पानी र चियासँगै विश्वका तीन लोकप्रिय पेय पदार्थमा पर्ने कफी कसरी र कहिलेदेखि पिउन थालियो भन्ने विषय एकिन नभए पनि यसका विषयमा विभिन्न किम्बदन्ती भेटिन्छन्।
एक किम्बदन्तीका अनुसार इथियोपियाका गोठाला काल्दीले निश्चित रुखको फल खाँदा बाख्राहरू ऊर्जावान बनेको र राती सुत्न समेत नचाहेको देखे। उनले स्थानीय मठका प्रमुखलाई यो कुरा बताए र उनले सो फलबाट पेयपदार्थ बनाए।
यो पेय पदार्थको सेवनसँगै साँझको प्रार्थनाको लामो समयसम्म बस्दा उनलाई फुर्तिलो अनुभूति भयो। यो कुरा उनले अन्य मठाधिसलाई समेत बताए र यसरी यो ऊर्जावन ‘बिन्स’ बारे चर्चा सुरु हुन थाल्यो। यो खबर अरेबियन प्रायद्विपसम्म पुग्यो र यसले विश्व्यव्यापी रूप लियो।
सुरुमा कफी खेती र व्यापार अरेबियन प्रायद्विपबाट सुरु भएको हो। १५ औं शताब्दीसम्म आइपुग्दा अरेबियाको यमनी जिल्लामा यसको खेती सुरु भएको थियो भने १६ औं शताब्दीमा यो पर्सिया, इजिप्ट, सिरिया र टर्कीसम्म बिस्तार भइसकेको थियो।
त्यतिबेला कफी घरमा मात्र होइन, ती देशका विभिन्न सहरका सार्वजनिक कफी हाउस (क्वाहभे खनेह) मा उपलब्ध थियो। यो कफी हाउसको लोकप्रियता यति धेरे बढेको थियो कि हरेक जसो सामाजिक क्रियाकलाप यिनै कफी हाउसमा हुन्थे।
कफी पिउँदै एकआपसमा वार्तालाप सँगसँगै संगीत, नाट्य महोत्सव, चेस तथा समसामयिक समाचारहरू सुन्ने सुनाउने थलो यिनै कफी हाउस बनेका थिए। सूचना प्रवाहका कारण यिनलाई ‘बुद्धिमानहरूको स्कुल’ समेत भनिन्थ्यो।
टर्की र निकटपूर्वका देशहरूबाट युरोपियन यात्रुहरूले यो कालो पेय पदार्थका कथाहरू युरोप पुर्याएका थिए। यसरी १७ औं शताब्दीमा कफी युरोप पुगेको थियो र यो महादेशभर यसको लोकप्रियता बढेको थियो।
कतिपयले यो पेयपदार्थप्रति अनिच्छा र आशंका व्यक्त गर्दै यसलाई ‘शैतानको तितो आविष्कार’ समेत भनेका थिए। सन् १६१५ मा भेनिसका स्थानीय पादरीले यसको ठूलो आलोचना गरेका थिए। विवाद बढ्दै गएपछि यो विषय पोप क्लेमेन्ट आठौंसम्म पुगेको थियो। उनले निर्णय गर्नुअघि आफैंले यो पेय पदार्थ सेवन गरेका थिए। कफीको स्वादप्रति अत्यन्त सन्तुष्ट रहेको ती पोपले यसलाई अनुमोदन गरेका थिए।
यस्ता विवाद हुँदाहुँदै पनि बेलायत, अष्ट्रिया, फ्रान्स, जर्मनी र हल्यान्डका अधिकांश सहरहरूमा कफी हाउस अत्यन्त लोकप्रिय भैसकेका थिए। थोरै पैसा (पेनी) मा एक कप कफी पिउन पाइने र प्रेरक वार्तालापमा सरिक हुन पाउने हुँदा यसलाई ‘पेनी विश्वविद्यालय’ समेत भनिन थालिएको थियो। त्यतिबेला ब्रेकफास्टमा समेत बियर र वाइन खाने गरिएकोमा बिस्तारै कफीले तिनलाई प्रतिस्थापन गरेको थियो।
