सरकारले मुलुकको विकास र औद्योगिकीकरणका लागि प्रत्यक्ष वैदेशिक लगानी भित्र्याउने लक्ष्य लिए पनि भित्रिएको मात्रा भने अत्यन्त न्यून छ । विदेशी लगानीकर्ताले नेपालमाका लागि गरेको प्रतिबद्धताभन्दा न्यून लगानी मात्र आउने गरेको हो ।
पछिल्लो पाँच वर्षको तथ्यांक हेर्दा विदेशी लगानी प्रतिबद्धताको करिब ४४ प्रतिशत मात्र नेपाल भित्रिएको नेपाल राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७४/७५ देखि २०७८/७९ सम्म विदेशी लगानीकर्ताले २ खर्ब १ अर्ब २९ करोड रूपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएका छन् । सो अवधिमा ८८ अर्ब २० करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रिएको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । पाँच वर्षको तथ्यांकलाई आधार बनाएर विश्लेषण गर्दा प्रतिबद्धताको करिब ४३.८० प्रतिशत मात्र विदेशी लगानी नेपाल भित्रिएको देखिन्छ ।
विदेशी लगानीकर्ताले कबोल गरेको भन्दा निकै कम मात्र लगानी आउने गरेको पूर्वउद्योग सचिव चन्द्रकुमार घिमिरेले बताए । ‘सरकारी पक्षबाट पर्याप्त लगानी सहजीकरण नगरेपछि लगानीकर्ता हच्किन्छन्,’ घिमिरेले भने, ‘विदेशी लगानी ल्याउन नीतिगत सुधार र पूर्वाधार निर्माणमा सहजीकरण गर्नुपर्छ ।’ घिमिरेका अनुसार विदेशी लगानीकर्ताले सडक, विद्युत्, जग्गा प्राप्तिलगायत प्रक्रिया झन्झटिला छन् ।
नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०७८/७९ मा विदेशी लगानीकर्ताले नेपालमा ५० अर्ब १८ करोड लगानी गर्ने प्रतिबद्धता जनाए । सो आर्थिक वर्षमा विदेशबाट १८ अर्ब ८ करोड रूपैयाँ मात्र विदेशी लगानी भित्रियो । त्यसैगरी आव २०७७/७८ मा ३२ अर्ब ७ करोड प्रतिबद्धता आएकोमा १९ अर्ब ५ करोड, आव २०७६/७७ मा ३७ अर्ब ८० करोडमा १९.५ अर्ब, २०७५/७६ मा २५ अर्ब ४८ करोडमा १३.१ अर्ब र आव २०७४/७५ मा ५५ करोड ७६ लाख प्रतिबद्धता आएकोमा ७.५ अर्ब मात्र विदेशी लगानी भित्रिएको थियो । विदेशी लगानीकर्ताले पर्यटन उद्योग, सेवा क्षेत्र, मेनुफ्याक्चरिङ, ऊर्जा, कृषि, आइसिटीलगायत क्षेत्रमा लगानी गर्ने गरेका छन् ।
मुलुकको अस्थिर नीति, कानुनी र प्रक्रियागत झन्झटका कारण प्रतिबद्धता जनाएका पनि लगानी नभित्रिएको सरोकारवाला बताउँछन् । पटकपटक फेरिने ऐन, कानुनका कारण विदेशी लगानीकर्ता अझै पूर्ण विश्वस्त हुन नसकेको नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल बताउँछन् ।
नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी सुधार र विभिन्न समयमा लगानी सम्मेलनसमेत आयोजना गरेको भए पनि अझै पनि विदेशी लगानीकर्ताबाट विश्वास आर्जन गर्न सकेको देखिँदैन ।
