९ जेष्ठ २०८१ बुधबार
image/svg+xml
अर्थ

लुम्बिनी केबलकारको टिकटमा ४०% छुट

लुम्बिनी केबलकार लिमिटेडले नेपालीहरूको महान चाड दशैं, तिहार, नेपाल संवत् र छठलाई लक्षित गरी चाडपर्व अफर ल्याएको छ।

असोज २१ गतेदेखि लागु भएको यो अफरमा साविक टिकट दरमा शनिबारबाहेक अन्य दिनहरूमा ४० प्रतिशत छुट दिइएको छ। यो अफर अनुसार अब शनिबारबाहेक अन्य दिनहरूको टिकट दर चार सय ५० रूपैया मात्र कायम भएको छ।

चाडपर्वका अवसरमा सर्वसाधारणलाई सहुलियत दरमा केबलकार चढाउने र कामाख्या देवी तथा सय वर्ष पुरानो दुर्गा भगवतीको दर्शन गराउने उद्देश्यले चाडपर्व अफर ल्याइएको केबलकारका अपरेसन म्यानेजर डिएन कायस्थ सैँजूले जानकारी दिए।

टिकट दरमा छुटसँगै कम्पनीले केबलकारको टप स्टेसनमा रहेको रेष्टुरेन्टका हरेक परिकारमा १० प्रतिशत छुट दिने जानकारी पनि अपरेसन म्यानेजर सैंजूले दिए। चाडपर्वमा आम सर्वसाधारण परिवारसहित केबलकार चढ्न र देवी मन्दिर दर्शन गर्न सहज होस् भनेर ल्याइएको यो अफर यसअघिको मर्निङ अफर जस्तै सफल हुने कम्पनीले विश्वास लिएको छ।

आइएमई ग्रुपको मुख्य लगानी रहेको कूल पाँच अर्ब लागतको यो केबलकार लुम्बिनी प्रदेशकै पहिलो केबलकार हो। बुटवलको बमघाटमा बटम स्टेसन र पाल्पाको तिनाउ गाउँपालिका बसन्तपुरमा टप स्टेसन रहेको २.६ किलोमिटर दूरीको केबलकारको टप स्टेसनमा बनेको कामाख्या देवीको मन्दिर र सय वर्ष पुरानो दुर्गा भगवती मन्दिर हिन्दु धर्मावलम्बीहरूका लागि विशिष्ट आकर्षण बनेको छ।

टप स्टेसनमा कम्पनीले ४० लाख लागतमा जिप लाइन सञ्चालनमा ल्याइसकेको छ भने छिटै डेढ करोड बढी लागतमा स्काई साइक्लिङ, विद्युतीय पिङ र बाल उद्यान बनाउँदै छ।

कामाख्या मन्दिरको दर्शन गर्न भारतको उत्तर प्रदेशका विभिन्न शहरबाट समेत उल्लेख्य मात्रामा पर्यटकहरू आउने गरेका छन्।

प्रकाशित: २२ आश्विन २०८० ०२:३५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App