सबेरै रक्सीको ठाउमा कफी पिउनेहरू दिनभर जागरुक रहँदा कामको गुणस्तर पनि बढ्न थालेको थियो । १७ औं शताब्दीको मध्यसम्म आइपुग्दा लन्डनमा ३०० भन्दा बढी कफी हाउस सञ्चालनमा आइसकेका थिए। यिनै कफीहाउसमा बसेर कतिपय व्यापारिक प्रतिष्ठान खोल्ने विचार पलाएको थियो।
सत्रौं शताब्दीको मध्यताका बेलायतीहरूले कफीलाई न्युयोर्क (त्यतिबेलाको न्यु अम्स्टर्डम) पुर्याएका थिए। बिस्तारै न्युयोर्कमा कफी हाउसहरू थपिँदै गए पनि सन् १७७३ सम्म चिया नै सबैभन्दा बढी लोकप्रिय थियो।
तत्कालीन राजा जर्ज तृतीयले चियामा ठूलो स्तरमा कर लगाएपछि अमेरिकीहरूले त्यतिनै बेला विरोधस्वरूप कफी पिउन थालेका थिए। कफीको बढ्दो लोकप्रियतालाई लक्षित गर्दै अमेरिकाका पूर्व राष्ट्रपति थोमस जेफर्सनले भनेका थिए, ‘सभ्य विश्वको सबैभन्दा मनपर्ने पेय पदार्थ कफी हो।’
समय क्रमसँगै विश्वमा कफीको माग बढेपछि अरेबिया बाहेक प्रतिस्र्धात्मक हिसाबले विश्वका अन्य क्षेत्रमा पनि कफी खेती सुरु भएको थियो। सत्रौं शताब्दीको दोस्रो भागमा मात्र डच् परिवारले कफीको बिउ पाएका थिए। उनीहरूले सुरुमा भारतमा यसको खेती गर्न चाहेका थिए तर यो सफल भएको थिएन। त्यसपछि इन्डोनेसियाको जाभा द्विपमा यसको खेती सफल भएको थियो। त्यसपछि डचहरूले सुमात्रा र सेलेवस द्विपमा समेत यसको खेती सुरु गरेका थिए।
सन् १७१४ मा अम्स्टर्डमका मेयरले कफीको विरुवा फ्रान्सका राजा लुइस चौधौंलाई उपहार स्वरूप दिएका थिए र उनले यो बिरुवालाई पेरिसमा रहेको रोयल बोटानिकल गार्डेनमा हुर्काउन निर्देशन दिएका थिए।
सन् १७२३ मा एक युवा नौसैनिकले राजाको यही बिरुवाबाट फलेको बिऊलाई जोखीमपूर्ण सामुद्रिक यात्रा पार गरेर मार्टिनिक नाम गरेको क्यारेवियन प्रायद्विपमा पुर्याएका थिए। क्रमशः कफी खेती बढ्दै गएर त्यसको ५० वर्षमा सो द्विपमा एक करोड ८० लाख कफीका रुखहरू थिए। त्यहाँ मात्र होइन, यो अवधिमा दक्षिण र मध्य अमेरिका लगायत समग्र क्यारेबियन क्षेत्रमा यसको बिस्तार भैसकेको थियो।
मिसनरी, यात्रु, व्यापारी तथा उपनिवेशवादीले कफीलाई विश्वका विभिन्न भूभागमा पुर्याएका थिए। यसको खेती उष्णकटिबन्धीय क्षेत्र तथा उच्च पहाडी भूभागमा बिस्तार भएको थियो।
१८ औं शताब्दीको अन्तसम्म आइपुग्दा कफी विश्वकै सबैभन्दा बढी नाफामूलक बाली बनेको थियो। काँचो तेलपछि विश्वमा सबैभन्दा रुचाइने खाद्यवस्तुमा कफी पर्छ।
धेरै कफी पिउँदा निद्रा, बेचैनी, मुटुमा जलन लगायतका समस्या आउने मानिन्छ तर निश्चित मात्रामा गरिने कफी सेवन स्वास्थ्यका लागि लाभदायी मानिन्छ। यसले मुटुरोग, टाइप २ मधुमेह, कलेजो सम्बन्धी रोग, क्यान्सर तथा पर्किन्सन रोगको जोखिम कम हुने मानिन्छ। यसैगरी ठिक्क मात्रमा कफी पिउँदा आय पनि बढ्ने अनुसन्धानले देखाएका छन्। (एनसिएयुएसए.ओरजी)
प्रकाशित: १४ आश्विन २०८० ०२:०६ आइतबार