२६ महिनादेखि ओरोलो लाग्ने क्रममा रहेको सेयर बजार झन् झन् शिथिल बन्दै गएको छ। तीन हजार दुई सय २७ बिन्दुको उचाइ छोएर ओरालो लागेको सेयर बजार विभिन्न उतारचढाबका बीच १८ सय १० बिन्दुको तल्लो बिन्दु छोएर फर्किएकोमा अहिले १९ सय ८ को बिन्दुमा रहेको छ।६ महिनायता २२ सय माथिको टिक्न नसकेको बजार अहिले दुई हजारकै बिन्दु वरिपरि घुमिरहेको छ।
कोरोना कालमा व्यापार व्यवसायका अन्य क्षेत्र खुम्चिँदा सेयर बजारमा चमक आएको थियो। करिब ४० खर्बको कुल ग्राहस्थ उत्पादन रहँदा बजार पुँजीकरण ४२ खर्बमाथि पुगेपछि त्यसलाई नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले एकाघरको परिवारका हकमा एक वित्तीय संस्थाबाट ४ करोड र अधिकतम १२ करोड रूपैयाँको सीमा तोकिदिएको थियो। यसपछि बजार क्रमशःओरालो लाग्दै गएको हो।
‘तत्कालीन परिस्थितिमा राष्ट्र बैंकले सेयर बजार ‘बबल’ नहोस् भन्ने उद्देश्यले सो नीति ल्यायो। त्यति मात्र होइन विदेशी मुद्रा सञ्चिती पनि घट्दै गएपछि आयातमा रोक लगायो भने डलर सटहीमा पनि एक हजार मात्र साट्न सकिने प्रावधान ल्यायो,’ एक विश्लेषकले भने, ‘तर, अहिले घरजग्गालगायत सबै क्षेत्रमा राष्ट्र बैंक नरम देखिए पनि सेयर बजारप्रतिको पूर्वाग्रह कायमै रहेकालो सेयर बजारमा मनोबल उस्किन नसकेको हो।’ अवस्था सहज भएपछि राष्ट्र बैंकले हजार डलर सटहीलाई २५ सय बनाएको छ भने आयात खुकुलो बनाइसकेको छ। तर सेयर बजारमा भने उल्लेख्य परिवर्तन गर्न राष्ट्र बैंकले मानेको छैन।
राष्ट्र बैंकले ४/१२ को सीमा तोकेपछि त्यसको निरन्तर विरोध भए पनि सरकार वा नियमक निकायले लगानीकर्ताको कुरा सुन्ने प्रयाससम्म नगरेको ती विश्लेषकको भनाइ छ। ‘चौतर्फी दबाबपछि गत बिहीबार एकीकृत निर्देशिकामा १२ करोडको सीमालाई १५ करोड बनाइयो तर बजारले मागेको जोखिम भारित औषत १५० बाट पनि झारिएन र संस्थागत लगानकिर्तालाई पनि २० करोडको सीमा तोकियो। यो झारा टार्न मात्र ल्याएको प्रावधान हो,’ ती विश्लेषकले भने।
उनका अनुसार संस्थागत लगानीकर्तालाई सीमा नतोकेको भए र जोखिम भारित औषतलाई सय वा एक सय २५ सम्म ल्याएको भए लगानीकर्ताको मनोबल अर्कै हुनेथियो। पूर्वअर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे, डा. युवराज खतिवडा र विष्णु पौडेलले सार्वजनिक समारोहमै राष्ट्र बैंकले तोकेको ऋण सीमा हटाउनुपर्ने बताउँदै आएका थिए। त्यति मात्र होइन वर्तमान अर्थमन्त्री डा. प्रकाशशरण महतले त ‘मैले गभर्नरलाई भनेकै हो टेरेनन् त म के गरुँ’ भनेर आफ्नो निरिहता देखाएका थिए।
त्यति मात्र होइन राष्ट्र बैंककै सञ्चालक रहेका पूर्वडेपुटी गभर्नर चिन्तामणि शिवाकोटीले त सार्वजनिक सञ्चार माध्यममा नै गभर्नरले सञ्चालकलाई समेत अटेर गरेर निर्देशिका ल्याएको भन्दै असन्तुष्टि जनाएका थिए।
सडकदेखि संसद्सम्म सेयर बजारमा आएको शिथिलताबारे चर्चा भए पनि यसबारे सरकारात्मक माहोल बनाउन सरकार असफल भएको लगानीकर्ताहरूको आरोप छ। सांसद् हरि ढकालले त संसद्मा नै राष्ट्र बैंक सरकारले चलाउने हो कि राष्ट्र बैंकले सरकार चलाउने हो भन्नेसम्मका प्रश्न गरेका थिए।
कतिपयले भने पछिल्लो समय राष्ट्र बैंकले केही न केही सकारात्मक सन्देश दिन खोजेको बताउँछन्। तर लाभांशको सिजनमा समेत लगानीकर्ताको मनोबल माथि उठ्न नसक्नुमा सेयर बजारप्रति सरकारले हेर्ने दृष्टिकोण स्पष्ट नहुनु मुख्य कारण रहेको लगानीकर्ताको गुनासो छ।
सेयर बजारलाई पटकपटक नकारात्मक बनाउन जिम्मेवार भूमिकामा रहेका मानिसहरूकै हात रह्यो, कहिले पुँजीबजार पुँजीवादको चरम रूप भनेर टिप्पणी गर्ने कहिले सेयर बजार जुवा घर हो भनेर बोल्ने प्रवृत्ति नै सेयर बजारका लागि घातक हो,’ लगानीकर्ता राजु पौडेल भन्छन्, ‘करिब २० अर्ब रूपैयाँ वार्षिक राजस्वमा योगदान गरेको सेयर बजार अहिले तीन अर्ब पनि मुस्किलले दिनसक्ने अवस्थामा आउनु पुरानो मानसिकताकै उपज हो।’
लगानीकर्ताले सोचे अनुरूप नियामक निकायले कदम नचाल्दा लगानीकर्ताको मनोबल भने निरन्तर खस्कँदो छ। राष्ट्र बैंकले एकीकृत निर्देशिका जारी गरेपछिको पहिलो कारोबारमा ३५.६७ अंकले घटेको नेप्से परिसूचक सोमबार पनि राताम्मे बन्यो। सोमबार दिनभरजसो उतारचढावपूर्ण रहेको नेप्से परिसूचक हुँदै कारोबार बन्द हुने बेला भने १२.५८ अंकले घटेर १९०८.६६ बिन्दुमा आइपुगेको छ।
सोमबार जम्मा ६६ कम्पनीको सेयर बढ्यो भने १५८ कम्पनीको सेयर घट्यो। १० कम्पनीको सेयर स्थिर रह्यो। यस दिन ४२ लाख २७ हजार एक सय ७९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब १७ करोड एक लाख ७२ हजार सात सय २२ रूपैयाँ बराबरको कारोबार भयो।
नेप्से परिसूचक धितोपत्र बजार मापन गर्ने सबैभन्दा महत्वपूर्ण परिसूचक हो । जसमा नेप्सेमा सूचीकृत संस्थापक तथा साधारण दुवै सेयरको आधारमा वर्ष मूल्य र वर्तमान बजार मूल्यका आधारमा गणना गर्ने गरिन्छ । नेपाल स्टक एक्सचेन्जका अनुसार सोमबार नेप्सेका तीनवटै सूचक घटेर राताम्मे भए ।
प्रकाशित: २३ आश्विन २०८० ०२:४३ मंगलबार