‘लगानीकर्ताले स्थिर कर प्रणालीलगायत व्यवस्था खोजेको हुन्छ,’ ढकालले भने, ‘नीतिगत सुधार भए पनि प्रक्रियागत झन्झटका कारण लगानीकर्ता अझै विश्वस्त हुन सकेको देखिँदैन ।’ पछिल्ला समयमा विदेशी लगानीकर्ता नेपालमा लगानी गर्न इच्छुक रहे पनि सरकारले लगानीलाई प्रोत्साहन गर्ने नीति लिनुपर्ने ढकालले बताए । ‘लगानीकर्ता ढुक्क हुने गरी विश्वास आर्जन गर्नुपर्छ,’ ढकालले भने, ‘नीतिगत स्थिरता आवश्यक छ ।’
नेपाल सरकारले विदेशी लगानी आकर्षित गर्न कानुनी सुधार र विभिन्न समयमा लगानी सम्मेलनसमेत आयोजना गरेको भए पनि अझै पनि विदेशी लगानीकर्ताबाट विश्वास आर्जन गर्न सकेको देखिँदैन । विदेशी लगानी भित्र्याउन कानुनी सुधार गर्दै गएको उद्योग विभागका महानिर्देशक बाबुराम गौतमले बताए । लगानीकर्ताको सहजताका लागि उद्योग दर्ता प्रक्रियामा धेरै सहजीकरण र सरलीकरण गरेको उनले बताए ।
विदेशी लगानीलाई सहजीकरण गर्न ५० करोड रूपैयाँसम्मको लगानी स्वचालित रूपमा स्वीकृत गर्न नयाँ व्यवस्था गरिएको गौतमले बताए ।
नेपालमा उत्पादन भएका वस्तुको बिक्रीका लागि दुई छिमेकी मुलुक ठुला बजार भए पनि अपेक्षित रूपमा लगानीकर्ता आएका छैनन् ।
विदेशी लगानी आकर्षित गर्न ५० करोड रूपैयाँसम्म लगानी स्वचालित रूपमा अनलाइन प्रणालीबाट नै प्रि–अप्रुभलको व्यवस्था गर्न लागेको उनले बताए । ‘लगानीकर्ताले अनलाइनबाटै अटोमेटिक रूपमा लगानी स्वीकृति गर्ने व्यवस्था मिलाउँदैछौं,’ गौतमले भने, ‘यसले विदेशी लगानीकर्तालाई धेरै सजिलो हुनेछ ।’ नेपाल राष्ट्र बैंकले गरेको अध्ययनअनुसार नेपालमा लगानी गरेका ५७ मुलुकमध्ये भारतको लगानी सबैभन्दा धेरै छ ।
नेपालको उत्तरतर्फ विश्वकै दोस्रो ठुलो अर्थतन्त्र भएको चीन छ । त्यसैगरी दक्षिणतर्फ अर्को ठुलो अर्थतन्त्र भएको भारत छ । नेपालले यी दुई देशका लगानीकर्ताको पनि पूर्ण विश्वास आर्जन गर्न सकेको देखिँदैन । नेपालमा उत्पादन भएका वस्तुको बिक्रीका लागि दुई छिमेकी मुलुक ठुला बजार भए पनि अपेक्षित रूपमा लगानीकर्ता आएका छैनन् ।
नेपालमा लगानी गर्नेमा दोस्रो स्थानमा चिनियाँ लगानीकर्ता छन् । चीनबाट ३३ अर्ब ४५ करोड रूपैयाँ लगानी आएको छ । चीनपछि नेपालमा धेरै लगानी आउनेमा आयरल्यान्ड रहेको छ ।
नेपालमा प्रत्यक्ष वैदेशिक लगानी गर्ने मुलुकमा छिमेकी मुलुक भारत अग्रस्थानमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार भारतबाट नेपालमा सबैभन्दा धेरै ८८ अर्ब ५९ करोड रूपैयाँ लगानी भित्रिएको छ । भारतबाट चीनबाट भन्दा करिब ५५ अर्ब रूपैयाँ धेरै लगानी भित्रिएको छ ।
