१९ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

घटस्थापना अगावै दशैंको टिकट बुकिङ खुल्ने

दशैं आउन अब तीन साता मात्रै बाँकी छ तर अहिलेसम्म संघीय सरकार मातहतको यातायात व्यवस्था विभागले चाडपर्व लक्षित गरेर खुलाइने अग्रिम टिकट बुकिङ खुलाउने मिति टुंगो लगाइ सकेको छैन।

सहरी क्षेत्रमा अस्थायी बसोबास गरिरहेका अधिकांश नेपाली दसैं मनाउन आफ्नो गाउँघर फर्किन्छन्। यातायात व्यवस्था विभागका महानिर्देशक उद्धवप्रसाद रिजालले दशैंको घटस्थापना अगावै दशैंको अग्रिम बुकिङ खुला गर्ने योजनामा रहेको बताए।

‘अग्रिम टिकट बुकिङ कहिलेदेखि खुलाउने भन्ने विषयमा आवश्यक निर्णय भइसकेको छैन,’ उनले भने, ‘हामीले आवश्यक तयारी गरिरहेका छौं। केही दिनभित्रै अग्रिम टिकट बुकिङ खुला गर्ने मिति तय गर्नेछौं।’

यद्यपि अहिले केही यातायात व्यवसायीले दशैंको अनलाइनबाटै दशैंको अग्रिम बुकिङ पनि खुला गरिसकेका छन्। ट्राफिक प्रहरीका अनुसार दशैंमा करिब १० लाखभन्दा धेरै यात्रु गाउँ फर्किने गर्छन्।

‘अहिले पनि नियमित जसो ३४/३५ हजार यात्रु काठमाडौंबाट बाहिरिँदै आइरहेका छन्,’ उनले भने, ‘चाडपर्वको बेला भने यो संख्या ह्वातै बढ्ने गर्छ।’ अहिले काठमाडौंबाट दैनिक नौ सयभन्दा धेरै सवारी साधन उपत्यका बाहिरका जिल्लामा जाने गर्छन्। दशैंको बेलामा अधिकतम १८ सयभन्दा धेरै सार्वजनिक सवारी साधन बाहिरी जिल्लामा जाने तथ्यांक रहेको छ।

महानिर्देशक रिजालले अघिल्ला वर्षमा जस्तै यो वर्ष पनि चाडपर्व मनाउन जाने यात्रीलाई सुरक्षित ढंगले आफ्नो गन्तव्यमा पठाइने दाबी गरे। ‘हामीले सडक विभागलाई पनि बिग्रिएका सडकलाई मर्मतसम्भार गर्न सहजीकरण गर्दै आइरहेका छौं,’ उनले भने, ‘यातायात व्यवसायी, विभागबीच आपसी समझदारी गरेर केही समयभित्रै अग्रिम बुकिङको लागि खुलाउने तयारी भइरहेको छ।’

महानिर्देशक रिजालले अग्रिम बुकिङ खुलाउन प्रारम्भिक छलफल भइरहे पनि मिति भने अझै टुंगो लगाइ नसकेको बताए।

‘बुटवल–नारायणगढ सडक खण्ड, नौबिसे–पोखरा सडक खण्ड निर्माणाधीन भएकाले निकै नाजुक अवस्थामा रहेका छन्,’ उनले भने, ‘वर्षायाम र बाढीपहिरोले पनि देशभरका धेरै सडकलाई क्षति पुर्‍याएको अवस्था छ। त्यसैले सबै निकायसँग आवश्यक समन्वय गरेर दशैंको अग्रिम बुकिङ खुलाउने प्रयास भइरहेको छ।’

विभागका महानिर्देशक रिजालले भौतिक पूर्वाधार मन्त्रालयमा सबै निकायसँग आवश्यक समन्वय गरेर दशैंको अग्रिम टिकट बुकिङ खुला गर्ने बताए।

गत असारदेखि आएको बाढी पहिरोले नेपालका अधिकांश राजमार्ग र सडक सग्ला छैनन्। दसैंमा आफन्तससँग खुसी साट्न जाने यात्रुका लागि राजमार्ग र सडक दशा बन्न सक्ने जोखिम भने कायमै छ।

काठमाडौं उपत्यकाबाट दसैंमा १० देखि १५ लाख यात्रु बाहिरिने अनुमान गरिन्छ तर देशका अधिकांश राजमार्ग जोखिमपूर्ण हुँदा यात्रुहरू सुरक्षित गन्तव्यमा पुर्‍याउने समस्या कायमै छ। यात्रुहरू सुरक्षित ढंगले घर कसरी फर्किने भन्ने चिन्तामा छन्। यातायात व्यवसायीहरू पनि चाडपर्वमा ठूलो संख्यामा यात्रु ओसारपसार गर्नुपर्ने भएकाले सुरक्षित र भरपर्दाे खालको सडक हुनुपर्ने माग राख्दै आइरहेका छन्।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले सडकको अवस्था निकै दयनीय भएकाले पनि चाडपर्व लक्षित अग्रिम टिकट बुकिङ खुलाउन समस्या परिरहेको बताए।

‘वर्षा यामको कारणले राजमार्गका सडकको अवस्था दुरवस्थाबाट गुज्रिरहेको छ,’ उनले भने, ‘कुनै पनि सार्वजनिक बस तोकिएको समयमा गन्तव्यमा पु¥याउन सकिने अवस्था छैन।’

महासंघका अध्यक्ष स्वाँरले सरकार गैरजिम्मेवार भए पनि यातायात व्यवसायीले भने चाडपर्व मनाउन जाने यात्रुलाई सकेसम्म व्यवस्थित ढंगले नै आफ्नो गन्तव्यमा पुर्‍याउने कोसिस गर्ने दाबी गरे।

‘हामीले चाडपर्व लक्षित अग्रिम बुकिङ खुला गर्नु अगावै सडक मर्मतसम्भार गर्न माग गर्दै आइरहेका छौं। वर्षा यामको कारणले राजमार्गका कुनै पनि सडक सग्ला छैनन्। जताततै पहिरोले जीर्ण तथा छियाछिया पारेको छ,’ उनले भने, ‘कम्तिमा भएका खाल्डाखुल्डी टालटुल गरेर भए पनि दशैंमा घर फर्किने वातावरण तयार पार्न आवश्यक भइसक्यो।’

प्रकाशित: १६ आश्विन २०८० ०३:५० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App