१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

नेपाल-कोरिया उडानमा प्राधिकरण नै बाधक

क्याप्शन

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दक्षिण कोरियामा सिधा उडान गर्ने भनेको सात वर्ष बितिसक्दा पनि आलटाल हुँदै आएको छ। नागरिक उड्डयन प्राधिकरणलाई दक्षिण कोरियाको सिभिल एभिएसन अथोरिटीले सिधा उडान सञ्चालनार्थ सेफ्टी अडिट गर्न पटकपटक ताकेता गरे पनि बेवास्ता गर्दा आलटाल भएको हो।

‘उडानका लागि दक्षिण कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले अडिट गर्नुपर्ने हुन्छ तर यहाँको नागरिक उड्डयन प्राधिकरणले समय नदिँदा सात वर्षदेखि नै आलटाल हुँदै आएको हो,’ स्रोतले भन्यो। समयमै सेफ्टी अडिट भएको भए दक्षिण कोरियाको राजधानी सिओलस्थित इन्चोन इन्टरनेसनल एयरपोर्टमा वायुसेवा निगमको सिधा उडान भइसक्ने अवस्थामा प्राधिकरणकै कमजोरीले सात वर्षसम्म उडान हुन नसकेको स्रोतको दाबी छ।

पछिल्लोपटक कोरियाको सिभिल एभिएसनले नागरिक उड्डयन प्राधिकरणलाई अक्टोबर १६ देखि २० मा नेपाल आउने र सेफ्टी अडिट गर्ने प्रस्ताव गरेको थियो। त्यसलाई प्राधिकरणले घुमाउरो भाषामा अस्वीकार गरेका छ।

अक्टोबर १५ देखि २० सम्म एसिया प्यासिफिक हवाई नियमक निकायहरूको डिजीहरूको सम्मेलनमा जानुपर्ने भएकाले सो अवधिमा नभ्याइने बरु सम्मेलनतिरै ‘साइडलाइन’ छलफल गर्ने भन्दै इमेल पठाएर प्राधिकरणले अस्वीकार गरेको थियो।

 सम्मेलनमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी लगायतको टोली ढाका जाने भएको छ। सोही सम्मेलनमा साइडलाइन वार्ता गर्ने भन्दै कोरियाली टोलीलाई नेपाल आउनबाट वञ्चित गरिएको स्रोतले जनाएको छ। यो विषयमा बुझ्न खोज्दा प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलासँग सम्पर्क हुन सकेन।

वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडान गन्तव्य विस्तारको योजनाअनुरूप दक्षिण कोरिया सिधा उडानका लागि २०७३ सालदेखि तयारी थालेको थियो। राष्ट्रिय ध्वजावाहक निगमको उपस्थिति र सिधा उडान सुरुआतपछि बजार नियन्त्रण भई हवाई टिकटको मूल्य घट्ने र राष्ट्रिय ध्वजावाहकको दायित्व पनि पूरा हुने निगमको चाहना थियो। तर नागरिक उड्डयन प्राधिकरणको असहयोगका कारण अहिलेसम्म उडान हुन नसकेको जनाइएको छ।

निगमले हाल भारतका तीन गन्तव्यसहित आठ देशका १० गन्तव्यमा अन्तर्राष्ट्रिय उडान भर्दै आएको छ।

निगमसँग दुई थान न्यारो बडी ए–३२० र दुई थान वाइडबडी ए–३३० का जहाज छन्। २०७३ सालमा नागरिक उड्डयन प्राधिकरणका तर्फबाट जनक कालाखेतीले सिउल पुगेर ती विमानबाट सिधा उडानका लागि छलफल गरेका थिए।

२०७४ चैत १८ मा कोरिया–काठमाडौंबीच उडान गर्ने विषयमा विस्तृतमै छलफल गरी एउटा निक्र्योमा पुग्ने र त्यहीबेलादेखि उडान गर्ने भनिएको थियो। तर नेपाल इयुको सेफ्टी लिस्ट भएकाले कोरियाको सिभिल एभिएसनले पनि सेफ्टी अडिट गर्नुपर्ने प्रस्ताव गरिएको थियो।