नेपालमा लगानी गर्नेमा दोस्रो स्थानमा चिनियाँ लगानीकर्ता छन् । चीनबाट ३३ अर्ब ४५ करोड रूपैयाँ लगानी आएको छ । चीनपछि नेपालमा धेरै लगानी आउनेमा आयरल्यान्ड रहेको छ । आयरल्यान्डबाट २० अर्ब ९० करोड, सिंगापुरबाट १६ अर्ब ७ करोड र सेन्ट किट्स एन्ड नेभिसबाट १५ अर्ब ९ करोड रूपैयाँ प्रत्यक्ष वैदेशिक लगानी भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।
स्वदेशमा लगानीयोग्य पुँजीको अभाव भइरहेको अवस्थामा नेपालमा ५७ मुलुकबाट प्रत्यक्ष वैदेशिक लगानी गरेका छन् । नेपाल राष्ट्र बैंकको प्रत्यक्ष वैदेशिक लगानीसम्बन्धी सर्वेक्षण प्रतिवेदनअनुसार नेपालमा २०७९ असार मसान्तसम्म कुल प्रत्यक्ष वैदेशिक लगानीको मौज्दात १६ प्रतिशतले वृद्धि भई दुई खर्ब ६४ अर्ब ३३ करोड रूपैयाँ रहेको छ ।
वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत छ ।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५३.७ प्रतिशत, सञ्चिति ३१.७ प्रतिशत र कर्जाको अंश १४.६ प्रतिशत छ । ६२.६ प्रतिशत औद्योगिक क्षेत्रमा र ३७.३ प्रतिशत सेवा क्षेत्रमा लगानी रहेको छ । औद्योगिक क्षेत्रअन्तर्गत जलविद्युत क्षेत्रमा ३२.८ प्रतिशत र उत्पादन क्षेत्रमा २९.५ प्रतिशत वैदेशिक लगानी रहेको तथ्यांकले देखाउँछ ।
यसैगरी कुल प्रत्यक्ष वैदेशिक लगानीमध्ये २५.६ प्रतिशत सेवा क्षेत्रअन्तर्गत बैंक तथा वित्तीय संस्था र बिमा कम्पनीहरूमा रहेको राष्ट्र बैंकले जनाएको छ । वैदेशिक लगानीमा सञ्चालित उत्पादनमूलक कम्पनीहरूको क्षमता उपयोग ७१.१ प्रतिशत छ । समग्रमा वैदेशिक लगानीमा सञ्चालित कम्पनीहरूको नाफाको दर करिब १४.३ प्रतिशत छ ।
गत वर्ष अपेक्षित लगानी भित्रिन नसकेकोमा चालु आव २०८०/८१ को पहिलो दुई महिनामा विदेशी लगानी प्रतिबद्धता उत्साहनजनक देखिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो दुई महिना (साउन–भदौ) मा करिब १८ अर्ब रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको उद्योग विभागले जनाएको छ । भदौसम्म ४ खर्ब ६४ अर्ब ६२ ३१ लाख रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ ।
भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा बढी लगानी पर्यटन उद्योगमा छ ।
विभागका अनुसार भदौमा ५ अर्ब ८८ करोड ८५ लाख रूपैयाँ र साउनमा करिब ११ अर्ब ९६ करोड रूपैयाँ विदेशी लगानी प्रतिबद्धता आएको छ । भदौसम्म नयाँ उद्योगमा १४ अर्ब ६५ करोड रूपैयाँ र सेयर पर्चेज एग्रिमेन्ट (एसपिए) मा तीन अर्ब २० करोड रूपैयाँ लगानी प्रतिबद्धता आएको छ । सबैभन्दा बढी लगानी पर्यटन उद्योगमा छ । भदौसम्म आएको लगानी प्रतिबद्धतामध्ये ५३.४८ प्रतिशत पर्यटन क्षेत्रमा, सेवा क्षेत्रमा ४४.३९ प्रतिशत, म्यानुफ्याक्चरिङमा ९.८ प्रतिशत, पूर्वाधारमा २.२ प्रतिशत, आइसिटीमा २.२ प्रतिशत, कृषिमा १.१ प्रतिशत छ ।
प्रकाशित: २१ आश्विन २०८० ००:४१ आइतबार