३० वैशाख २०८१ आइतबार
image/svg+xml
अर्थ

अन्तर्राष्ट्रिय व्यापार मेलाको स्टल बुकिङ खुला

नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय व्यापार मेलाका लागि स्टल बुकिङ खुला गरेको छ । महासंघले आगामी मंसिर १४ देखि १८ गतेसम्म काठमाडौंमा मेला आयोजना गरेको छ ।

काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने मेलाका लागि ५० प्रतिशत स्टल बुकिङ भई सकेको जनाइएको छ । यस वर्षको मेलामा चीन, भारत, पाकिस्तान, बंगलादेश र भुटानको सहभागिता हुने भएको छ । मेलामा नेपाली युवा उद्यमी मञ्चद्वारा ‘मेड इन नेपाल पेभेलियन’ तथा वस्तुगत संघहरूको ‘कमोडिटी पेभेलियन’ रहने छ ।

नेपाल सरकार÷उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा व्यापार तथा निकासी प्रबद्र्धन केन्द्रको प्रबद्र्धन तथा ललितपुर उद्योग वाणिज्य संघ र नेपाल हस्तकला महासंघको सह आयोजनामा क्यालेन्डर इभेन्टको रूपमा सो मेला आयोजना हुन लागेको हो । नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२३ नवौं संस्करण हो ।

मेला नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रबद्र्धन गर्न एक सशक्त माध्यम बन्दै आएको छ । अन्तर्राष्ट्रिय व्यापार मेलामा नेपालको औद्योगिक व्यावसायिक सम्भाव्यताका विषयमा जानकारी गराउन थप सहयोग पुग्ने विश्वास लिइएको छ ।

कुल ३०० भन्दा बढी स्टलमार्फत मेलामा स्वदेशी एवं विदेशी वस्तु तथा सेवाको प्रदर्शनी गरिने छ । मेलामा सार्क राष्ट्रसहित चीन, कोरिया, जापान, इन्डोनेसिया, मलेसिया लगायतका देशका क्रेताहरूलाई आमन्त्रण गरिने छ ।

मेलामा भारतको इन्डिया च्याम्बर अफ कमर्स र नेपालको नेपाल हब्र्स तथा हर्बल उत्पादक संघको संयुक्त आयोजनामा आयुर्वेद सम्बन्धी वस्तुहरूको प्रदर्शनी एवं प्रवचन कार्यक्रमसमेत हुने छ ।

नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको मुख्य आकर्षणमा ‘मेड इन नेपाल सो’ हस्तकला उत्पादन रहने छन् । मेलाका अवसरमा अन्तर्राष्ट्रिय खरिदकार्तासँग प्रत्यक्ष अन्तरक्रिया गराउने लक्ष्यसमेत रहेको छ । मेलाका अवसरमा विभिन्न देशबाट आउने व्यापारिक प्रतिनिधिहरूसँग भेटघाट तथा द्विपक्षीय व्यापार प्रबद्र्धन तथा लगानीबारे छलफल हुने र यस वर्षको मेलामा स्वदेशी र विदेशी गरी करिब ५० हजार अवलोकनकर्ताहरूको सहभागिता रहने अनुमान छ । विभिन्न जिल्लामा आयोजना भएका मेलाहरूमा उत्कृष्ट स्टल तथा उत्पादनलाई अन्तर्राष्ट्रिय व्यापार मेलामा निःशुल्क स्टल उपलब्ध गराइने छ ।

महासंघकै नेतृत्वमा यस वर्ष अघिल्ला वर्षहरू जस्तै मुलुकभित्र प्रादेशिक, जिल्लास्तर एवं वस्तुगत गरी विभिन्न भागमा मेला तथा महोत्सव आयोजना हुने पत्रहरू प्राप्त भइरहेका छन् ।  

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा एउटा विशिष्ट पहिचान बनाइसकेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको नियमित आयोजनाबाट नेपालमा अन्तर्राष्ट्रिय लगानी तथा प्रविधि आकर्षण गर्नुका साथै नेपाली उत्पादनहरूको अन्तर्राष्ट्रिय बजार प्रबद्र्धन गरी समग्रमा मुलुकको अर्थतन्त्रमाथि उठाउन सघाउ पु¥याउने आशा एवंं विश्वास महासंघले लिएको छ । साथै मन्दीमा रहेका अर्थतन्त्र चलायमान बनाउन समेत अन्तर्राष्ट्रिय व्यापार मेला सहयोगी हुने विश्वास महासंघको छ ।  

मेलामा जेष्ठ नागरिक तथा फरक रूपले सक्षम नागरिकलाई निःशुल्क र विद्यार्थीहरूलाई उनीहरूको प्रवेशपत्रका आधारमा पचास प्रतिशतसम्म छुट दिने व्यवस्थासमेत गरिएको छ । आजबाट स्टल बुकिङ खुला गरिएको छ ।

पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अन्तर्राष्ट्रिय व्यापार मेला अर्थतन्त्रलाई चलायमान बनाउन सहयोगी हुने विश्वास प्रकट गरे । मेलामा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय प्रदर्शकको जमघटबाट लगानी तथा प्रविधि आकर्षण र उत्पादन विविधिकरणमा समेत सघाउ पुुग्ने धारणा अध्यक्ष ढकालको थियो ।

प्रकाशित: २३ आश्विन २०८० ०२:३४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App