२०१८ अप्रिल २६ मा कोरिया सरकारलाई पठाइएको पत्रमा नेपाल इयु सेफ्टी लिस्टमा रहेको उल्लेख थियो। कोरिया सरकारले सन् २०१८ मा बनाएको गाइडलाइन अनुसार कुनै पनि देशको एयरलाइन्स इयुको सेफ्टी लिस्टमा परेको वा आइकाओले प्रतिबन्ध लगाएको छ भने र अमेरिकामा क्याटेगोरी २ मा प्रतिबन्ध लगाएको भए कोरियाका लागि उडान अनुमति दिन नसक्ने तर कोरियाको मिनिस्ट्री अफ ल्यान्ड, इन्फास्ट्रक्चर अफ एन्ड ट्रान्सपोर्ट (मोलिट) अन्तर्गतको सिभिल एभिएसन अथोरिटीले सेफ्टी अडिट गरेर उडान अनुमति दिन सक्ने प्रावधान राखिएको थियो। सोहीअनुसार त्यो सेफ्टी अडिट पूरा गरेपछि उडान गर्न दिने विषयमा कोरियास्थित नेपाली दूतावासलाई बारम्बार जानकारी गराइएको थियो।

स्रोतका अनुसार नेपाल–कोरिया सिधा उडानका लागि अर्जुनबहादुर सिंहले पटकपटक पहल गरे पनि कोरिया सरकारले सेफ्टी अडिटकै विषय दोहोर्‍याएको थियो। त्यो विषयलाई कोरियामा रहेको नेपाली दूतावासले पर्यटन मन्त्रालयमा पत्राचार गरेको थियो। त्यसपछि नेपाल एयरलाइन्स उडानका लागि अडिट गर्न तयार रहेको पत्राचार गर्‍यो। त्यसका लागि निगमका नायब महाप्रबन्धक (प्राविधिक) इन्जिनियर विक्रम केसीको संयोजकत्वमा १० सदस्यीय सेफ्टी अडिट उपसमिति गठन गरेको थियो। समितिमा निगमको सेफ्टी इन्जिनियरिङलगायत विभागको प्रतिनिधित्व थियो।

‘अडिटका लागि कोरियाबाट आउने टोलीको सबै खर्च नेपाल एयरलाइन्सले बेहोर्ने प्रावधान रहेकाले त्यसैबमोजिम गर्ने जानकारी गराइएको थियो। कुन प्रक्रियाले अडिट गर्ने हो, त्यसको मस्यौदा बनाएर पठाइदिनू भनेर उताबाट पत्राचार भयो तर त्यसबीचमा कोहीकसैले फलोअप गरेनन्। त्यसको रेस्पोन्स नगरी कोरियाले उत्तर दिएन भन्ने बहानाबाजी गरेर बसे,’ पर्यटन मन्त्रालयका एक उच्च अधिकारीले भने।

२०७९ चैत ६ मा नेपालमा वाइडबडी जहाज आइसकेको जानकारी दिएर सिधा उडानका लागि कोरिया सरकारसँग कुरा गरिदिनू भनी कोरियास्थित नेपाल दूतावासलाई आग्रह गरिएको उनले बताए।

उनका अनुसार त्यसपछि दूतावासले त्यहाँको काउन्टर पार्टसँग कुराकानी गरेको थियो। एयर सर्भिस एग्रिमेन्ट गरेपछि उडान अनुमति दिनुपर्‍यो भनेर कुरा गरेको पाइएको स्रोतले जनाएको छ।

‘हामीले उडान अनुमति नदिने भनेका छैनौं तर सेफ्टी अडिटको समय मिलेको छैन,’ कोरियाको सिभिल एभियसनका अधिकरीहरूले दिएको जवाफ उद्धृत गर्दै स्रोतले भन्यो। नेपाल–कोरिया सिधा उडान हुन नसक्दा नेपालीले महँगो शुल्कमा यात्रा गर्नुपर्ने अवस्था आएको छ।

प्रकाशित: २६ आश्विन २०८० ०१:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App