खेतमै राखेका किसानको धानबाली भिजेर काम नलाग्ने अवस्थामा पुगेको छ भने छरिएको तोरी र तरकारी बालीलाई पनि क्षति पुगेको छ। खेतबारीमा रोपिएका तथा भित्र्याउन ठिक्क पारिएका बालीनाली बर्सातले पूरै नष्ट पारिदिएको बताउँदै गौरीगंगाका किसान राजेन्द्र चौधरीले भने, ‘बेमौसमी बर्सातले वर्षभरिको उत्पादन नष्ट बनाइदिएको छ।’

बेमौसमी बर्सातले किसानलाई धोका दिएको प्रदेश कृषि निर्देशनालय दिपायलका प्रमुख यज्ञराज जोशी बताउँछन्। ‘भित्र्याउन ठिक्क पारिएको धान पानीले भिजेको छ। जसले गर्दा धान थ्रेसिङ तथा चुटाइमा समस्या पर्ने भयो,’ उनले भने, ‘लगातार पानी पर्‍यो भने किसानलाई थप समस्या पर्नेछ।’ 

प्रकाशित: ३ कार्तिक २०८० ०१:४१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App